राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच भएको सातबुँदे सहमतिले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । यसै सन्दर्भमा अन्तरिम चुनावी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यसलाई सकारात्मक र नूतन अध्यायको संज्ञा दिएका छन् ।
‘जेन–जी’ आन्दोलनको जगमा गठित सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो सहकार्यलाई ‘नयाँ दिनको नयाँ सुरुवात’ भनेर टिप्पणी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात। सुन्दर र समृद्ध नेपालको सपना ! गन्तव्य तय हुँदै छ…।’