नेकपा एमालेको बिहीबार सकिएको ११औँ राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४बुँदे प्रस्ताव पारित गरेको छ। महाधिवेशनको बन्दसत्रले तत्कालीन उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा प्रस्ताव लेखन कमिटी गठन गरेको थियो। महाधिवेशन समापनका अवसरमा ज्ञवालीले प्रस्ताव पेस गर्दै एमाले देशको विकास र समृद्धिका लागि नवयुवासँग अझ सार्थक संवाद गर्न तयार रहेको बताएका छन्।
एमाले युवाहरूको सरोकारलाई ग्रहण गर्न र सहकार्यका साथ अगाडि बढ्न सदैव तत्पर रहेको ज्ञवालीले उल्लेख गरेका छन् । ‘पार्टीले संगठनात्मक संरचनाहरूमा युवा सहभागिता बढाउन विभिन्न निर्णयहरू गर्दै अगाडि बढेको छ,’ प्रस्तावमा भनिएको छ, ‘सरकारमा रहँदा उद्यमशीलता, सिप विकास र बजार शृंखलाको इकोसिस्टम निर्माण गर्न, स्टार्टअपमार्फत नवप्रवर्तनको विकासलगायत क्षेत्रमा कदम चाल्दै आएको छ।’
एमालेले युवाहरूलाई सार्थक संवादमा आउन पनि आग्रह गरेको छ।नवयुवाहरूलाई लक्षित गर्दै एमालेले भनेको छ, ‘आफूहरूलाई सबै प्रकारका हिंसा र विध्वंसबाट अलग राख्नुहोस् । शान्तिपूर्ण आन्दोलनको अपहरण गरेर देशलाई दहन गर्ने अपराधीहरूको पहिचान गर्नुहोस् र राजनीतिक दलहरूसँग सार्थक संवादमा आउनुहोस् । हामी पुनर्स्थापना हुने संसदमार्फत युवाहरूका मागहरू संवैधानिक बाटोबाट सम्बाेध गर्ने प्रतिबद्ध छौँ ।’
एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार काण्डको छानबिन र गहिरो अनुसन्धानका लागि माग गरेको छ। दोषी देखिएकाहरूलाई कानुनबमोजिम कारबाही गर्न पनि माग गरेको छ । राज्यका अख्तियाप्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गरे एमालेकाे उक्त कार्यमा सहयोग रहने प्रस्तावमा उल्लेख छ। विषम परिस्थितिबीच पनि पार्टीको ११औँ महाधिवेशन भव्य रूपमा आयोजना हुनु पार्टीको प्रतिरोधी क्षमता बलियो र जनाधार मजबुद भएको प्रमाण भएको एमालेको प्रस्तावमा उल्लेख छ ।
‘यो महाधिवेशन संकटको घडीमा पार्टीलाई जोगाउन, जगाउन र सुदृढ बनाउन योगदान गर्नुहुने सबै नेता, कार्यकर्ता तथा न्यायप्रेमी जनसमुदायप्रति आभार व्यक्त गर्दछ,’ प्रस्तावमा भनिएको छ, ‘सिंगाे पार्टीपंक्तिलाई अविचलित, दृढ र एकताबद्ध भएर अगाडि बढ्दै निर्णायक राष्ट्रिय शक्ति निर्माण, हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य भन्ने मूल नारालाई साकार पार्न आह्वान गर्दछ।’
महाधिवेशनले पास गरेको प्रस्तावमा आन्तरिक र बाह्य बसाइँसराइको तीव्र गतिले गाउँघरहरू रित्तिन थालेकोप्रति चिन्ता प्रकट गरिएको छ । एमालेले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिनको माग गरेको छ । घटना छानबिनका लागि पूर्वाग्रही र दूषित सोचयुक्त व्यक्तिको नेतृत्वमा नभई दक्ष, विज्ञ र निष्पक्ष आयोग गठनको माग एमालेले गरेको छ ।