- एमालेका आठ, तत्कालीन माओवादी केन्द्रका सात, तत्कालीन एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टी नेपालका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र एक मनोनीतको पदावधि सकिँदै
१८ सिटका लागि ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा मुख्य तीन दल कांग्रेस, एमाले र नेकपा सघन संवादमा लागेका छन् । कांग्रेस–एमाले वा कांग्रेस–नेकपा वा एमाले–नेकपा सम्भावित गठबन्धन बनाउन सक्रिय बनेका हुन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले २३ पुसमा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ । राष्ट्रिय सभादेखि प्रतिनिधिसभासम्मै तालमेल गर्ने गरी कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आन्तरिक छलफल चलिरहेको छ । राष्ट्रिय सभामा तालमेलमा कुरा मिले प्रतिनिधिसभामा पनि तालमेलको ढोका खुला राखेर अघि बढ्ने सोचमा तीनै शीर्ष नेता पुगेको स्रोत बताउँछ ।
तीन दल द्विपक्षीय छलफलमा झन् सक्रिय छन् । एमाले नेताहरूले कांग्रेससँग आधा–आधा सिट बाँडेर सहमति गर्न प्रस्ताव गरेका छन् । तर, कांग्रेसले ११ सिट लिएर बाँकी छाड्न सकिने बताएको एमालेका एक पदाधिकारीले बताए । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मुख्य राजनीतिक दल कांग्रेस, एमाले र नेकपाबिच राष्ट्रिय सभामा सहकार्य गरेर जाने प्रस्ताव आएको पुष्टि गरे । तर, एमाले वा नेकपा कोसँग मिल्दा सहज हुन्छ, आन्तरिक छलफलका आधारमा एउटा निष्कर्षमा पुगिने उनले बताए । ‘मुख्य दलबिच सहकार्य गरेर जाऔँ भन्ने प्रस्ताव आएको छ । एमाले वा अरूसँग मिल्दा के–कति फाइदा हुन्छ, हामी छलफलकै चरणमा छौँ । केही दिनभित्रै एउटा निकर्षमा पुग्छौँ,’ उनले भने ।
नेकपा र एमालेबिचको पछिल्लो छलफल भने सिट बाँडफाँटै गरेर जाने तहमा नपुगेको नेताहरू बताउँछन् । गत बिहीबार एमाले महासचिव शंकर पोखरेल र नेकपा नेता वर्षमान पुनबिच छलफल भएको थियो ।
एमाले सचिव पद्मा अर्यालले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने विषयमा सैद्धान्तिक सहमति जुटिसकेकाले त्यहीअनुसार छलफल चलिरहँदा पछिल्लो छलफलमा नेकपा पनि जोडिएको जानकारी दिइन् । ‘कांग्रेस र हामीबिच दुवै पक्षबाट सहकार्य गरेर जाने सैद्धान्तिक सहमति भइसकेको छ । बिहीबारबाट नेकपा पनि सहकार्यको छलफलमा जोडिएको छ । तर, कोसँग कसरी सहकार्य गर्ने केही पनि टुंगिएको छैन । अहिलेलाई मोटामोटी सैद्धान्तिक सहमति मात्र भएकाले ठोस प्रगतिका लागि समय लिन सक्छ,’ उनले भनिन् ।
नेकपाले कांग्रेस र एमालेसँग कुरा मिले सहकार्यको ढोका खुलै राखेर तयारी गरिरहेको नेता देव गुरुङले बताए । ‘अहिलेसम्म त एक्लाएक्लै लड्ने नै तयारी हो । तर, कुरा मिलेको खण्डमा तालमेलका लागि खुला राखेरै अगाडि बढिरहेका छौँ,’ गुरुङले भने ।
यस्तो छ राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि २३ पुसमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका राखेको छ । त्यस्तै, २४ पुसमा दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २७ पुसमा दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरी आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नयाँ मतभार
राष्ट्रिय सभाको ११ माघमा हुने निर्वाचनका लागि दुई हजार ४३ प्रारम्भिक मतदाता कायम भएका छन् । प्रारम्भिक नामावलीमा जाँचबुझ गरी २२ पुसमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यसूची छ । आयोगले प्रकाशन गरेको प्रारम्भिक मतदाता नामावलीमा प्रदेश सभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा दुई हजार ४३ जना छन् ।
राष्ट्रिय जनगणना ०७८ को नतिजाबमोजिम राष्ट्रिय सभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका मतदाताका लागि नयाँ मतभार कायम भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिससमेतको आधारमा राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको छ ।
यसअघि राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभार प्रदेश सभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ थियो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचनमण्डलको मतभारको व्यवस्था छ ।