उम्मेदवारको नाम मागिएपछि एमालेमा पोखरेल पक्ष सशंकित

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनका लागि घोषित निर्वाचनको पक्षमा तयार नभइसकेको एमालेले संस्थागत छलफलविनै एकाएक समानुपातिक उम्मेदवारको सूची छनोट बढाएसँगै नेता ईश्वर पोखरेल पक्ष सशंकित बनेको छ । 

सुशीला कार्की नेतृत्वको सरकार गठन प्रक्रिया नै असंवैधानिक भएको जिकिरसहित सर्वोच्च अदालतमा रिट निवेदन हालेर विघटित प्रतिनिधिसभा पुनर्स्थापनामा जोड गरिरहेको एमालेले मंगलबार जिल्ला अध्यक्षहरूलाई प्रतिनिधिसभामा समानुपातिकतर्फका उम्मेदवार तत्काल सिफारिस गर्न निर्देशन दिएको छ ।

महासचिव शंकर पोखरेलले भर्चुअल माध्यमबाट प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित प्राथमिकता क्रम तोकेर तीनजनाको नाम प्रदेश हुँदै केन्द्रमा सिफारिस गर्न निर्देशन दिएका छन् । उम्मेदवार छनोटको विषयमा पार्टीभित्र असन्तुष्टिबिच महासचिव पोखरेलले मंगलबार प्रदेश र ७७ वटै जिल्ला कमिटीसँग भर्चुअल छलफल गरेका थिए । 

निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उम्मेदवार छनोटको विगतकै अभ्यासअनुसार प्रक्रिया अगाडि बढेको बताए । ‘प्रदेश कमिटीहरूले जिल्लासँग एक महिलासहित कम्तीमा तीनजनाको नाम मागेर प्राथमिकता तोक्छ र ती नाम केन्द्रमा पठाउँछ, त्यही पहिलेदेखि गर्दै आएको प्रक्रियाअनुसार सूची पठाउन भनिएको हो,’ उनले भने, ‘ती नामहरू केन्द्रीय कमिटीमा आएपछि प्रस्तावका रूपमा छलफल भएर निर्णय हुने हो, त्यसैले अहिले प्रक्रिया मात्र सुरु भएको हो, छलफल बाँकी छ ।’ 

तर, पार्टी सचिवालय बैठकसमेत नडाकी महासचिव पोखरेलले उम्मेदवार छनोटजस्तो महत्वपूर्ण काम एकतर्फी अघि बढाएकोमा ईश्वर पक्षका नेताहरूले सार्वजनिक रूपमै आपत्ति जनाएका छन् । 

सुझावित समाचार