काठमाडौं महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत अहिलेसम्म ५५ किलोमिटर सडक कालोपत्रे भएको छ । तीन वर्ष नियमित चल्ने कार्यक्रमको लागत दुई अर्ब ५२ करोड ४७ लाख रुपैयाँ हो ।
पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउने यो कार्यक्रममा हरेक वर्ष करिब एक अर्ब खर्च हुने अनुमान छ । वडाबाट प्राप्त मागका आधारमा सार्वजनिक निर्माण विभागबाट सञ्चालन हुने कार्यक्रममा सडकका खाल्टाखुल्टी पुर्ने, मर्मत गर्ने, कालोपत्रे तथा आवश्यकताका आधारमा ढलान गर्ने, ढल मर्मत गर्नेजस्ता काम हुन्छन् । यो काममा दुई अर्ब ९९ करोड ९९ लाख लागत अनुमान गरिएको थियो । काठमाडौंलाई चार भागमा बाँडेर आयोजना सञ्चालनमा छ ।
यसमध्येको पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२ गरी सातवटा वडा पर्छन् । यी वडामा काम गर्न करिब ९० करोड लागत अनुमान थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रहेको छ । वर्ल्डवाइड-कोहीनुर-रमिता जेभीसँग ०८३ असार मसान्तसम्मको सम्झौता छ ।
वरिष्ठ इन्जिनियर सन्दीप ढकालका अनुसार अहिलेसम्म १८ किलोमिटर सडक कालोपत्रे र ३.५ किलोमिटर सडक ढलान गरिएको छ । यसअन्तर्गत वडा नम्बर ६ को सिमलटार, पाटीटार नयाँ बस्ती, तीनचुली आरुबारी हुँदै बौद्धसम्मको भित्री सडक कालोपत्रे गरिएको छ ।
वडा नम्बर ९ को बत्तीसपुतली क्षेत्रका सडक, वडा नम्बर ३२ का महादेवस्थान कोटेश्वर, बालकुमारी पुलदेखि दोभान पुलसम्म करिडोर, पेप्सीकोला प्लानिङभित्रका सडकहरू कालोपत्रे गरिएका छन् । यस्तै सूर्यकोट र गैरी गाउँका विभिन्न भित्री सडक कालोपत्रे गरी सकिएको छ ।
पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन् । यस क्षेत्रका लागि पिआर के एन्ड केजी एन्ड अम्बुजासँग ६५ करोड ५७ लाख रुपैयाँमा सम्झौता भएको छ । यस क्षेत्रका लागि ७४ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । निर्माण पक्षलाई ०८२ वैशाख ४ गते कार्यादेश दिइएको छ । यो कामको म्याद २०८४ वैशाख मसान्तसम्म रहेको छ ।