नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सन् २०२५ लाई नेपाल र नेपालीका लागि पीडादायी वर्षको रूपमा चित्रण गर्दै आगामी सन् २०२६ लोकतन्त्र र संविधान पुनर्स्थापनाको आशाको वर्ष बन्नुपर्ने धारणा राखेका छन् ।
प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल रूपमा सम्बोधन गर्दै ओलीले देशमा लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने क्रम योजनाबद्ध रूपमा अघि बढाइएको आरोप लगाए । तर, नागरिकहरूको बढ्दो राजनीतिक सचेतनाका कारण प्रतिगमनकारी शक्तिहरू आफ्नो उद्देश्यमा सफल हुन नसकेको उनले बताए ।
‘जनताबाट निर्वाचित सरकार ढालिनु भनेको लोकतन्त्र र संविधानमाथि सिधा आक्रमण हो,’ ओलीले भने, ‘यसले जनताको सार्वभौम अधिकार कुण्ठित बनाउँछ ।’
उनले हाल पनि असंवैधानिक गतिविधिहरू रोकिएका छैनन् भन्दै विभिन्न तत्त्वहरूलाई एकत्रित गरी शक्ति सन्तुलन बिगार्ने प्रयास भइरहेको टिप्पणी गरे । सर्वोच्च अदालतबाट कारबाहीका लागि थुनामा पठाइएका व्यक्तिहरू जिल्ला तथा उच्च अदालतबाट रिहा भएसँगै सार्वजनिक रूपमा तमासा देखिनु चिन्ताजनक रहेको उनको भनाइ थियो ।
निर्वाचनका लागि आवश्यक राजनीतिक वातावरण अझै निर्माण नभएको उल्लेख गर्दै ओलीले सरकारले त्यसतर्फ गम्भीर पहल नगरेको आरोप लगाए । निर्वाचनको नाममा नै लोकतान्त्रिक अभ्यास दुरुपयोग भई लोकतन्त्र कमजोर पार्ने षड्यन्त्र हुन सक्ने खतरा रहेको उनले चेतावनी दिए ।
‘नेतामाथि झुटा मुद्दा थोपर्ने, समाजमा अशान्ति फैलाउने, लुटिएका हतियार फिर्ता नहुने अवस्था, जेल तोडेर भागेकालाई अगाडि सार्ने प्रयास र बुथ कब्जाजस्ता गतिविधि भए,’ ओलीले भने, ‘निर्भय वातावरणमा मतदान हुन सकेन भने त्यस्तो निर्वाचन लोकतन्त्रको आवरणमा गरिएको नाटक मात्र हुनेछ ।’
उनका अनुसार शान्त, निष्पक्ष र स्वच्छ वातावरणमा निर्वाचन भए एमाले त्यसमा सहभागी हुने मात्र होइन, स्पष्ट रूपमा विजय हासिल गर्नेछ ।