लुम्बिनीमा कांग्रेसले दाङका वासुदेव जंगली, एमालेले गुल्मीकी रामकुमारी झाँक्री र नेपाली कम्युनिस्ट पार्टीले पाल्पाका सोमनाथ पाण्डेलाई उम्मेदवार बनाउने टुंगो लगाएको छ
राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीमा तीन दलीय गठबन्धनले उम्मेदवारको टुंगो लगाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवारको टुंगो लगाएका हुन् ।
तीन सिटका लागि निर्वाचन हुन लागेको लुम्बिनीमा नेपाली कांग्रेसले दाङका वासुदेव जंगली, एमालेले गुल्मीकी रामकुमारी झाँक्री र नेपाली कम्युनिस्ट पार्टीले पाल्पाका सोमनाथ पाण्डेलाई उम्मेदवार बनाउने टुंगो लगाएको छ ।
कांग्रेसले जंगलीलाई अपांग कोटाबाट उम्मेदवार बनाउन लागेको हो । उम्मेदवारले आज दाङको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनेछन् ।
लुम्बिनीमा प्रदेश सभा र स्थानीय तहगरी कुल ८,७५३ मतभार छ । लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्, जसको मतभार ४,६८१ रहन्छ भने प्रदेशमा रहेका १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जनाको मतभार ४,१४२ रहन्छ। प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ रहेको छ ।
यस हिसाबले राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशअन्तर्गत सबैभन्दा धेरै मतभार नेपाली कांग्रेसको ३,१७९ रहन्छ। एमालेको २,८१० र नेपाली कम्युनिस्ट पार्टीको १,३९६ छ। त्यस्तै राप्रपाको २६९, नागरिक उन्मुक्ति पार्टीको २१२, जसपाको २७३, लोसपाको २३५, जनमतको १५९, राजमोको १२९, जनता प्रगतिशील पार्टाीको ३८ र स्वतन्त्र ५३ मतभार छ।