कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग यसबिचमा संवाद गरेका छैनन् । देउवाले १८ पुसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, पार्टीका आफूनिकटस्थ पूर्वपदाधिकारी विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नेताहरू रमेश लेखक, एनपी साउद, बालकृष्ण खाणसँग भेटिरहेका छन् । तर, केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अस्वीकार गर्दै विशेष महाधिवेशनका पक्षमा उभिएका महामन्त्रीद्वय थापा र शर्मासँग संवादको पहल गरेनन् । देउवाले विशेष महाधिवेशनबाट पार्टी फुट्ने भन्दै यसलाई रोक्नुपर्ने बताउँदै आएका छन् ।
देउवाले शुक्रबार मात्रै नेपाल विद्यार्थी संघका संस्थापनपक्षीय एक दर्जन नेतालाई निवासमा बोलाएर भेटेका थिए । जहाँ देउवाले पार्टी फुट्दैन, म मिलाउँछु भनेका थिए । यसबिचमा देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेतासँग भेट गरे, तर महामन्त्रीद्वय थापा र शर्मा एवं विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको अगुवाइ गरेका नेताहरू गुरुराज घिमिरे, देवराज चालिसेलगायतसँग भेट गरेनन् ।
उनीनिकट कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीहरू विशेष महाधिवेशनको एजेन्डाबाट पछि हट्न तयार नभएपछि सभापति देउवाले उनीहरूसँग भेटेर छलफल गर्नुको औचित्य नभएको टिप्पणी गरे । ‘उहाँहरू विशेष महाधिवेशनको हठबाट पछि हट्नुहुन्न । उहाँहरूसँग छलफल गरेर सहमति नहुने अवस्थामा भेटका लागि भेटको के अर्थ हुन्छ ?’ महतले भने, ‘तर, उहाँ सहमति होस्, पार्टीमा एकताको अवस्था होस् भन्नेमा चिन्तित हुनुहुन्छ । कार्यवाहक सभापति खड्काले उहाँहरूसँग छलफल–संवाद गरिरहनुभएको छ र कार्यवाहक सभापतिले सभापतिलाई रिपोर्टिङ गरिरहनुभएको छ ।’
निकटस्थ स्रोतका अनुसार महामन्त्री थापा र शर्मा पार्टी फुटाउने अभिप्रायबाट प्रेरित रहेको सभापति देउवाको बुझाइ छ । पार्टीका पूर्वपदाधिकारी सिटौला, निधि, महत, प्रकाशमान सिंह, शशांक कोइरालालगायतले देउवालाई प्रभावित पार्दै आएका छन् । शुक्रबार पनि सिटौला, एनपी साउद, बालकृष्ण खाणलगायतको अगुवाइमा संस्थापनपक्षीय केन्द्रीय सदस्यहरूको छलफल भएको थियो । उनीहरूले कुनै पनि हालतमा विशेष महाधिवेशन पक्षधरसँग सहमति गर्नु नहुनेमा जोड दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।