१८ र १९ असोजमा आएको बाढीपहिरोले इलाममा मानवीयसँगै ठुलो भौतिक क्षति भएपछि संघीय सरकारले २३ असोजमा इलामलाई विपत् संकटग्रस्त जिल्ला घोषणा गर्यो । तर, संकटकाल घोषणा गरेको दुई महिना बित्दा पनि पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढाइएको छैन ।
प्राकृतिक विपत्तिले क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि मात्र ६ अर्ब ९५ करोड लाग्ने प्रारम्भिक मूल्यांकन गरेर सडक डिभिजन इलामले सडक विभागमार्फत बजेट माग गरेको थियो । तर, संकटग्रस्त जिल्ला घोषणा गरी तत्काल पुनर्स्थापना तथा पुनर्निर्माणलाई अघि बढाउने भनेको सरकारले हालसम्म बजेट दिएको छैन । सरकारले बजेट नपठाउँदा पहिरोले क्षतविक्षत भएका सडक तथा पुल पुनर्निर्माण गर्न नसकिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।
डिभिजन कार्यालय इलामले इलाम र पाँचथरका केही सडक हेर्दै आएको छ । विभागअन्तर्गत मेची राजमार्ग, मेची करिडोर, फिक्कल–श्रीअन्तु सडक र मेची राजमार्गको वैकल्पिक सडक सिमल गोलाई–तिल्केनी सडक पर्छन् । पाँचथरमा मेची राजमार्ग र मध्यपहाडी राजमार्ग हेर्दै आएका डिभिजन प्रमुख भट्टराईले जानकारी दिए । प्राकृतिक विपत्पछि १३ दिन लगाएर मूल्यांकन गर्दा ६ अर्ब ९५ करोडको क्षति भएको प्रारम्भिक मूल्यांकन गरेर विभाग पठाएको उनले बताए । तर, विभागले भने अर्थ मन्त्रालयमा एक अर्ब ५० करोड क्षतिको विवरण मात्र पठाएको छ । ‘विभागले विपत्को केही दिनमा फोनमार्फत विवरण लिएको थियो । मेची राजमार्गमा मात्र करिब तीन अर्बको क्षति भएको प्रारम्भिक विवरण पठाएका थियौँ । तर, त्यो वेला सबै विवरण संकलन भएको थिएन,’ उनले भने, ‘विभागले त्यही वेला अन्य सडक छाडेर डेढ अर्बको मात्र विवरण अर्थ मन्त्रालय पठाएछ ।’ मन्त्रालयले चुनाव र जेन–जी आन्दोलनमा भएको क्षतिग्रस्त संरचना मर्मत तथा पुनर्निर्माण, राहत तथा क्षतिपूर्ति र प्रतिनिधिसभा निर्वाचनका कारण पुनर्निर्माणका लागि बजेट नपठाउँदा आउने बर्खामा झनै जोखिम बढेको हो ।
अर्थ मन्त्रालयले ८ मंसिरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सिफारिस भएका आयोजनामध्ये यसपटकको प्राकृतिक विपत्का कारण प्रभावित भएका आयोजना मात्र छन् भन्ने सुनिश्चितता गर्न आग्रह गरेको थियो । त्यस्तै, पत्रमा विपत्बाट प्रभावित भएका आयोजनाको चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुन सक्ने कामको लागत अनुमान गरेर मात्र बजेट आवश्यकता उल्लेख गर्न आग्रह गरेको थियो । यहीबमोजिम तत्काल आवश्यक र चालू आर्थिक वर्षमा काम हुन सक्ने गरी ७५ करोड रुपैयाँको प्रारम्भिक बजेट अनुमान गरेर पठाइएको सडक डिभिजन इलामका प्रमुख भट्टराईले जानकारी दिए । ‘७५ करोडले तत्काल रोकथाम गर्न सकिन्छ,’ उनले भने, ‘तर, यही पैसा फागुनमा आउँदा काम गर्न सक्ने अवस्था छैन । जति ढिला हुन्छ, त्यति खर्च गर्न सक्ने, खर्च गर्ने अवस्था रहँदैन ।’ यद्यपि, हालसम्म बजेट नआउँदा पुनर्निर्माणका ठेक्का प्रक्रिया अघि बढ्न नसकेको उनले बताए।
यो वर्ष काम अघि नबढे बर्खामा सडक सञ्जाल टुट्नुका साथै मानवीय क्षतिको पनि सम्भावना रहेको उनको भनाइ छ । ‘मेची राजमार्गको धोबीधारादेखि मिलगोलाईसम्मको खण्ड अत्यन्तै जोखिम छ । ठाउँ–ठाउँमा झरेको पहिरो पन्छाएर अहिले अस्थायी रूपमा सवारी चलाएका छौँ । सडकमाथि रहेका घर पनि जोखिममा छन् । बर्खाअगावै नबनाउने हो भने सडक सञ्जाल टुट्नुका साथै मानवीय क्षतिको सम्भावना पनि छ,’ उनले भने, ‘इलाम सदरमुकामदेखि तल रहेको राजदुवाली खण्डमा ३५–४० वर्षदेखिको समस्या हो । चार–पाँच वर्षदेखि सडक भासिने, पहिरो जाने समस्या भइरहेको छ । यसलाई स्थायी समाधान गर्न निकै गाह्रो छ । यसका लागि जियो टेक्निकल अध्ययन गरिरहेका छौँ । फाइनल रिपोर्ट आएको छैन ।’ तसर्थ वैकल्पिक सडक निर्माणमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । राजदुवाली खण्डको वैकल्पिक सडक समलगोलाई–तिलकेनीको १२ किलोमिटर सडक हुने उनले बताए । जोगमाई खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने उनको भनाइ छ । यद्यपि, यहाँ पनि साना तथा मझौला सवारी मात्र आवतजावत हुन सक्छ । यस्तै, मेची करिडोर पनि वैकल्पिक सडक बन्न सक्ने उनले बताए । त्यसका लागि पहिरोले क्षति पुर्याएका विभिन्न ठाउँमा पुनर्निर्माणसँगै पुवा खोलामा तत्काल बेलिब्रिज जडान गर्नुपर्ने सडक डिभिजन इलाम प्रमुख भट्टराईले जानकारी दिए । मेची करिडोरको बेलासे पुलसमेत बाढीले भाँचिएको छ ।
यस्तै, सडक डिभिजन इलाममातहत रहेको फिक्कल–श्रीअन्तु सडकको केही ठाउँमा पहिरो गएको छ । पहिरो पन्छाएर साना सवारी आवागमन भए पनि ठुला सवारी सञ्चालन हुन नसकेको भट्टराईले बताए । ‘श्रीअन्तु पर्यटकीय स्थल हो । त्यहाँ ठुला पर्यटन बस पनि जानुपर्ने हुन्छ । तर, अहिले जान सक्ने अवस्था छैन,’ उनले भने, ‘ठुला सवारी जान नसक्दा पर्यटन व्यवसाय नै धरापमा परेको त्यहाँका व्यवसायीले दुखेसो गरिरहनुभएको छ । त्यहाँ अहिले मर्मत गर्न सकिएन भने अर्को वर्ष थप क्षति भएर कनेक्सन टुट्ने अवस्था छ ।’
यस्तै, सडक डिभिजन इलामअन्तर्गतकै पाँचथर जिल्लामा पर्ने मध्यपहाडी लोकमार्गको तेह्रथुम र पाँचथर जोड्ने तमोर खोलाको पुलसमेत तीव्र कटानका कारण क्षति सुरु भएको उनले बताए । मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथरको थर्पु बजारनजिक सडक पहिरोले क्षति पुगेको डिभिजन प्रमुख भट्टराईले जानकारी दिए ।