नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा रुकुम पूर्वबाट चुनाव लड्ने बताएका छन्। शनिबार रुकुम पश्चिममा आयोजित नेकपाको एकता सभालाई सम्बोधन गर्दै उनले भने, ‘हुन सक्छ म आउने चुनाव रुकुमबाटै लड्न सक्छु, यही रुकुम भन्ने नठान्नु होला, पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ, रुकुम पूर्वमा म आउने भनेको रुकुम पश्चिम पनि आउनु हो ।’
एकता सभामा ठुलो संख्यामा कार्यकर्ता उपस्थित भएकोप्रति उनले रुकुमका जनता पलायनको पछाडि नलागेको भन्दै धन्यवाद दिए। एकता सभालाई सम्बोधन गर्दै जनार्दन शर्माप्रति लक्षित गरी उनको पछाडि नलागेर मुल पार्टीलाई साथ दिएको भन्दै धन्यवाद दिएका हुन्। उनले विगतमा आफूलाई प्रभाकरले रुकुम ल्याउने गरेको भन्दै अब झन् धेरै आफू रुकुम आउने बताए । प्रभाकरको अभावमा पार्टी हेडक्वार्टरसँग सिधा सम्बन्ध हुँदैन कि भन्ने तपाईंहरूलाई लागेको छ भने त्यो भ्रममा नपर्न म तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु। तपाईंहरूको लागि पार्टी हेडक्वार्टरको ढोका काठमाडौंमा सधैँ खुला हुनेछ।