पछिल्लो समय काठमाडौं उपत्यकामा पार्क, हरियाली क्षेत्र र सार्वजनिक खुला स्थानको संरक्षण तथा विस्तार हुने क्रम बढेको छ । बढ्दो सहरीकरण, जनघनत्व र ट्राफिक चापसँगै खुला तथा शान्त स्थानको अभाव देखिएपछि स्थानीय तह र सरोकारवालाले पार्क निर्माण र हरियाली क्षेत्र विस्तारमा चासो देखाएका हुन् । केही स्थानीय तहले सडकछेउ वृक्षारोपण, नदी किनार हरियाली विकास र पुराना खुला स्थान पुनस्र्थापना गर्ने अभियान अघि बढाएका छन् ।
बालाजु, स्वयम्भू क्षेत्र, गोदावरी, ललितपुर र भक्तपुरका केही सामुदायिक पार्कहरू सहरवासीका लागि शारीरिक तथा मानसिक विश्रामको केन्द्र बन्दै गएका छन् । बिहानको हिँड्डुल, योग, पारिवारिक समय र बालबालिकाको खेलकुदका लागि यी स्थानहरूको उपयोग बढ्दो छ । सहरी वातावरणमा हरियालीले तापक्रम सन्तुलन, वायु प्रदूषण न्यूनीकरण र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने वातावरण विज्ञहरूको भनाइ छ ।
धुलो, धुँवा र भिडभाडले घेरिएको काठमाडौंमा शान्त र खुला ठाउँहरू क्रमशः घट्दो क्रममा छ । तर, सहरभित्र थोरै भए पनि यस्ता हरियालीयुक्त क्षेत्रहरू अझै पाइन्छन् । ‘काठमाडौंमा खुला र हरियालीयुक्त पार्कहरू अझै छन्, तर संरक्षण र व्यवस्थापनको अभावले तिनीहरू छिन्नभिन्न भएको वातावरणविद् गौतम पौडेल बताउँछन् । ०७२ को विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेपछि सरकार र निजी क्षेत्रले पार्क र खुला क्षेत्रहरूको संरक्षण र व्यवस्थापनमा पहल थालेका छन् ।
काठमाडौं महानगरपालिकाभित्र हाल १४० वटा पार्क र हरित क्षेत्रहरू छन् । जसले सहरवासीलाई मनोरञ्जन, स्वास्थ्य र प्राकृतिक वातावरणको अनुभव दिलाउने गरेका छन् । काठमाडौं महानगरपालिकाका उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाका प्रमुख नवराज थापाले महानगरले पार्कहरूको संरक्षण र व्यवस्थापनलाई प्राथमिकता दिइएको बताए । पार्कमा खेलकुद, व्यायाम, बच्चाहरूका लागि खेलमैदान र सुन्दर हरियालीको व्यवस्था गरिएको छ । उनका अनुसार नयाँ–पुराना गरी महानगरभित्र १४० वटा पार्क छन् ।
काठमाडौं महानगरले नयाँ १४ वटा पार्क निर्माण गरिरहेको उनको भनाइ छ । जसमध्ये चारवटा बनिसकेका छन् भने ३९ ठाउँमा पुराना पार्कहरू पुनर्निर्माण गरिएको छ । महानगरले रानीपोखरी, कमलपोखरी, रत्नपार्क, बालाजु बाइसधारा पार्क पुनर्निर्माण गरेको थापाले बताए ।
२०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता
काठमाडौं महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान अघि बढाएको छ । महानगर प्रमुख बालेन्द्र शाह बालेनका अनुसार अहिलेसम्म २०८ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याइएको छ । उनले महानगरको लक्ष्य एक हजार ८५९ रोपनी १४ आना अतिक्रमित जग्गा फिर्ता ल्याउने रहेको बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर्गत सार्वजनिक जग्गा संरक्षण र व्यवस्थापनको कानुनी अधिकारअनुसार महानगरले जग्गा फिर्ता अभियान अघि बढाएको छ ।
फिर्ता ल्याइएका जग्गामा अब खुलापार्क, खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र सार्वजनिक उपयोगका स्थलका रूपमा विकास गरिने महानगरले जनाएको छ । यो अभियानले सार्वजनिक सम्पत्तिमा सर्वसाधारणको पहुँच बढाउने, जनताको अधिकार सुनिश्चित गर्ने र स्वाभिमानको रक्षा गर्ने उद्देश्य पनि राखेको उनको भनाइ छ ।
नवराज थापा, प्रमुख, काठमाडौं महानगरपालिकाका उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना
पार्कहरूको संरक्षण र व्यवस्थापनलाई महानगरले प्राथमिकता दिएको छ । पार्कमा खेलकुद, व्यायाम, बच्चाहरूका लागि खेलमैदान र सुन्दर हरियालीको व्यवस्था गरिएको छ । महानगरले नयाँ १४ वटा पार्क निर्माण गरिरहेको छ ।