नेकपा एमालेको महासचिवका उम्मेदवार रहेका नेता सुरेन्द्र पाण्डेले महाधिवेशन स्थलको माहोलले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, खुलापन र उत्साह झल्काएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पाण्डेले महाधिवेशनमा देखिएको वातावरणप्रति गर्व लागेको उल्लेख गरेका छन्। उनले चुनावी प्रक्रियाले महाधिवेशनको माहोल नै परिवर्तन गरिदिएको, खुला छलफल भइरहेको र फरक मतहरू आत्मविश्वासका साथ व्यक्त भइरहेका उल्लेख गरेका छन्।
‘यहाँ डर होइन, विवेकले बोलिरहेको छ, दबाब होइन विश्वासले निर्णय लिँदै छ,’ पाण्डेले लेखेका छन्। उनले यो क्षण कुनै एक व्यक्तिको पक्ष वा विपक्षमा नभई पार्टीको सामूहिक भविष्यप्रतिको जिम्मेवारीको क्षण भएको स्पष्ट पारेका छन्।
पाण्डेले हजारौँ कार्यकर्ताको स्वविवेकबाट बनेको यही वातावरण नै एमालेको वास्तविक शक्ति भएको उल्लेख गर्दै यस किसिमका लोकतान्त्रिक मूल्यहरू जोगाउन आवश्यक रहेको बताएका छन्।