इतिहासमा आज

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

सन् १९९९ : तत्कालीन रुसी राष्ट्रपति बोरिस यल्तसिनले राष्ट्रको नाममा सम्बोधन गर्दै अचानक पदबाट राजीनामा दिए । लगत्तै उनले चार महिनाअघि प्रधानमन्त्री चुनेका भ्लादिमिर पुटिन कार्यकारी राष्ट्रपति बने ।

सन् १६०० : लन्डनका व्यापारीहरूको समूहले खोलेको ‘इस्ट इन्डिया कम्पनी’लाई इस्ट इन्डिज(हालको इन्डोनेसिया) क्षेत्रमा व्यापारिक मार्ग अन्वेषण गर्न शाही विशेषाधिकार प्रदान गरिन् ।

सन् १७९५ : कुनै समय समुद्री व्यापारमा झन्डै एकाधिकार कामय गरेको डच इस्ट इन्डिज कम्पनी सञ्चालनमा आएको १९३ वर्षपछि यसै दिनबाट बन्द भयो । चार वर्षपछि फेरि यसै दिन डच सरकारले यसलाई भंग गर्यो ।

सन् १८०५ : फ्रान्सले क्रान्तिपछि लागू भएको गणतान्त्रिक पात्रोलाई १२ वर्षपछि यसै दिनबाट प्रचलनबाट हटायो र ग्रेगोरियन पात्रो अंगीकार गर्यो । 

सन् १८५७ : ब्रिटिस महारानी भिक्टोरियाले आफ्नो उत्तर अमेरिकी उपनिवेश क्यानडाको राजधानी आटोवालाई तोकिन ।

सन् १८६२ : अब्राहम लिंकनले वेस्ट भर्जिनियालाई नयाँ राज्यका रूपमा स्विकारे, जुन अमेरिका एक वर्षपछि अमेरिकाको ३५औँ राज्य घोषित भयो ।

सन् १९०४ : न्युयोर्कको चर्चित टाइम्स स्क्वायरमा पहिलोपटक नयाँ वर्ष इभ मनाइयो ।

सन् १९५५ : जनरल मोटर्स कर्पोरेसन वर्षमा एक अर्ब डलर कमाउने पहिलो अमेरिकी कम्पनी बन्यो ।

सन् १९५८ : क्युवाली तानाशाह फुलगेन्सियो बाटिस्टाले उनको क्याबिनेटलाई आफू देश छाड्न लागेको बताएर बिदा भएर अमेरिका भागे । बाटिस्टा सरकारको सेना चे ग्वेभाराले नेतृत्व गरेको क्रान्तिकारी फौजसँग सान्ता क्लारा भन्ने स्थानमा हारेपछि उनी भागेका थिए । योसँगै फिडेल क्यास्ट्रो नेतृत्व गरेको क्युवाली क्रान्तिको जित निश्चित देखियो ।

सन् १९७८ : ताइवानको अमेरिकासँग कूटनीटिक सम्बन्धको अन्तिम दिन । तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले भोलिपल्टबाट बेइजिङको सरकारलाई औपचारिक रूपमा मान्यता दिएपछि ताइवानको अमेरिकी दूतावास बन्द गरियो ।

सन् १९९९ : पानामा नहरको नियन्त्रण अमेरिकाबाट पानामामा फिर्ता भयो । 

सुझावित समाचार