- निर्वाचन नजिकिँदै गर्दा कलाकारहरू राजनीतिमा सक्रिय हुनुलाई कतिले उचित ठानेका छन्, कतिले शक्तिप्रतिको मोह
देशमा निर्वाचन नजिक आउँदा पार्टीहरू मात्रै सक्रिय हुँदैनन्, कलाकार पनि सक्रिय हुन्छन् । नयाँ राजनीतिक दलका कार्यालयमा अभिनेता, अभिनेत्रीदेखि, निर्देशक, निर्मातासम्म पुग्छन् । टेलिभिजनका पर्दामा चुनावी भाषण गर्दै गरेका नेता मात्रै देखिँदैनन्, सिनेमामा देखिने कलाकार पनि देखिन्छन् । निर्वाचन नजिकिँदै गर्दा कलाकारहरू राजनीतिमा सक्रिय हुनुलाई कतिले उचित ठानेका छन् भने कतिले शक्तिप्रतिको मोह ठानेका छन् ।
हालै अभिनेत्री रिमा विश्वकर्मा ‘उज्यालो नेपाल पार्टी’मा प्रवेश गरेकी छन् । सो पार्टीको उनी केन्द्रीय सदस्य बनेकी छिन् । अभिनेत्री निशा अधिकारी ‘गतिशील लोकतान्त्रिक पार्टी’मा केन्द्रीय सदस्य बनेकी छिन् । अर्की अभिनेत्री तथा मोडल एलिजा गौतम ‘आम जनता पार्टी’ (आजपा) प्रवेश गरेकी छिन् ।
चलचित्र निर्देशक मीन भाम नेपाली कांग्रेसबाट चुनाव लड्ने तयारीमा छन् । लोकगायिका रिता थापा मगर नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएकी छिन् ।
केही कलाकार खुलेरै राजनीतिमा लागेका छन् भने केही पृष्ठभूमिमा बसेर सघाइरहेका छन् । निर्देशक निश्चल बस्नेत, रवीन्द्रसिंह बानियाँलगायतले नयाँ राजनीति पार्टीलाई सघाइरहेको देखिन्छ । रास्वपाले समानुपातिक उम्मेदवारको रूपमा खोटाङबाट गायिका सत्यकला राईलाई अघि सारेको छ ।
पार्टी प्रवेश गर्ने लहर
पञ्चायतकालमा पनि सत्तामा पुग्न चाकडी गर्ने परम्परा रहेको देखिन्छ । २०४६ को परिवर्तनपछि कलाकारहरू फाट्टफुट्ट राजनीतिमा लागे पनि लहरकै रूपमा प्रवेश गरेको देखिन्न । तर, गणतन्त्रपछि भने कलाकारहरू पार्टीमा प्रवेश गर्ने लहर ह्वात्तै बढेको देखिन्छ । यसको एउटा उदाहरण हो, तत्कालीन माओवादीमा सयभन्दा धेरै कलाकारको पार्टी प्रवेश । २०६५ मा राजेन्द्र खड्गी, युवराज लामा, मौसमी मल्ल, चेतन सापकोटा, उदय सुब्बा, विमला केसी, छविराज ओझा, राजु केसी, अञ्जु पन्त, रेखा थापालगायतका कलाकार माओवादी प्रवेश गरे । पछि रेखा थापा माओवादी परित्याग गरी राप्रपामा प्रवेशमा गरिन् । थापा राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बनिन् र पराजित भइन् ।
अखिल नेपाल चलचित्रकर्मी संघका पूर्वअध्यक्ष तथा चलचित्रकर्मी केपी पाठक २०६५ सालतिर एक सयभन्दा धेरै कलाकार तत्कालीन माओवादी पार्टीमा प्रवेश गरेको बताउँछन् । ‘नयाँ शक्तिहरूमा कलाकारको आकर्षण हुनु स्वाभाविक हो । त्यसवेला धेरै कलाकार तत्कालीन माओवादी पार्टीमा प्रवेश गरेका थिए,’ उनी भन्छन्, ‘त्यसवेला अभिनेता निर शाहले तत्कालीन माओवादीलाई समर्थन गर्नुभएको थियो । मलाई अझै याद छ, उहाँले मञ्चबाट तत्कालीन माओवादीलाई समर्थन गर्दै लामो भाषण गर्नुभएको थियो ।’
माओवादी केन्द्रको महाधिवेशनमा चलचित्रकर्मी युवराज लामा प्रदेश २ बाट महाधिवेशन प्रतिनिधि बनेर सहभागी भएका थिए । निर्देशक छवि ओझा माओवादी केन्द्रनिकट चलचित्र संघको विशेष समितिको अध्यक्ष चयन भएका थिए ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा निर्माता तथा अभिनेता रोज राणा, कलाकार शिवशंकर रिजाल (जोगिन्दर), लोकगायक विमलराज क्षेत्री, कलाकार शिवहरि बैरागी, तीर्थ थापा, निर्देशक सम्झना रौनियारलगायत विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि बनेका थिए ।
अभिनेत्री करिश्मा मानन्धर पनि केही समयअघिसम्म राजनीतिमा सक्रिय थिइन् । उनी सुरुमा डा. बाबुराम भट्टराईको ‘नयाँ शक्ति पार्टी’मा आबद्ध थिइन् । पछि एमालेमा प्रवेश गरिन् र त्यो पार्टी पनि छाडिन् । गायिका कोमल ओली पनि रेडियो नेपालको जागिर छाडेर राप्रपामा प्रवेश गरेकी थिइन् । पछि उनी नेकपा एमालेमा आबद्ध भइन् र राष्ट्रिय सभा सदस्य तथा एमाले केन्द्रीय सदस्यसमेत बनिन् । नेकपा एमालेसँग आबद्ध रहेका दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भए । गायिका ज्योति मगर पार्टी प्रवेश गरेको घोषणा नगरे पनि एमाले महाधिवेशनमा केपी ओली प्यानललाई भोट माग्न पुगिन् ।
पटक–पटक पार्टी परिवर्तन
गणतन्त्र स्थापनापछि कलाकारमा राजनीतिक आकर्षण बढ्दै गएको देखिन्छ । पछिल्ला एक दशकयता सयौँ कलाकार विभिन्न राजनीतिक दलमा आवद्ध भए । कलाकारिताबाट नाम दाम कमाएका कलाकारको राजनीतिक दलमा प्रवेशले एक समय ठुलो चर्चा हुन्छ । तर, समय बित्दै जाँदा उनीहरूको राजनीतिक यात्रा असफलतामा पुगेर टुंगिन्छ । उचित भूमिका र अपेक्षित सफलता नपाउँदा नेता बनेका कलाकार निराश हुन्छन् । कतिपय फेरि कलाकारितामै फर्किन्छन्, कतिपयचाहिँ अर्को पार्टी चाहार्न पुग्छन् । हेरौँ केही उदाहरण :
मोडल तथा कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी छाडेर ‘जनादेश पार्टी नेपाल’मा आबद्ध थिइन् । अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा स्थापना भएको पार्टीमा उनी संस्थापक उपाध्यक्ष थिइन् । तर, केही दिन नबित्दै उनी प्रभु साह नेतृत्वको आजपामा प्रवेश गरिन् ।
अभिनेता भुवन केसी एमालेमा प्रवेश गरेर एकाएक चर्चामा आए । केसीले दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १ बाट टिकट पाउने चर्चा चल्यो । तर, केसीको नाम अन्तिममा काटियो । एमालेले टिकट नदिने भएपछि केसी तत्कालीन राप्रपा नेपालमा जाने हल्ला चल्यो । पार्टी परिवर्तन गर्ने थाहा पाएपछि उनलाई पार्टीमै रोकियो । तर, एमालेबाट उनले टिकट पाएनन् । राजनीतिमा आउने उनको रुचि सेलाएन । ०७९ को स्थानीय चुनावमा उनले उन्नत लोकतन्त्र पार्टीकातर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरे । तर, केही दिनमै उनले फेसबुकमा स्टाटस लेख्दै मेयरमा उम्मेदवारी नदिने घोषणा गरे ।
केही समयपछि केसी नेपाली कांग्रेस प्रवेश गरे । उनीसँगै अभिनेत्री श्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेको केही समयपछि केसी चलत्रिच विकास बोर्डको अध्यक्षमा नियुक्त भए ।
रेखा थापा पनि तत्कालीन नेकपा माओवादीमा प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि ०७३ मा माओवादी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरिन् । हाल पनि राप्रपामै सक्रिय छिन् ।
निर्देशक तथा कोरियोग्राफर रेनेशा बान्तवा राई इलामबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएकी थिइन् । रोज राणा प्युठानबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका थिए । त्यस्तै, गायक विमलराज क्षेत्री केन्द्रीय सदस्यमा उम्मेदवार बने, तर पराजित भए । हास्य कलाकार हिमेश पन्त रास्वपामा प्रवेश गरे । उनी धादिङबाट चुनाव उठे, तर जित्न सकेनन् । उनी कलाकारितामै फर्किएका छन् ।
कलाकारिता र पत्रकारिताबाट राजनीतिमा आएकी कोमल ओली पहिला राप्रपामा आबद्ध थिइन् । एमालेबाटै सांसदसमेत भइसकेकी उनी भर्खरै सम्पन्न एमाले महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् ।
चलचित्रकर्मी केपी पाठक कलाकारको राजनीतिक आकर्षणलाई ‘पोलिटिकल ग्ल्यामर’ का रूपमा विश्लेषण गर्छन् । उनको बुझाइमा राजनीतिमा धैर्यता चाहिन्छ । तर, कलाकारमा धैर्यता छैन । उनी भन्छन्, ‘राजनीति आफँैमा लामो समयको यात्रा हो । राजनीतिमा लागेका अधिकांश कलाकारमा सांसद र मन्त्री हुने लोभ देखिन्छ ।’
चलचित्र समीक्षक डा. सचिन घिमिरेका अनुसार नेपाली राजनीतिमा कलाकारको प्रवेश प्राय: लोकप्रियताका रूपमा प्रयोग हुने गरेको छ । ‘पार्टीहरूले कलाकारलाई जनसमर्थन तान्न अगाडि सारेको देखिन्छ । कलाकारहरूले राजनीतिलाई वैकल्पिक करियर र दीर्घकालीन सुरक्षा क्षेत्रका रूपमा हेरेको देखिन्छ । तर, समस्या त्यहाँ सुरु हुन्छ, जहाँ लोकप्रियता विचार, नीति र संगठन निर्माणमा रूपान्तरण हुन सक्दैन,’ उनी भन्छन्, ‘अधिकांश कलाकार पार्टीभित्र निर्णय प्रक्रियामा प्रभावशाली बन्न सकिरहेका छैनन् । कलाकारहरू केन्द्रीय सदस्य, प्रतिनिधि वा पदाधिकारी बने पनि नीति निर्माण, वैचारिक बहस र सांगठनिक नेतृत्वमा सीमित भूमिकामै अड्किएका छन् ।’
राजनीतिमा टिक्न देश र समाजको सेवाभाव लिएर आउनुपर्नेमा नेत्री ओलीका जोड छ । भन्छिन्, ‘पद, प्रतिष्ठा र चर्चाको लोभले राजनीतिमा प्रवेश गर्दा जनताले स्वीकार गर्दैनन् ।’
राजनीतिमा किन टिक्दैनन् कलाकार ?
नेत्री ओली पार्टीभित्र र बाहिर दुवै ठाउँमा राजनीति गर्नुपर्ने बाध्यता रहेको बताउँछिन् । विशेष गरी पार्टीभित्रको राजनीति झनै कठिन हुने उनको अनुभव छ । लामो समयदेखि राजनीतिमा सक्रिय नेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्दा बाहिरबाट आएका व्यक्तिलाई थप चुनौती हुने उनले बताइन् । भन्छिन्, ‘लामो समयदेखि राजनीति गरेकाहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यहाँ राजनीतिमा काम गर्दै आएका मान्छेहरू हुन्छन् । हामी बाहिरबाट जानेहरूले राजनीति गर्नुपर्ने हुन्छ । यो प्रतिस्पर्धा निकै गाह्रो काम हो ।’
‘उज्यालो नेपाल पार्टी’की केन्द्रीय सदस्य रिमा विश्वकर्मा भन्छिन् ‘कलाकारले समाज रूपान्तरणको बीउ रोप्छ । राजनीतिको प्रभुत्व केवल शक्ति व्यवस्थापनद्वारा मात्र हुँदैन, सहमतिद्वारा पनि हुन्छ । त्यो सहमतिको विकास र वैकल्पिक चेतनाको निर्माणमा कलाले भूमिका खेल्छ । त्यसैले कलाकारलाई सतही रूपमा परिभाषित गर्दा अन्याय हुन्छ ।’
चलचित्रकर्मी पाठक थप्छन्, ‘विगतमा शक्तिका रूपमा उदाएका पार्टीमा पनि कलाकार सहभागिता बढ्दो थियो । तत्कालीन माओवादी पार्टीमा कलाकार प्रवेशको लहर थियो । अहिले नयाँ पार्टीमा कलाकारको आकर्षण देखिन्छ ।’ उनका अनुसार कलाकारको राजनीतिमा उपस्थिति बढ्नु लोकतन्त्रका लागि नकारात्मक होइन । तर, समस्या कलाकार आफैँले राजनीतिलाई कति गम्भीर रूपमा लिन्छन् भन्ने हो । धेरै कलाकार आन्दोलन, विचार र दीर्घकालीन राजनीतिक प्रशिक्षणविना नै राजनीतिमा प्रवेश गर्छन् । जसका कारण उनीहरू चुनाव, महाधिवेशन वा आन्तरिक शक्ति संघर्षमा टिक्न सक्दैनन् ।
लेखक तथा राजनीतिक विश्लेषक युग पाठकको बुझाइमा सत्ताको सबैभन्दा महत्वपूर्ण औजार राजनीति हो । ‘मानिसको उपेक्षा र पीडालाई सम्बोधन गर्न सक्ने अभ्यास नै राजनीति हो, त्यही अभ्यासबाट नेता जन्मिन्छन् । कुन उद्देश्यले राजनीतिमा प्रवेश गरियो ? राजनीति गर्न ज्ञान लिन, व्यवहार सिक्न, जनताका मुद्दा बुझ्न र विचारधारा माझ्न समय र मिहिनेत चाहिन्छ,’ उनी भन्छन्, ‘राजनीति भनेको धेरै मानिसको नेतृत्व गर्ने अभ्यास हो भने राज्यसत्ता आममानिसको शक्तिको बलमा उभिएको सत्ता हो । त्यो शक्तिलाई आफ्नो विश्वासमा कसरी लिन सकिन्छ भन्ने नै राजनीतिको मूल प्रश्न हो ।’
राजनीतिमा लाग्न विचारधारा आवश्यक पर्ने विश्लेषक पाठकको भनाइ छ । ‘राजनीति शक्तिको खेलसँग जोडिएको हुनाले शक्तिको रापताप सहन सक्ने क्षमता पनि राजनीतिमा सक्रिय व्यक्तिसँग हुनुपर्छ । कलाकारसँग क्षमता हुँदैन भन्ने होइन, हरेक मानिससँग आ–आफ्नो क्षमता हुन्छ । तर, यो क्षमता कलाकारिताको क्षेत्रमा काम गर्ने व्यक्तिसँग कति हुन्छ भन्ने प्रश्न हो,’ उनी भन्छन् । राजनीतिक कला र ज्ञान व्यवहारमा उतार्न लामो साधना चाहिने उनको पनि भनाइ छ ।
‘साँच्चै राजनीति गर्नु भनेको समय, ज्ञान र व्यवहारको निरन्तर अभ्यास हो । राजनीति पनि अन्य विधाजस्तै साधना गर्नुपर्ने क्षेत्र हो । राम्रो लेखक बन्न १० वर्ष लाग्न सक्छ, राम्रो कलाकार बन्न पनि लामो समय चाहिन्छ,’ पाठक भन्छन्, ‘त्यसैगरी, राम्रो नेता बन्न वा राजनीतिक पात्रका रूपमा स्थापित हुन पनि समय लाग्छ ।’
पाठकको बुझाइमा ‘फ्यान फलोइङ’लाई नै राजनीतिक पुँजी ठान्नुहुँदैन । ‘त्यो कलाकारिताको पुँजी हो । कलाकारिताको पुँजी सजिलै राजनीतिक पुँजीमा रूपान्तरण हुन्छ भन्ने हुँदैन । राजनीतिमा टिक्न राजनीतिक पुँजी नै आर्जन गर्नुपर्छ,’ उनी भन्छन् । पाठकसँग सहमति छिन् एमाले नेत्री ओली । उनी कलाकारको जीवन र राजनीतिकर्मीको जीवनबिच ठुलो अन्तर रहेको बताउँछिन् । भन्छिन्, ‘राजनीतिमा आएपछि निश्चित विचार र वाद बोकेर हिँड्नुपर्ने हुन्छ, जसले गर्दा पहिलेको फ्यान फलोइङलाई आफ्नो राजनीतिक विचारमा रूपान्तरण गर्न सकिँदैन । कलाकार हुँदाको फ्यान फलोइङलाई राजनीतिमा प्रयोग गर्न सकिन्छ भन्ने सोच गलत हो ।’
तर, नेतृ विश्वकर्मा कलाकारलाई कम आँक्न नमिल्ने मत राख्छिन् । उनी कलाकारसँग समाजको अनुभव, चेतना र यथार्थलाई अर्थपूर्ण र सिर्जनशील ढंगमा अभिव्यक्त गर्ने सीप हुने धारणा राख्छिन् । कलाले समाजको चेतना विकासमा अहं भूमिका खेल्ने र राजनीतिले त्यो चेतनालाई समाज रूपान्तरणमा लगाई नीति–निर्माण र शक्ति व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ । भन्छिन्, ‘कलाकारले समाजलाई मानविय संवेदनामा बाँधेर सहअस्तित्व र सहिष्णुता कायम गर्न सक्छ, जुन राजनीतिज्ञका निमित्त चुनौतीपूर्ण हुन सक्छ ।’
अध्येता जेवी विश्वकर्माका अनुसार पछिल्लो समय आफ्नो लोकप्रियतालाई राजनीतिक भोटमा रूपान्तरण गर्ने सोचले कलाकार राजनीतिमा आएको बताउँछन् । कलाकारमा कलाकारिताको लोकप्रियताले राजनीतिमा सजिलै शक्तिमा पुगिन्छ भन्ने भ्रम देखिन्छ । ‘राजनीतिमा प्रवेश गर्दै गर्दा समाजको अर्थ–राजनीति बुझ्न जरुरी हुन्छ । हामी कुन राजनीतिक प्रणालीमा छौँ ? समाजको राजनीतिक शक्ति सम्बन्ध कस्तो छ ? राजनीतिक रूपान्तरणका विचार, दृष्टिकोण र रणनीति के हुन् ? हाम्रो समाज किन जटिल अवस्थामा अड्किएको छ ? यस्ता विषयमा गहिरो अध्ययन आवश्यक हुन्छ । तर, समाज, राजनीतिक व्यवस्था, अर्थतन्त्र र वर्तमान संकटका ऐतिहासिक कारणलाई बुझेर यी समस्यालाई हल गर्ने आत्मविश्वाससहित राजनीतिमा आउने कलाकार अत्यन्तै कम देखिन्छन्’, उनी भन्छन् ।
उनको बुझाइमा कलाकार चिन्तन, विचार, दृष्टिकोण र बहससहित राजनीतिमा आएको देखिँदैन । राजनीतिमा लामो समयदेखि चलेको सामाजिक, आर्थिक प्रणाली, शासकीय पद्धति र राजनीतिक संस्कृतिको परिणाम बुझ्नुपर्ने उनको तर्क छ । उनी भन्छन्, ‘समाजको गम्भीरता र जटिलतालाई बुझेर राजनीतिमा आएमा नयाँ ढंगले समाज र राजनीतिलाई रूपान्तरण गर्ने सम्भावना रहन्छ । तर, अधिकांश कलाकार गहिरो चिन्तन, विचार, दृष्टिकोण र बहससहित राजनीतिमा आएको देखिन्न । यहीकारण राजनीतिमा आउने र हराउने क्रम दोहोरिइरहेको छ ।’
दीर्घकालीन रूपमा राजनीतिमा टिक्न तत्काल देखिएको समस्या मात्रै हेरेर लाग्दा समाधानसम्म पुग्न नसकिने उनको मत छ । ऐतिहासिक कारण खोज्नुपर्ने र नेपाली समाजको विविधताको अध्ययन गर्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘राजनीति शक्ति अभ्यास गर्ने बृहत्तर क्षेत्र हो, त्यहाँ गएर आफ्ना समुदायका मुद्दालाई समग्र राष्ट्रिय राजनीतिसँग जोडेर उठाउन सके मात्र रूपान्तरण सम्भव हुन्छ ।’