खोटाङमा रहेका तीनमध्ये खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा मात्र नियमित उडान भइरहेको छ। खोटेहाङ गाउँपालिका–४, बडकादियालेको थामखर्क विमानस्थल र रावाबेँसी गाउँपालिका–३, लामिडाँडामा रहेको लामीडाँडा विमानस्थलमा उडान हुँदैन। यी दुवै विमानस्थलको धावनमार्ग कालोपत्रे गरेसँगै उडान हुन छाडेका हुन्।
लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएपछि ३ असार ०७६ मा परीक्षण उडानका साथ एमाले नेता विशाल भट्टराईले उद्घाटन गरेका थिए। त्यसपछि नियमित उडान भएको छैन। ०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको लामीडाँडा विमानस्थलको टर्निङ प्याडमा दायाँबायाँ २८/२८ मिटर कालोपत्र गरिएको छ। लामीडाँडा विमानस्थलमा उडान ठप्प भएपछि कर्मचारी र उपकरणसमेत उठाएर अन्यत्र लगिएको स्थानीय बासिन्दाले बताएका छन्।
रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेँसी आवतजावत गर्ने भक्तजन एवं पर्यटकले सेवा लिँदै आएको लामीडाँडा विमानस्थलको उडान कटौती गरेर राज्यले अन्याय गरेको आरोप लगाए। ‘स्थानीय बासिन्दाले कुटो र कोदालो प्रयोग गरेर सञ्चालनमा ल्याएको लामीडाँडा विमानस्थलमा उडान कटौती हुनुमा राजनीतीकरण भएको छ,’ उनले भने।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले लामीडाँडा विमानस्थलको उडान कटौती हुनुको कारण पत्ता लगाएर नियमित उडान भर्ने गरी पहल भइरहेको बताए। थामखर्क विमानस्थल रौता कन्स्ट्रक्सनले नेपाल नागरिक उड्डयन प्राधिकरणको १० करोड ६० लाख ७१ हजार लगानीमा कालोपत्र गरेको हो।
खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारनजिकै रहेको खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा भने नेपाल वायुसेवा निगमले काठमाडौंबाट उडान भर्दै आएको छ। सात करोड २४ हजारमा लामा बुइल्डर्स-चाङ्मिला जेभी निर्माण कम्पनीमार्फत कालोपत्र भएको खानीडाँडा विमानस्थलमा हप्तामा दुईपटक उडान हुन्छ। यसले जिल्ला अस्पताल दिक्तेलबाट अन्यत्र रिफर गरिएका बिरामीलाई सहज भएको छ।
सातामा दुईवटा उडान भर्छ इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल
इलाम नगरपालिका–९ मा रहेको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलमा नियमित उडान छैन। लामो समय उडान नभएको यो विमानस्थलमा पछिल्लो समय सातामा दुईवटा मात्र उडान हुँदै आएको छ। नेपाल वायु सेवा निगमको ट्विनअटर विमानले इलाममा बुधबार र शनिबार मात्र उडान भर्दै आएको विमानस्थलका कर्मचारी किरण काफ्लेले बताए। नियमित उडान नहुँदा स्थानीय झापाको चन्द्रगढी विमानस्थल र विराटनगर विमानस्थल धाउन बाध्य छन्। हप्तामा दुई दिनबाहेक अरू वेला यो विमानस्थल सुनसान हुने गरेको छ।

२८ करोड खर्चेर बनाइएको यो विमानस्थलमा २१ जेठ ०७५ मा तारा एयरको ट्विनअटर विमानले पहिलो परीक्षण उडान गरेको थियो। त्यसपछि २६ माघ ०७८ मा पनि वायु सेवा निगमले पनि पहिलो उडान गरेको थियो। तीन सय २८ रोपनी क्षेत्रमा निर्माण भएको विमानस्थलमा ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग छ। यो विमानस्थल ०५८ देखि नै निर्माण प्रक्रिया थालिए पनि ०६७ मा मात्र तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका थिए। १ फागुन ०७८ मा खनालले नै उद्घाटन गरेका थिए।
याे पनि पढ्नुहाेस् : अर्बौँ लगानी भएका २० विमानस्थल बेवारिसे