जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले तीन सय सार्वजनिक सवारीसाधनबाट ४६७ वटा अतिरिक्त (अवैध) सिट तथा ‘ग्याप सिट’ हटाएको छ । साप्ताहिक अभियान थालेको प्रहरीले पाँच दिनमा अतिरिक्त सिट हटाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए । ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले साप्ताहिक अभियान थालेको उनको भनाइ छ ।
साप्ताहिक अभियानअन्तर्गत बाँके ट्राफिकले अतिरक्त सिट हटाउने, मोटरसाइकलको वास्तविक आवाज मोडिफाई गरी ध्वनि प्रदूषण गर्नेलाई नियमन गर्नुका साथै ट्राफिक सचेतना फैलाउँदै आएको उनले बताए । ‘अतिरिक्त सिट तथा ग्याप सिट राखेका सार्वजनिक सवारीसाधनका चालक र सवारीधनीलाई एकपटकका लागि सम्झाइ–बुझाइ गरी पठाएका छौँ,’ उनले भने, ‘फेरि राखेको पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ ।’
ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउन विशेष अभियान थालेको ट्राफिक प्रहरीले दुई महिनाको अवधिमा आफूखुसी नम्बरप्लेट परिवर्तन गरी सञ्चलन गरेका ७१ वटा इभी गाडीलाई कारबाही गरेको छ । ‘ट्राफिक नियम उल्लंघन गर्ने १७ वटा इभी गाडीलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय नेपालगन्जमा पठाएका छौँ । कारबाहीबाट एक लाख सत्तरी हजार रुपैयाँ राजस्व संकलन भएको छ,’ उनले भने ।
ध्वनि प्रदूषण गर्ने र सर्वसाधारणमा आतंक सिर्जना गर्ने ४१ वटा मोटरसाइकललाई कारबाही गरी मोडिफाई गरिएको साइलेन्सर हटाउन लगाएको शाहीले बताए । ‘मोटरसाइकलको वास्तविक आवाजलाई मोडिफाई गरी चर्को आवाज बनाएको पाइएपछि कारबाही गरिएको छ,’ उनले भने ।
शाहीले ५२ वटा यात्रुवाहक सवारीसाधनलाई भाडादर टाँस्न लगाएको जानकारी दिए । ‘नम्बरप्लेट नभएका र स्पष्ट नदेखिने एक सय २६ वटा सवारीसाधनलाई नम्बरप्लेट लेख्न लगाएका छौँ,’ उनले भने,’ आफूखुसी मानिस झुन्ड्याउन बनाइएका फलामको डन्डी हटाउन लगाइएको छ ।’ ओभरलोड बोक्ने १३ वटा सवारीसाधनलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । ‘एक हजार १३२ वटा साइकल तथा अन्य यान्त्रिक सवारीसाधनमा रातको समयमा टल्कने रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको छ,’ उनले भने ।