विभिन्न जिल्लाबाट लागु्औषधसहित १८ जना पक्राउ

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

विभिन्न जिल्लामा लागुऔषधसहित १८ जना पक्राउ परेका छन् । काठमाडौं, झापा, सिन्धुलीलगायतका जिल्लामा १८ जना पक्राउ परेका हुन् । 

काठमाडौंको चन्द्रागिरि नगरपालिका– २, नागढुंगाबाट ब्राउन सुगरजस्तो देखिने पाँच ग्राम  पदार्थसहित सुनसरी घर भएका २४ वर्षीय देवबहादुर विश्वकर्मालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ००१–००६ ख ९८८२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, झापाको कन्काई नगरपालिका– ७, दुर्गापुरबाट  ब्राउन सुगरजस्तो देखिने  तीन ग्राम ७८० मिलिग्राम पदार्थसहित सोही नगरपालिका– ५ बस्ने ४१ वर्षीया सम्झना श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी, झापाको भद्रपुर नगरपालिका– ५ मेची पुलबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ पाँच ग्राम एक सय मिलिग्रामसहित दुईजनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका– १ दानाबारी बस्ने ३१ वर्षीय सन्देश राई र ४६ वर्षीय टेकबहादुर लिम्बू रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०३००१ प ४९५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाकै बाह्रदशी गाउँपालिका– २, जनता चोकबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ २१० मिलिग्रामसहित भारत बिहार किशनगन्ज धातोला पन्चायत– २, खरौल टोल बस्ने २२ वर्षीय मो. नाजिरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिन्धुलीको दुधौली नगरपालिका– ५ कुलुवापुलबाट नियन्त्रित लागुऔषध स्पास्मो ३२१ ट्याब्लेट, अवैध लागुऔषध गाँजा आठ सय ग्राम र नगद २८ हजार ६१६ रुपैयाँसहित दुईजनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका– ५ बस्ने २६ वर्षीय सीताराम बुढाथोकी र २० वर्षीय मानबहादुर विश्वकर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ४९० ट्याब्लेटसहित बन्दीपुर गाउँपालिका– ५ याम्पाफाँट बस्ने २२ वर्षीय सूर्य नेपालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ६६९० नम्बरको माइक्रोमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

उता, कपिलवस्तुको मायादेवी गाउँपालिका– २ भैसकुण्डबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ ४३ ग्राम ७६० मिलिग्रामसहित सोही गाउँपालिका– ४ बुलकडिहवा बस्ने ३० वर्षीय अब्दुल कासिमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पकडी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५५ एयु ०७२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी, कैलालीको घोडाघोडी नगरपालिका– २, टनकपुर बस्ने ३७ वर्षीय किसिमलाल चौधरीलाई खैरो हेरोइनजस्तो देखिने पदार्थ ११ ग्राम २६० मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।

त्यस्तै, कैलालीको टीकापुर नगरपालिका– ९, खक्रौलाबाट  खैरो हेरोइनजस्तो देखिने पदार्थ ५७० मिलिग्रामसहित सोही नगरपालिका– १ बनगाउँ बस्ने ३३ वर्षीय सञ्जीवकुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिका– ३, नालामुखबाट  टापेन्टाडोल २९८ ट्याब्लेट र नगद ३५ हजार रुपैयाँसहित दुईजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका– १०, रामबजार बस्ने पर्वत घर भएका ४० वर्षीय सुरेन्द्र गुरुङ र सोही महानगरपलिका– ८ डेरा गरी बस्ने बारा घर भएका ३० वर्षीय सलमान खान रहेका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

मोरङको पथरी–शनिश्चरे नगरपालिका- २, सरस्वती टोल बस्ने ३१ वर्षीय नीरज गुरुङ र उनकै श्रीमती २५ वर्षीया सुमता राईलाई खैरो हेरोइनजस्तो देखिने पदार्थ ७२० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, सुनसरीको धरान उपमहानगरपलिका– ७, श्रीजंग मार्गबाट ट्रामाडोल ५७० ट्याब्लेट र स्पास्पेन ५५० ट्याब्लेटसहित तीनजनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय संसार थापा, सोही उपमहानगरपालिका– १५ बस्ने १९ वर्षीय सन्देश लिम्बू र सोही उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

सुझावित समाचार