पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहको बरियारपट्टी गाउँपालिका- १ नरगी खण्डमा शनिबार बिहान करिब पौने १० बजेतिर भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ ।
बाक्लो कुहिरोको कारणले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स. ६ प ८६१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको बा. प्रदेश ०१०७२ ब ००८२ नम्बरको स्कर्पियो आपसमा ठेक्किँदा मोटरसाइकल नरगी गाउँ घर भएका मोटरसाइकलचालक करिब २३ वर्षीय मो. नदिम अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कुहिरोको कारणले आपसमा ठोक्किएपछि स्कर्पियो सडकको मुन्तिर पल्टिएको छ भने मोटरसाइकल दुई टुक्रा भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अन्सारी र मोटरसाइकलपछाडि बसेका करिब २२ वर्षीय सैतुल्ला मियाँलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो ।
जिल्ला सदरमुकाम सिराहास्थित हेमनारायण चोकनजिक रहेको सहज अस्पतालमा उपचारका लागि भर्ना गरिएका घाइते अन्सारीको केही समयपछि नै मृत्यु भएको र मियाँको सोही अस्पतालमा उपचार भइरहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
दुर्घटनापछि फरार रहेका स्कर्पियोचालकको पहिचान भइसकेकाले खोजी गरी नियन्त्रणमा लिइएपछि थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने जानकारी दिँदै प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।