बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । जेन–जी आन्दोलनले गर्दा अग्रिम बुकिङ गरेका विदेशी पर्यटकले बुकिङ रद्द गरेसँगै निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा कमी आएको हो ।
भदौको २३ र २४ गतेको आन्दोलनपछि निकुञ्ज घुम्न आउने तयारी गरेका धेरै विदेशी नागरिकले अग्रिम बुकिङ रद्द गरेको वाइल्ड ट्रेयाल्स नेपालका सञ्चालक रामराज ढकालले बताए । उनले भने, ‘निकुञ्ज घुम्न आउने तयारीमा रहेका केही विदेशीले जेन–जी आन्दोलनले गर्दा तत्काल घुम्न नआउने भन्दै बुकिङ रद्द गरे । आन्दोलनको प्रभाव प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पर्यटन व्यवसायमा समेत परेको छ ।’
बर्दिया राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्ष ०८२/८३ को मंसिरसम्ममा सार्क राष्ट्रबाट दुई सय २१ पर्यटक र अन्य विदेशी पर्यटक दुई हजार आठ सय ५० जना आएका छन् । त्यसैगरी निकुञ्जमा गत आर्थिक वर्ष ०८१/८२ को मंसिरसम्ममा सार्क राष्ट्रबाट तीन सय ६२ जना पर्यटक र अन्य देशका विदेशी पर्यटक तीन हजार ३६ जना घुम्न आएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।
वरिष्ठ प्रकृति पथप्रदर्शक राम शाहीले पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढिरहेको थियो, तर जेन–जी आन्दोलनले गर्दा निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा कमी आएको बताए । उनले भने, ‘यसरी देशमा हुने उथलपुथलले पर्यटन व्यवसायमा असर पर्ने गरेको छ । जसले पर्यटन व्यवसायमा लगानी गर्ने जोखिम व्यवसायीले लिन चाहिरहेका छैनन् ।’ पर्यापर्यटनको दृष्टिकोणले महत्वपूर्ण मानिएको निकुञ्जभित्र बाघ, गैँडा, हात्ती, अजिंगर, चित्तल, मृग, बाह्रसिङे, रतुवा सजिलै देख्न पाइन्छ । यसकारण पनि पर्यटकको रोजाइमा निकुञ्ज पर्ने गरेको छ ।