कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या आएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत गाउँपालिकाको करिब १४ सय रोपनी क्षेत्रफलमा आँपको ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने योजना छ। गाउँपालिकाको सिधुवा, बञ्चरे, पाथीभरा, पिल्ले, कर्कले, मार्से, खाम्नेरा, ताम्लिङ तथा हात्तीखर्कको तल्लो क्षेत्रमा आँप उत्पादनको सम्भावना रहेको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बताए।
ज्ञान केन्द्रले गत मंसिर १० गते सार्वजनिक सूचना जारी गर्दै आँपको ब्लक कार्यक्रम सञ्चालनका लागि निवेदन आह्वान गरेको थियो। तर, कुनै निवेदन परेन। १५ दिनको म्याद सकिँदा पनि कुनै निवेदन नपरेपछि पुनः केही दिनका लागि म्याद थप्ने तयारी गरिएको निमित्त प्रमुख रानाले बताए।
कार्यालयले आँप खेतीको लागि कृषि समूह, कृषि सहकारी, जल तथा वन उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको थियो। तर, कुनै निवेदन नपर्दा कार्यक्रम नै अन्याेलमा परेको कार्यालयले जनाएको छ। कार्यक्रम सञ्चालनका लागि कृषि शाखामार्फत कृषक समूहसम्म जानकारी पठाए पनि खेती गर्न धेरै जग्गा आवश्यक पर्ने भएकाले उक्त कार्यक्रम सञ्चालन गर्नका लागि थप छलफल गर्न आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए।
पालिकाको विभिन्न सामुदायिक वनमा खाली जग्गा भएकाले आँप खेतीका लागि पालिकाले अध्ययन गरिरहेको छ। बिरुवा र प्राविधिक सहयोग गरेर आँप प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष सुब्बाले बताए। कृषि ज्ञान केन्द्रले गाउँपालिकाको वडा नं. ३, ४ र ५ नम्बर वडाको तल्लो क्षेत्रमा कार्यक्रम सञ्चालको तयारी गरेको छ। वडाले भने आँपखेती सञ्चालनको मोडल स्पष्ट नभएकाले किसान र सरकारी निकायहरूसँग समन्वय गरेर लगानीको मोडल र प्राविधिक विषयमा बुझ्ने कार्य भइरहेको वडा नं. ४ का वडाध्यक्ष टेकबहादुर घिसिङले बताए।