कांग्रेसकाे १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु

सभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवार हुन कति शुल्क लाग्छ ?

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

कांग्रेसकाे १५औँ महाधिवेशनबाट भावी नेतृत्व चयनका लागि मंगलबार बिहानदेखि मनोनयन दर्ता प्रकृया सुरु भएको छ । सभागृहमा जारी महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारहरुले फारम भरेर उम्मेदवारी दिन सुरु गरेका छन् । 

दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित भएपछि मंगलबार दिउँसो साढे ४ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध, साढे ५ बजेदेखि साढे ६ बजेसम्म दाबी–विरोधउपर जाँचबुझ र बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन समितिको कार्यतालिका छ ।

बुधबार बिहान ९ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारी सच्याउन निवेदन दिने समय दिइएको छ । बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि दिनभर उम्मेदवारलाई प्रचारप्रसारका लागि समय दिइएको छ । बिहीबार बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । खुलामञ्च, राष्ट्रिय सभा गृह र प्रज्ञा भवनमा मतदानस्थल तोकिएको छ ।

राष्ट्रिय सभागृहमा मतदान केन्द्र (क) तोकिएको छ । जहाँ बागमती प्रदेशभित्रका मतदाताले मतदान गर्न पाउनेछन् । मतदान केन्द्र (ख) अर्थात् खुलामञ्चमा कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा भ्रातृ एवं शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट प्रतिनिधिले मतदान गर्न पाउनेछन् । मतदान केन्द्र (ग) अर्थात् प्रज्ञा भवनमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्न पाउनेछन् । मतदान सम्पन्न भएपछि मतगणना गरिने र निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले बताए ।

सभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवार हुन कति शुल्क ?
सभापतिका लागि उम्मेदवारी दर्ता गर्न ४० हजार रुपैयाँ शुल्क लाग्नेछ । उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार केन्द्रीय सदस्यका लागि ११ हजार मनोनयन दस्तुर तोकिएको छ । सभापति पदका लागि प्रस्तावक र समर्थक १०–१० जना हुनुपर्नेछ । उपसभापति र महामन्त्रीका लागि समर्थक र प्रस्ताव सात–सातजना, सहमहामन्त्रीका लागि प्रस्तावक र समर्थक पाँच–पाँचजना तथा सदस्यका लागि प्रस्तावक र समर्थक तीन–तीनजना हुनुपर्नेछ । समर्थक र प्रस्तावको नाम, थर, ठेगाना र मतदाता क्रमसंख्या र दस्तखत मनोनयनपत्रमा अनिवार्य उल्लेख हुनुपर्नेछ ।

मनोनयन दर्ता गर्दा पैसा जम्मा गरेको भौचर, निरन्तर क्रियाशील सदस्यता रहेको सिफारिस, फोटोसहितको परिचयपत्र, महाधिवेशन प्रतिनिधिको निर्वाचित प्रमाणपत्र मनोनयन पत्रसाथ संलग्न गर्नुपर्नेछ । वारेसमार्फत पनि मनोनयन दर्ताको सुविधा दिइएको छ । जसका लागि वारेसनामा र वारेसको नेपाली नागरिकताको फोटोकपी संलग्न गर्नुपर्नेछ । आफूले उम्मेदवार हुन चाहेको पदका लागि सोही पदमा अर्को व्यक्तिको हकमा प्रस्ताव र समर्थक हुन नपाइने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

सुझावित समाचार