निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन आह्वान गरेको छ। आयोगका प्रवक्ता नारायण भट्टराईले सोमबार सूचना प्रकाशित गरी ५ मंसिरसम्म देशभरबाट संकलित मतदाता नामावलीको प्रारम्भिक नामावली वेबसाइटमार्फत सार्वजनिक गर्दै त्रुटि भए सच्याउन आह्वान गरेका हुन्।
आयोगले त्रुटि सच्याउन मंसिर २६ गतेसम्म अनलाइन प्रणालीबाट निवेदन, दाबी विरोध र उजुरी दिन भनेको छ। नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र नाम कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने’लगायतका कार्यहरु गर्न सकिने सूचनामा उल्लेख छ।
प्राप्त निवेदन, सूचनाबमोजिम मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ। प्राप्त गुनासा, उजुरी वा सूचनाहरुका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी १५ पुसमा सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने प्रवक्ता भट्टराईले बताए।
५ मंसिरसम्म ८ लाख ३७ हजार ९४ जनाले मतदाता बन्न आवेदन दिएका छन्। जाँचबुझबाट अन्तिम नामावली प्रकाशन भएपछि कति थपिए भन्ने यकिन हुने आयोगले जनाएको छ। यसअघि १६ कात्तिक ०८२ सम्म १ लाख ८१ हजार ६८ हजार २३० मतदाता थिए।
आयोगले मतदाताको सहजताका लागि तोकिएको मापदण्ड र प्रक्रियाबमोजिम जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिससमेतका आधारमा आयोगबाट केही मतदान स्थलहरू पुनरावलोकन गरिएको भन्दै आफूले मतदान गर्ने मतदानस्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदान स्थलमध्ये आफूलाई पायक पर्ने मतदान स्थल छनोटका लागि अनलाइन वा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन गर्न भनेको छ।
यसैगरी आयोगले २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट मिति (कट अफ डेट) २० फागुनसम्म तोकेको छ। यसअवधिसम्म १८ वर्ष उमेर पुग्ने मतदाताहरुले मतदान गर्न पाउनेछन्।