कांग्रेसकाे जारी १५औँ महाधिवेशन अन्तर्गत सभापतिमा गगनकुमार थापा निर्विकल्पजस्तै देखिएका छन् । यद्यपि, बर्दियाका किशोरसिंह राठौर र काठमाडौंका श्यामकृष्ण खड्गीले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
तर, राठौरको अहिलेसम्म प्रतिनिधिमै टुंगो लागेको छैन । खड्गी यसअघि केन्द्रीय सदस्यसमेत छैनन् । त्यस्तै, कांग्रेसले पहिलोपटक वरिष्ठ उपसभापतिको व्यवस्था गरेको हो । जानकारहरूका अनुसार अहिलेका उपसभापति विश्वप्रकाश शर्मा त्यसमा निश्चितजस्तै छैनन् । यो पदका लागि कसैले दाबी गरेका छैनन् ।
उपसभापति : खुला उपसभापतिमा चन्द्र भण्डारी, ज्ञानेन्द्र कार्की, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, दीपक गिरीको चर्चा छ । एक महिला उपसभापतिमा पुष्पा भुसाल र सुजाता कोइरालाको दाबी रहेको स्रोतको भनाइ छ । एक समावेशी उपसभापतिमा विनोद चौधरी, भीष्मराज आङ्देम्बे, फरमुल्लाह मन्सुर, जीवन परियारलगायत आकांक्षी छन् ।
महामन्त्री : अहिलेका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे दोहोरिने तयारीमा छन् । उनीहरूसँग खुलातर्फ उदयशमशेर राणा, देवराज चालिसे, नैनसिंह महर, सुनील शर्मा, मधु आचार्य, रञ्जित कर्ण, अमरसिंह पुन, आङगेलु शेर्पा, शंकर तिवारी र मीन विश्वकर्माले प्रतिस्पर्धा गर्ने बताएका छन् । महिला महामन्त्रीमा डिला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय ‘डिना’ र रिता खनालले दाबी गरेका छन् ।
सहमहामन्त्री : १५ सहमहामन्त्रीमध्ये दुई खुला र नौ क्लस्टरबाट ११ निर्वाचित हुने व्यवस्था छ । यसमा २३ भन्दा बढीले त घोषणा नै गरिसकेका छन् । उम्मेदवार थपिने अझै सम्भावना छ । अहिलेसम्म बहादुरसिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, प्रकाश स्नेही, मुक्ताकुमारी यादव, महेन्द्र यादव, तेजुलाल चौधरी, अभिषेकप्रताप शाह, रामहरि खतिवडा, सीता गुरुङ, प्रतिमा गौतम, मनोजमणि आचार्य, जनकराज गिरी, अजयबाबु सिवाकोटी, मनीष मिश्र, जीवनबहादुर शाही, फिरदोष आलम, ईश्वरी न्यौपाने, नानु बाँस्तोला, अब्दुल सतार, योगेश गौचन, ओमबहादुर घर्तीलगायतले सहमहामन्त्रीमा दाबीसहित उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।