सोमबार पनि सेयरबजारमा गिरावट आएको छ। नेप्से परिसूचक १३.८८ अंक (०.५३ प्रतिशत)ले घटेर दुई हजार ५८१.२१ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले घटेको छ।
आज ३३२ कम्पनीका ९१ लाख ६७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन चार अर्ब ४४ करोडभन्दा बढीको सेयर कारोबार भएको थियो।
आज व्यापारबाहेक नेप्सेका सबै समूहको सूचकमा गिरावट आएको छ। व्यापार समूह ०.५७ प्रतिशतले बढ्दा होटेल तथा पर्यटन र जीवन बिमा सर्वाधिक एक प्रतिशतभन्दा बढीले घटेका छन्।
बजार घटे पनि एसवाई प्यानलका लगानीकर्ताले ९.९९ प्रतिशत आर्जन गरेका छन्। सिवाइसी नेपाल लघुवित्त र पिअर इनर्जीको सेयर मूल्य पाँच प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।
सर्वाधिक गुमाउनेमा भने तीन लघुवित्तका लगानीकर्ता छन्। मानुषी लघुवित्त ६ तथा लक्ष्मी लघुवित्त र स्वस्तिक लघुवित्त पाँच प्रतिशतभन्दा धेरैले ओरालो लागेका हुन्।