बारीका केही कान्ला र केही पाटाको अन्तरमा झुरुप्प मिलेर बसेका २६ घर । आँखैअगाडि लहरै मुस्कुराइरहने हिमलुङ, मनास्लु, लमजुङ हिमाल, अन्नपूर्ण २, अन्नपूर्ण ४, अन्नपूर्ण साउथ, मार्दी, माछापुच्छ्रे, हिमालचुली, बुद्ध हिमाललगायत हिमचुचुराहरू । मोहनी लगाउने शान्त र मनोरम वातावरण । गाउँको शिरमा फैलिएको घना जंगल, ऐतिहासिक तथा पुरातात्विक सम्पदा, अनेकौँ जीवजन्तुको ओहोरदोहोर एवं चराचुरुंगीको चिरबिराहटले भरिएको ठाउँ । यो ठाउँ हो, लमजुङको काउलेपानी ।
कक्षाकोठामा विद्यार्थीलाई स्याङ्जाको सिरुबारी, छिमेकी घलेगाउँलगायत देशका विभिन्न गाउँघरमा सञ्चालित ‘होम–स्टे’बारे अध्यापन गराउँदा लमजुङ मावि, काउलेपानी (लमजुङ जिल्लाकै पहिलो स्कुल, जसका पहिलो प्रधानाध्यापक राष्ट्रकवि माधव घिमिरे थिए) का सामाजिक विषय–शिक्षक देवबहादुर गुरुङलाई आफ्नो गाउँमा पनि होम–स्टे सञ्चालन गर्ने हुटहुटी बारम्बार जागिरहन्थ्यो । तर, उनले आफ्नो यो हुटहुटी घर–परिवारकै सदस्यमाझ पनि सार्वजनिक गर्न सकेका थिएनन् । सन् २००८ देखि भने उनले घलेगाउँ, सिरुबारीलगायत विभिन्न स्थानका होम–स्टेको भ्रमण गरेरै त्यसबारे आवश्यक ज्ञान बटुले । झन्डै अढाइ वर्षको अध्ययनपछि बल्ल उनले गाउँमा होम–स्टे सञ्चालन गर्ने निधो गरे र गाउँलेसित सरसल्लाह गरे । गाउँलेलाई पनि उनको प्रस्ताव ठिक त लाग्यो तर होम–स्टे सञ्चालन गर्ने पूर्वाधार आफूहरूसित नभएकाले धेरैले सुरुमै हुन्छ भन्न सकेनन् । थप छलफलसँगै ‘कन्भिन्स’ गर्दै जाँदा सुरुमा बल्लतल्ल पाँच घरले सहमति जनाएपछि सन् २०११ मा अस्तित्वमा आयो काउलेपानी सामुदायिक होम–स्टे । एउटा गाउँमा कम्तीमा १० घर होम–स्टे हुनैपर्ने सामुदायिक होम–स्टेको कार्यविधिले गर्दा बिस्तारै घरहरू थपिएर १५ घर पुगे । हाल जम्मा १४ घरमा ९० जना पाहुनालाई सेवा दिन सक्ने क्षमता छ काउलेपानीसित ।
समाज फुट्न नदिने सोच
२६ घर भएको काउलेपानीमा १२ घर होम–स्टेबाहिरै थिए । उनीहरूलाई पनि होम–स्टेबाट हुने आर्थिक उपार्जनमा जोड्न नसके गाउँ भाँडिने या फुट्ने डर काउलेपानी सामुदायिक होम–स्टेका स्थापनाकालदेखि हालसम्मका अध्यक्ष देवबहादुर गुरुङलाई थियो । उनले होम–स्टे सञ्चालनमा आएका अन्य नमुना गाउँमा यो समस्या देखिसकेका थिए । होम–स्टे चलाउने र नचलाउने गाउँलेबिच अप्रत्यक्ष विवाद र फुट उनले अनुभव गरेका थिए । ‘गाउँमा होम–स्टे नचलाउने घरपरिवारलाई होम–स्टेबाट हुने आर्थिक लाभसित जोड्न नसक्दा धेरै ठाउँमा गाउँ विभाजित भएका देखिए,’ अध्यक्ष गुरुङ भन्छन्, ‘गाउँघरमा बाटोघाटो, पानीपँधेरो सफा, मर्मत या निर्माण गर्न पनि होम–स्टेबाहिरका गाउँले तयार नहुने अवस्था देखियो ।’ त्यसैले, गुरुङले आफ्नो गाउँका बाँकी १२ घरलाई पनि कुनै न कुनै रूपमा होम–स्टेसित जोड्ने योजना बनाए ।
अध्यक्ष गुरुङले होम–स्टेबाहिरका १२ घरलाई उत्पादन क्षेत्र घोषणा गरेर होम–स्टेमा पाहुना छिरेपछि सबै २६ घरमै धेरथोर पैसा छिर्ने व्यवस्था मिलाए । हाल पाहुनालाई स्वागत गर्ने पुष्पगुच्छा, सेलरोटीसहितको स्थानीय खाजा, बिदाइमा लगाइदिने माला र मायाको चिनो उत्पादन क्षेत्रमा रहेका परिवारले आआफ्नो समूहको पालोअनुसार तयार गर्छन् । खाजा तयार गर्ने भाँडाकुँडा र स्थान सामुदायिक भवनले नै उपलब्ध गराउँछ । उनीहरूले आवश्यक सामग्री ल्याएर सामुदायिक भवनमै खाजालगायत वस्तु तयार गर्छन् । यसका लागि पाहुनाबाट लिइने प्रतिव्यक्ति १२ सय रुपैयाँबाट नौ सय रुपैयाँ होम–स्टे सञ्चालकले पाउँछन् । दुई सय रुपैयाँ उत्पादन क्षेत्रको समूहले पाउँछ भने एक सय रुपैयाँ सामुदायिक कोषमा जम्मा हुन्छ र सामुदायिक काममै खर्च हुन्छ । उत्पादन क्षेत्रले उत्पादन गरेका कृषि उपज आवश्यक परेको अवस्थामा होम–स्टेवालाले खरिद गर्छन् । यस्तो व्यवस्थाले गर्दा प्रत्येक गाउँलेले काउलेपानी पुग्ने पाहुनालाई आफ्नै ठान्छन् । आआफ्नो लगानी र मिहिनेतअनुसार आर्थिक उपार्जन हुने भएकाले गाउँलेबिच कुनै मनमुटाव पनि छैन । यस्तो देख्दा आफ्नो योजना सफल भएको ठान्छन् अध्यक्ष गुरुङ ।
उत्पादनमा लगभग आत्मनिर्भर
आफूकहाँ आइपुग्ने पाहुनालाई स्थानीय अग्र्यानिक उत्पादनको स्वाद चखाउँछन् । यहाँ धान, मकै, गहुँ, कोदो, फापर, साग, आलु, काउली, मुला, बन्दा, सिमी, इस्कुस, गोलभेँडा, डल्ले खुर्सानी आदि बालीनालीको उत्पादन हुन्छ । सुन्तला, एभोकाडो, ड्रागन फ्रुट, किवी, केरालगायत फलफूल पनि गाउँमै पाइन्छन् । सबैले आआफ्नो करेसाबारीमा च्याउ र अन्य कृषि उत्पादनका लागि टनेल बनाएका छन् । प्राय: सबैले भैँसी पालेका छन् । उनीहरूले मासुका लागि गिरिराज जातका कुखुरा पालेका छन् । कहिलेकाहीँ उनीहरूलाई अन्डा र मासु अपुग हुँदा छिमेकी गाउँबाट पनि ल्याउँछन् । ब्रोइलरको मासु र अन्डा भने उनीहरूको भान्छामा पुग्दैन ।
कोदोको सेलको ‘ब्रेकफास्ट’
पाहुनालाई स्थानीय उत्पादनको स्वाद दिलाउनु नै काउलेपानीको विशेषता हो । दाल, भात, तरकारी, अचार, मासु, अन्डा, दुध, दही, घिउ आदि त यहाँका नियमित परिकारभित्रै पर्ने वस्तु भए । यससँगै अन्यत्र खासै नपाइने, नदेखिने या नसुनिने कोदाको सेल यहाँको विशेष आकर्षक परिकारमा पर्छ । हरेक होम–स्टे सञ्चालकले हरेक बिहान पाहुनालाई कोदाको सेलको ब्रेकफास्ट खुवाउँछन् । यहाँ पुग्ने पाहुनाले पछिसम्म सम्झिरहने परिकारमा पनि कोदोको सेल नै पर्छ । काउलेपानीमै भेटिएकी मोक्षदा स्कुल, काठमाडौंकी छात्रा मुस्कान भण्डारीले भनिन्, ‘यहाँको कोदोको सेलको स्वाद बिर्सन नसकिने खालको छ ।’
नयाँ पुस्तालाई जोड्ने प्रयास
अहिले काउलेपानीका होम–स्टेलाई प्राय: ५० कटेको पुस्ताले धानिरहेको छ । नयाँ पुस्ताले भाषा, संस्कृति र परम्परा बिर्सेला कि भनेर यो पुस्ता चिन्तित छ । त्यसैले, उनीहरूले सामुदायिक भवनमा पाहुनालाई स्वागत गर्दा देखाइने घाटु नृत्य कलेजमा पढ्ने युवा र हाई स्कुल या आधारभूत तहमा अध्ययन गर्ने बालबालिका पुस्तालाई पनि सिकाइरहेको छ । उनीहरूमा भाषा, संस्कृति र परम्पराप्रति मोह जगाउन यो पुस्ताले विभिन्न चाडपर्व, पूजाआजा र संस्कारसम्बद्ध क्रियाकलापमा नयाँ पुस्तालाई पनि सरिक गराउँदै आएको छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई आफ्नो भाषा पनि सिकाइरहेको छ । हाल दुई सय ७६ जनसंख्या रहेको काउलेपानीमा अध्ययनका लागि गाउँ छाडेर टाढा गएका बालबालिका तथा युवाले आफ्नो गाउँ, समाज भुल्लान् कि भनेर यहाँका अगुवा विशेष चिन्तित देखिन्छन् ।
यसका साथै, आफूपछिको पुस्ताले होम–स्टेलाई निरन्तरता दिनेमा पनि उनीहरू त्यति विश्वस्त देखिन्नन् । होम–स्टे सञ्चालिका मीनाकुमारी गुरुङलाई पनि वेलावेलामा यही चिन्ताले सताउँछ । ‘खै, हामी बुढाबुढीले त जसोतसो अहिलेसम्म धानिरहेका छौँ,’ गुरुङले भनिन्, ‘तर, हामीपछिको पुस्ताले भने के गर्छ, यसै भन्न सक्ने अवस्था छैन ।’ उनलाई आफूहरूको शेषपछि होम–स्टेका लागि बनाइएका संरचना खण्डहर बन्लान् कि भन्ने चिन्ता लाग्छ । ‘होम–स्टेको आम्दानी ठिकै भए पनि अहिलेको पुस्ता ‘ठिकै’ आम्दानीबाट मात्र सन्तुष्ट हुन सक्दैन,’ गुरुङ भन्छिन्, ‘बढी खोज्ने दौडमा उनीहरू यहाँबाट पलायन होलान् र बनिसकेका संरचना खण्डहर बन्लान् कि भन्ने चिन्ता लागिरहन्छ ।’
तर, सामुदायिक होम–स्टेका अध्यक्ष देव गुरुङ भने आशावादी देखिन्छन् । ‘हामीले विदेश गएर वर्षौंदेखि काम गरिरहेका कैयौँ दाजुभाइलाई यहीँ सम्भावना देखाएर फर्काइसकेका छौँ,’ अध्यक्ष गुरुङ भन्छन्, ‘विदेशबाट फर्केर उहाँहरू विदेशमा भन्दा यहीँ राम्रो कमाइ गरिरहनुभएको छ ।’ विदेशबाट फर्केर यहीँ रमाइरहेका अग्रज पुस्तालाई देखेर पनि काउलेपानीका युवाले बिदेसिने रहर नगर्लान् भन्नेमा गुरुङ आशावादी छन् । ‘भविष्यमा अध्ययनका लागि अमेरिका या अस्ट्रेलिया कोही पुगे र पुगेका एकाध युवा उतै पलायन भए भने बेग्लै कुरा हो,’ गुरुङ भन्छन्, ‘नत्र, अन्य देशमा श्रम बेच्नकै लागि जान चाहने युवाचाहिँ हाम्रो गाउँमा त्यति देखिएका छैनन् ।’
काउलेपानी पुग्नेले के पाउँछ ?
काउलेपानी पुग्ने पाहुनाले प्रत्येक होम–स्टेका आँगनबाटै हिमचुलीहरूको दृश्यावलोकन गर्न सक्छन् । गाउँको सिरानमा बनेको ‘भ्यु टावर’बाट एउटै ‘पोजिसन’मा उभिएर आँखा मात्र घुमाएर एकसाथ १४ हिमाल देख्न सकिन्छ । काउलेपानीको सामुदायिक भवनदेखि होम–स्टेका प्रत्येक घरमा पुग्न ढुंगा छापिएका सफा गोरेटो बाटो निर्माण गरिएको छ । सामुदायिक भवनमा पुग्ने पाहुनालाई दहीमा मुछिएको सेतो टीका, नौवटा धागोबाट तयार गरिएको ‘रिपु’, पुष्पगुच्छा र दहीबाट स्वागत गरिन्छ । सामुदायिक भवनको हलमा होम–स्टेबारे जानकारी दिनुका साथै गुरुङ समुदायको घाटु नाचबाट पाहुनाको स्वागत गरिन्छ । अर्को दिन बिदा गर्दा स्थानीय सामग्रीबाट तयार गरिएको मायाको चिनोसँगै फूलको माला लगाएर बाटामा खान सेलको खाजासहित नाचगानसाथ बिदा गरिन्छ ।
समग्रमा काउलेपानी घुम्न चाहनेले दुई दिनको समय छुट्याउँदा ठिक हुने अध्यक्ष गुरुङ बताउँछन् । यहाँका यशोब्रह्म शाहको ऐतिहासिक तथा पुरातात्विक दरबार, कुसुन्डा राजाको ओढार, सिद्धि पाइला, सिद्धि चौतारी, कोटि हवन कुण्ड, कुकुर बाँध्ने ढुंगा, सुत्केरीले उठाएको ढुंगा, विभिन्न देवदेवीका मन्दिर र पुरानकोटसम्मको दर्शन र यात्रा गर्न दुई दिनको समय पर्याप्त हुन्छ । अध्यक्ष गुरुङका अनुसार पुरानकोटबाट एकसाथ कास्की, तनहुँ, स्याङ्जा, मनाङलगायत १४ जिल्लाको दृश्य देख्न सकिन्छ ।