धनगढी/ कैलालीको धनगढीमा चट्याङ लागेर सातजना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका–१७, धुर्चन्नाका खुशीलाल चौधरीको घरको छत नजिक सोमबार राति चट्याङ परेको हो ।
चट्याङको झिल्का लागेर सात वर्षीय शिशिर चौधरी, १३ वर्षीया सृष्टी चौधरी, १४ वर्षीया रेनुका चौधरी, १७वर्षीया आयुसरा चौधरी, ३५ वर्षीया जानकी चौधरी र ५५ वर्षीया बाग्मती चौधरी घाइते भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राति ११ बजेको समयमा घर नजिकै परेको चट्याङको झिल्का लागेर उनीहरु घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए । चट्याङ परेका बेला उनीहरु घरको छतमा थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये पाँचजना एउटै घरका र दुई जना छिमेकी हुन् । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए ।