नेपालमा २५ वर्षअघिसम्म पुरानो घरलाई संरक्षण गर्ने चेत थिएन । धेरैले पैसा कमाएपछि पुरानो घर भत्काएर ढलानको घर बनाउन थाले । त्यसवेला मचाहिँ पुरानो घरलाई जोगाउनतिर लागेँ । घरपरिवार, नातागोता र छिमेकीले मलाई पागल भन्थे । राम्रो जागिर थियो । त्यो जागिर पनि छाडेर थोत्रो घर जोगाउन खोज्दा कसैले पनि विश्वास गरेनन् । अहिले त्यही घर ‘नमुना घर’ भनेर प्रख्यात छ । नमुना घर १८५ वर्ष पुरानो हो । मैले त्यसलाई नभत्काई सबलीकरण गरेँ । थोत्रो घरलाई पनि नभत्काई सबलीकरण गर्न सकिन्छ भन्ने प्रमाण अघि सारेँ ।
०७२ को भूकम्पमा नमुना घर रौँबराबर पनि चर्किएन । त्यसभन्दा ठुलो उदाहरण विश्व सम्पदामा सूचीकृत भक्तपुरको न्यातपोल मन्दिर लिन सकिन्छ । माटो, इँटा र काठले बनेको यो मन्दिर तीन सय वर्षदेखि उभिएको छ । अझ न्यातपोलभन्दा पुरानो दत्तात्रय मन्दिर पनि अर्काे साक्षी हो ।
उपत्यकाका तीनै सहर सम्पदाले भरिएका थिए । टोनी हागन काठमाडौं पहिलोपटक आउँदा दोस्रो विश्वयुद्धपछि काठमाडौं उपत्यकालाई सबैभन्दा ठुलो सम्पदा क्षेत्र भनेका थिए । किनभने, काठमाडौं उपत्यकामा कलायुक्त विशिष्ट आवासीय घर थिए ।
सिमेन्टपछि विनाशको यात्रा
जब सिमेन्ट भित्रियो, तब उपत्यकामा सम्पदा विनाशको यात्रा सुरु भयो । पछिल्लो ५० वर्षमा हामीले करिब ९० प्रतिशत आफ्नो मौलिकता नष्ट गर्यौँ । विकासको नाममा पुरानो घर भत्काएर ढलान घर बनाइयो । यही सोचका कारण हामीले सम्पदा स्वाहा बनायौँ ।
हाम्रो सम्पदालाई जस्ताको त्यस्तै राख्न सकेको भए यो सहर भेनिस, रोम, पेरिस, कोपेनहेगनजस्तै आकर्षणको केन्द्र हुने थिए । हामी पनि ती सहरले जस्तै बर्सेनि तीनदेखि चार करोड पर्यटक भित्र्याउँथ्यौँ । तर, हामीले त्यो मौका गुमायौँ ।
भेनिस भक्तपुरभन्दा सानो सहर हो, तर त्यहाँ वर्षमा हाम्रो देशको जनसंख्याभन्दा बढी पर्यटक जान्छन् । भक्तपुरजस्तो एउटा सहरले सिंगै नेपाल पाल्न सक्थ्यो । उपत्यकाका सहरलाई जोगाउन सकेको भए अरू केही गर्नै पर्दैनथ्यो । आर्थिक विकास आफैँ हुन्थ्यो, त्यससँगै शिक्षा, स्वास्थ्यजस्ता सबै विकास हुँदै जान्थ्यो ।
हामी ढुंगा, माटो, काठ र पुराना इँटाले घर बनाउँथ्यौँ । आज डन्डी, सिमेन्ट र जस्ताविना घर सम्भवै छैन । यही सोचले वातावरणमा असर पुर्याइरहेको छ ।
२०४६ को राजनीतिक परिवर्तनसँगै सम्पदामाथि आक्रमण बढ्यो । हाम्रो जीवनशैलीमा परिवर्तन आयो । मानिसले पैसा कमाउन थाले । पैसा कमाएपछि सबैले पुरानो घर भत्काउँदै ढलान घर बनाउन थाले । त्यसअघि छिटपुट मात्रै ठुला ढलानका भवन बन्थे । तर, दर्जनौँ पुराना घर मासेर नयाँ आधुनिक भवन बन्न थाल्यो ।
०४६ पछि सहरीकरणका कारण अन्धाधुन्द संरचना बन्न थाले । सिमेन्ट, स्टिलको अत्यधिक प्रयोग हुन थाल्यो । त्यसपछि हाम्रो मौलिक सहरको विनाश यात्रा सुरु भयो । बिस्तारै सहरले आफ्नो स्वरूप परिवर्तन गर्यो । सहरको स्वरूप बिग्रिँदै गएकोबारे कसैले सोचेनन् । त्यति मात्रै होइन, उपत्यकाका चोकहरू पनि परिवर्तन हुन थाले । अग्ला ढलानका भवन बनाउने होडबाजी चल्यो । ढलानका घर बनाउनुलाई सामाजिक प्रतिष्ठाको रूपमा हेरियो । सम्पदा क्षेत्र मासेर सटर बनाउने र पैसा कमाउने होडबाजी चल्यो । तर, सिंगो सहरको मौलिकता गुम्दै गएको पत्तै पाएनौँ ।
भक्तपुरको सम्पदा क्षेत्रमै जन्मिएकाले पनि म यो सहरको सम्पदा विनाशको साक्षी बन्न पुगेँ । मेरो बाल्यकालमा पोखरी र चोकहरू थुपै्र थिए । मल्लकालीन शैलीका वास्तुहरू धेरै थिए । काठमाडौं उपत्यकामा मल्लकालीन र राणाकालीन वास्तुशैलीका घर थिए । तर, इतिहास बोकेका घर समयक्रममा मासिँदै गए । अझै याद छ, पढ्न भक्तपुरबाट काठमाडौं जाँदा गौशाला, मैतीदेवी पुतलीसडक, डिल्लीबजारतिर पुराना घर लहरै हुन्थे । सोह्रखुट्टेबाट सामाखुसी जाने बाटोमा सयौँ पुराना शैलीका घर देखिन्थे । अहिले त्यस्ता घर ८–१० वटा पनि भेट्टाउन मुस्किल छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका भित्री वस्तीलाई अझै जोगाउन सकिन्छ । त्यहाँको मौलिकता फर्काउन सकिन्छ । ती ठाउँमा पहिलो काम ‘भेहिकल फ्री’ बनाउनुपर्छ । कोपनहेगन संसारको भेइकल फ्री सहर मानिन्छ । सम्पदासँग हामीले आनन्द अनुभव गर्न पाउनुपर्छ । हाम्रोमा दुई पाइला हिँड्नेबित्तिकै गाडीको हर्न बजिहाल्छ । सम्पदासँग इन्जोय गर्ने वातावरण नै बनाउन सकेनौँ । त्यसका लागि पहिलो काम भनेकै भेहिकल फ्री गर्नु हो ।
संकटमै छ भक्तपुरको सम्पदा
तुलनात्मक रूपमा अन्य नगरपालिकाभन्दा भक्तपुरमा सम्पदा संरक्षणमा धेरै काम भएका छन् । यद्यपि, दुईवटा कुरामा चुकेको छ । भक्तपुरलाई भेहिकल फ्री बनाउन सकेको छैन । हामीसँग मूर्त सम्पदासँगै अमूर्त सम्पदा पनि छन् । अर्मूत सम्पदामा नेपाल संसारकै पहिलो नम्बरमा पर्छ । अझ भक्तपुर अमूर्त सम्पदामा अगाडि छ । भक्तपुरमा जस्तो बाजा, नाच, चाडपर्व जीवित संसारको कुनै सहरमा छैनन् । तर, हामीले यसलाई चिनाउन सकेका छैनौँ । जस्तै– भक्तपुरको नवदुर्गा नाच रहस्यमय र दुर्लभ मानिन्छ । हामीले यहाँको सम्पदालाई चिनाउन सक्यौँ भने ‘भक्तपुर एकचोटि नगई मर्नु हुँदैन’ भन्ने बनाउन सकिन्छ । तर, विकास र संरक्षणबिच सन्तुलन नमिल्दा सहरहरूले मौलिकता गुमाउँदै गएका छन् । हिजो उपत्यकामा मल्लकालीन इँटाले छापिएका बाटो, इँटाकै घरले सहरको सौन्दर्य बेग्लै थियो । तर, बिस्तारै बाटोहरूमा ढलान र पिच हुन थाल्यो । यसले गर्दा जमिनले पानी सोस्न पाएन, त्यसैले बाढी र डुबान बढ्यो ।
मूर्त–अमूर्त दुवै सम्पदाका कारण भक्तपुरमा बाल्यकालमा हिँड्दा मल्लकालमै हिँडेजस्तो अनुभूति हुन्थ्यो । त्यसवेला चर्किएका टेको लगाइएका, पाल टाँगिएका घर थिए, त्यस्ता घरको संरक्षण भएको थिएन । त्यसमा मौलिकता र आत्मा थियो । आज सरसफाइ बढेको छ, ढुंगेधारा, पाटी संरक्षण भएका छन् । तर, दुर्भाग्यवश अधिकांश पुराना घर ढलानमा परिणत भएका छन् । सहरको सौन्दर्यता हराइसकेको छ ।
अहिलेको सबैभन्दा ठुलो चुनौती पुराना घरको संरक्षण हो । हामीले कस्तो विकास गर्यौँ ? यो अहिलको जटिल प्रश्न हो । हामी सच्चिनुपर्छ, यदि सच्चिएनौँ भने दुई–तीन सय वर्ष पुराना घर नयाँ पुस्ताले देख्नेछैनन् । पछिल्ला पाँच दशकमा जति मासिए पनि पुराना सहरलाई केही हदसम्म जोगाउन सकिने अवस्थामै छौँ । निर्माण भएका ढलान घरलाई भत्काईकन पुरानै शैलीमा निर्माण गर्न सकिन्छ ।
ढलान घरलाई पुरानो शैलीमा ढाल्न सकिन्छ । मन्दिर र पाटीपौवा मात्रै होइन, घर पनि सम्पदामैत्री बनाउन सक्ने अवस्था छ । हामीले यति गर्न सक्यो भने हाम्रो सहरको मौलिकता केही हदसम्म फर्काउन सक्छौँ । ९० प्रतिशत सम्पदा क्षेत्र मासिए पनि उपत्यकामा सातवटा सम्पदा क्षेत्र अझै छन् । यही हेर्न अहिले संसारभरका पर्यटक आउँछन् ।
काठमाडौं उपत्यकाभित्र मात्र सातवटा विश्व सम्पदा क्षेत्र छन् । जुन संसारमै सबैभन्दा बढी घनत्व भएको मानिन्छ । तर, दु:खको कुरा यी सातवटै सम्पदा क्षेत्रभित्र पाँच सयभन्दा बढी घर गैरकानुनी रूपमा निर्माण भइसकेका छन् । अन्य मुलुकमा विश्व सम्पदा क्षेत्रमा बस्न पाउनु प्रतिष्ठाको विषय हुन्छ । तर, नेपालमा उल्टो अवस्था छ, ‘बेकारमा मेरो घर विश्व सम्पदा क्षेत्रमा पर्यो’ भन्ने मानसिकता देखिन्छ । त्यसैले नियम मिचेर घर बनाइन्छ । स्थानीय निकाय तथा पुरातŒव विभाग लाचार भएर बस्छन् । सरकारले विश्व सम्पदा क्षेत्रमा बनेका गैरकानुनी संरचना तुरुन्तै हटाउन सक्नुपथ्र्याे । तर, सक्दैन ।
संसारकै दुर्लभ सहर मानिन्थ्यो पाटन
पहिले पाटन चोकैचोकको सहर मानिन्थ्यो । तर, आज धेरै रूप फेरिइसकेको छ । चोकैचोक मिलेर बनेको पाटन संसारकै दुर्लभ सहर बन्न सक्थ्यो । तर, चोकका स्वरूपमा परिवर्तन आइसकेको छ । पाटनलाई चोकैचोकको संसारकै नमुना सहर बनाउने सम्भावना अझै बाँकी छ ।
अर्काे पाटनलाई संसारका सबैभन्दा पुरानो बौद्ध धर्मावलम्बीको बस्तीको रूपमा लिन सकिन्छ । प्राकृतिक र सांस्कृतिक हिसाबले पनि नेपाललाई पर्यटकीय केन्द्र बनाउन सकिन्छ ।
पर्यटन विकासका लागि नेपाल अपार सम्भावना भएको देश हो । हामी भारत र चीनजस्ता विशाल मुलुकको बिचमा छौँ । पर्यटनबाट आर्थिक रूपमा फाइदा लिन सक्ने नीति बनाउन सक्यो भने सांस्कृतिक तथा प्राकृतिक सम्पदा नै हाम्रो सबैभन्दा ठुलो पुँजी हो । यसलाई हामीले आर्थिक अवसरसँग सजिलै जोड्न सक्छौँ ।
नेपालका अधिकांश सहर सांस्कृतिक रूपमा समृद्ध छन् । भौगोलिक रूपमा त्यहाँ आ–आफ्नै विशेषता छन् । पुराना घर भूकम्पनिरोधक मात्र होइन, वातावरणमैत्री र स्वास्थ्यका लागि पनि उत्तम मानिन्छ । अर्काे ठुलो महत्व भनेको मौलिकता हो । हामीले लगाउने ढाकाटोपी, दौरा–सुरुवाल पनि मौलिक पहिचान हुन् । मानिसले फरक देखिन र आफ्नो पहिचान देखाउन वेशभूषा लगाउँछन् ।
बचाउनुपर्छ घान्द्रुकलाई
नेपालमा विश्वकै नमुना सहरहरू बनाउन सकिन्छ । कुनै पनि ठाउँमा २०–३० वटा परम्परागत शैलीका घर बनाउने हो भने पर्यटक कति आउँथे होलान् ? यसको उदाहरण घान्द्रुकलाई लिन सकिन्छ । मानिसहरू घान्द्रुक किन पुग्छन् ? त्यहाँ पुराना शैलीका गुरुङ बस्ती र घर छन्, ती घर हेर्न पुगिरहेका हुन्छन् । बन्दीपुर किन जान्छन् ? त्यहाँ नेवारी शैलीका घर हेर्न पुग्छन् । यस्ता सम्भावित सहर नेपालभरि धेरै छन् । हामीले त्यतातिर ध्यानै दिन सकेका छैनौँ ।
प्राचीन र ऐतिहासिक महत्व बोकेका ठाउँमा आधुनिक घर निर्माण गर्न हुँदैन । तर, नेपालका धेरै सहरले आफ्नो मौलिकता गुमाइसकेका छन् । नेपालका थारू, मधेशी, गुरुङ, मगर, शेर्पा, तामाङलगायत विभिन्न समुदायका परम्परागत घर नष्ट हुँदै गएका छन् । पुराना सहर, बस्ती, घर, पाटीपौवा, सत्तल र ऐतिहासिक संरचना मासिँदै गएका छन् ।
एकचोटि भत्काएपछि त्यसको ऐतिहासिकता र प्राचीनता फर्काउन सकिँदैन । पुरानैजस्तो देखिने संरचना बनाइए पनि त्यसले वास्तविक इतिहास, पहिचान पुनस्र्थापित गर्न सक्दैन । प्राचीनतालाई ‘डिजाइन’ गरेर निर्माण गर्न सकिन्न । संरक्षण भनेको भत्काएर नयाँ बनाउनु होइन, जोगाएर टिकाइराख्नु हो । मुस्ताङ, घान्दु्रक, बन्दीपुरजस्ता स्थानमा पुरानै शैलीको घर बचाउनुपर्छ । त्यस्ता ठाउँमा तीन, चार, पाँचतले ढलान घर ठड्याउने प्रवृत्ति तुरुन्तै रोक्नुपर्छ ।
ढलान घरले ढाक्दै मुस्ताङ
मुस्ताङमा आधुनिक घरहरू बन्न थालिसकेका छन् । यही गतिमा घर बनिरहे मुस्ताङ १० वर्षभित्रै कुरूप बन्नेछ । त्यसकारण अहिले नै स्पष्ट नीति बनाएर निर्माणमा नियमन गर्न जरुरी छ । यसमा स्थानीय जनता, स्थानीय सरकार र राज्य सबैले साझा प्रतिबद्धता जनाउनुपर्छ । संरक्षणप्रति चेतना फैलाउनु आवश्यक छ । मुक्तिनाथ क्षेत्रमै पनि ढलान घर बन्न थालेका छन् । मुस्ताङजस्तो ठाउँ संसारमा एउटै मात्र छ । त्यहाँको ल्यान्डस्केप संसारको कुनै पनि ठाउँसँग तुलना गर्न सकिँदैन । तर, अहिले त्यही सुन्दर ल्यान्डस्केप बिगार्ने स्थिति बन्दै छ । ढलान घर ठडिन थालेका छन् । हामी लाचार भएर हेर्न बाध्य भएका छौँ ।
पुरानो शैलीको घरले त्यस ठाउँको सौन्दर्य मात्र होइन, महत्व पनि बढ्दै जान्छ । पर्यटन, संस्कृति र पहिचान एकसाथ बाँधेर राख्छ । जानकी मन्दिरजस्तो पहिचान बोकेको सहरमा अहिले अधिकांश घर ढलानका बनिसकेका छन् । वास्तुकलालाई जानकी मन्दिरकै शैलीसँग मिल्ने गरी रूपान्तरण गर्न सकिन्छ । जनकपुरधाम नगरपालिकाले स्पष्ट लक्ष्य तय गरेर सिंगै सहरलाई जानकी मन्दिरको वास्तुकलाअनुरूप रूपान्तरण गर्न सक्छ ।
उद्योगले अशान्त लुम्बिनी
लुम्बिनीलाई एउटा उदाहरणको रूपमा लिन सकिन्छ । लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत र शान्ति र ध्यानको प्रतीक हो । तर, त्यहाँ वरिपरि ठुला उद्योग छन् । लुम्बिनीमा मास्क लगाएर ध्यान गर्न जानुपर्ने अवस्था छ । यो आफैँमा लज्जास्पद विषय हुनुपर्ने हो । सर्वाेच्च अदालतले लुम्बिनी वरिपरि १५ किलोमिटर क्षेत्रभित्र उद्योग हटाउनुपर्ने निर्णय गरिसकेको छ । तर, निर्णय भएपछि कार्यान्वयन नहुनु राज्यको असफलता हो ।
हामी फेरि आफ्नो प्राचीनतातिर फर्किने वेला आएको छ । यसले सबैभन्दा ठुलो फाइदा वातावरणलाई पुग्छ । क्लाइमेट चेन्जले सिर्जना गरिरहेको भयावह अवस्थालाई कम गर्न सहयोग पुग्छ । साथै, यी परम्परागत संरचना भूकम्पनिरोधक पनि छन् । जुन हाम्रो देशका लागि अत्यन्त आवश्यकता पनि छ ।
हामी अझै प्रकृति र संस्कृतिमा धनी छौँ । अब यसलाई संरक्षण गर्नुपर्छ । सरकारले संरचना बनाइदिनुपर्छ । १०–२० वर्षभित्र विकसित राष्ट्र हुन हामीलाई टाढा जानुपर्दैन । उपत्यकाभित्र मात्रै सातवटा विश्व सम्पदा छन् । यति सानो ठाउँमा त्यति धेरै विश्व सम्पदा संसारमै कतै छैन । त्यस्तै, विश्व सम्पदा सूचीमा सूचीकृत भएको तिलौराकोट पनि हो । तिलौराकोट सूचीकृत भएको २९ वर्ष भइसक्यो । तर, अहिलेसम्म त्यसलाई विश्व सम्पदा स्थलका रूपमा स्थापित गर्न नसक्नु अत्यन्तै लज्जास्पद विषय हो ।
मौलिकता गुमाउँदै पनौती
पनौती आफ्नो मौलिकता गुमाउने खतरामा छ । विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेको, ऐतिहासिक महत्व बोकेको पनौती यहाँको कला, संस्कृति र सम्पदालाई विश्वसामु चिनाएको सहर हो । पनौतीको संस्कार, संस्कृति र जीवनशैलीलाई बचाइराख्नु हामी सबैको साझा जिम्मेवारी हो । तर, संरक्षणको काम स्थानीय तहबाटै सुरु हुनुपर्ने भए पनि अहिलेको अवस्था मूकदर्शक बनेर बस्नेजस्तो देखिन्छ ।
पनौतीजस्तै अन्य धेरै सहर पनि यही जोखिममा छन् । बुङ्मतीको आफ्नै विशेषता छ, मन्दिर, पुराना शैलीका घर, प्राचीन गल्ली त्यहाँका आकर्षण केन्द्र बन्न सक्थे । यस्ता विशेषता नै बुङ्मतीको मौलिकता हो, जसलाई जोगाउनुपर्छ ।
संरक्षण अभावमा गोर्खा
गोर्खा आफैँमा अत्यन्तै महत्वपूर्ण सहर हो । तर, यहाँ स्थानीय बासिन्दा र स्थानीय निकाय दुवै सक्रिय हुनुपर्ने ठाउँमा राज्यको भूमिका अझै देखिँदैन । गोर्खाले नेपालको एकीकरणदेखि गोर्खालीको विरासतको इतिहास बोकेको छ । तर, हामीले गोर्खालाई न त राम्ररी मार्केटिङ गर्न सकेका छौँ, न त त्यहाँका संरचनालाई संरक्षण र व्यवस्थित विकास गर्न सकेका छौँ ।
चैनपुरमा हराए ढुंगाका सिँढी
बझाङ चैनपुरको अवस्था झनै पीडादायी छ । एक समय अत्यन्तै सुन्दर सहर थियो चैनपुर । म सन् १९९६ मा जर्मनीबाट फर्किएपछि पहिलोपटक पुगेका ठाउँ बन्दीपुर र चैनपुर नै हुन् । त्यसपछि लामो समय चैनपुर जान सकिनँ । त्यहाँ पुग्दा मेरो आँसु नै आयो । यति सुन्दर सहर बिगारिएको रहेछ । ढुंगाको सिँढी र ढुंगा छाएको सहरबाट सबै ढुंगा निकालेर ढलान गरिसकिएको थियो । चैनपुरको अनुहार नै फेरिएको थियो । त्यस्ता ढुंगाका सिँढी र ढुंगा छाएका पुराना संरचना मैले अरू कतै देखेको थिइनँ । तर, अझै पनि चैनपुरलाई बचाउन सकिन्छ । त्यसका लागि राज्य वा स्थानीय निकाय लाग्नैपर्छ ।
यदि आजै बुझाइएन भने क्षति अझै बढ्ने निश्चित छ । वास्तवमा सम्पदामा क्षति भइसकेको छ । त्यसैले सम्पदा संरक्षण पाठ्यक्रममै समावेश हुनुपर्ने विषय हो । नयाँ पुस्तालाई आफ्नो सम्पदालाई माया गर्न सिकाउनुपर्छ ।
(पुरी सम्पदाविद् हुन् )