विरोधका बिच हेटौँडा बजारमा सुरु भयो सडक विस्तारको काम

सडक किनारका संरचना हटाउन दिएको १५ दिनको समय सकिएकै दिन प्रशासनले चलायो डोजर

आइतबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

लामो समयदेखि अदालती प्रक्रिया र विभिन्न अवरोधका कारण रोकिएको हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्य सुरु भएको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा बजार क्षेत्रको सडक विस्तारका लागि शनिबार बिहान ५ बजेबाट सडक डिभिजन कार्यालयले डोजर चलाएको हो ।

त्रिभुवन राजपथ र पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) क्षेत्रको २५/२५ गज (२२.५ मिटर)मा निर्माण भएका संरचना हटाउन कार्यालयले जेसिबी प्रयोग गरेको हो । हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटेदेखि बुद्ध चोकबाट राप्ती पुलसम्म (महेन्दद्र राजमार्ग) र बुद्ध चोकदेखि चौकीटोल हुँदै सामरी पुलसम्म (त्रिभुवन राजपथ)को ९.५ किलोमिटर क्षेत्रमा सडकको दायाँ–बायाँ २५/२५ गज (७५ फिट) क्षेत्र खाली गराउने अभियानअन्तर्गत घर–टहरा भत्काउन थालिएको हो ।

सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले ५ मंसिरमा सडक सीमाक्षेत्रमा निर्माण भएका संरचना हटाउन १५ दिने अल्टिमेटमसहितको सूचना जारी गरेको थियो । जसअनुसार १९ मंसिरमा सूचनाको म्याद सकिएसँगै शनिबार बिहानबाट प्रशासनको सुरक्षा घेराभित्रबाट सडक सीमा खाली गराउन जेसिवी प्रयोग गरिएको हो ।

सडक डिभिजन कार्यालय हेटौँडाले ०७३, ०७६, ०८० र ०८२ मा पटक–पटक सूचना जारी गरे पनि स्थानीय घरधनीहरूले अदालतबाट ‘स्टे अर्डर’ ल्याएकाले विस्तार कार्य रोकिँदै आएको थियो । तर, १७ पुस ०८० मा सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सो क्षेत्र राष्ट्रिय राजमार्ग (२५ गज)भित्र पर्ने र मुआब्जा तथा क्षतिपूर्ति दिनुनपर्ने फैसला गरेपछि सडक विस्तारको काम अघि बढाउन सहज भएको हो । सोही फैसलाको जगमा टेकेर सडक विभागले गत ५ मंसिरमा १५ दिने सूचना जारी गरेको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख इन्जिनियर गुरुप्रसाद अधिकारीले जानकारी दिए । 

हेटौँडा– २ स्थित पिपलबोटदेखि उद्योग वाणिज्य संघसम्मको क्षेत्रको केही घर भने भत्काइएको छैन । सडक विस्तारको अन्तिम तयारी भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वसांसद विन्दबासिनी कंसाकारसहित ६ जनाले सर्वोच्चमा उत्प्रेषणको रिट दायर गरेको थियो । रिटमा शुक्रबार मात्रै न्यायाधीश मेघराज पोखरेलको इजलासले ती ६ जनाको हकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेका कारण सो क्षेत्रमा कुनै काम गरिएको छैन । सो क्षेत्रमा रहेका घरटहरा हटाउन २६ मंसिरसम्म कुर्ने प्रशासनको तयारी छ । सर्वोच्चले छलफलका लागि पेसी तोकेकाले सो दिनसम्म काम रोकिएको हो ।

सडकछेउका ५३१ घरटहरा भत्काइने
रातोमाटेदेखि सामरी पुल र बुद्धचोकदेखि राप्ती पुलसम्मका ५३१ घरटहरा भत्काउने काम जारी छ । हेटौँडा बजारक्षेत्रको उत्तरतर्फ चौकीटोल ओरालो, दक्षिण तर्फ एचआइडी, रातोमाटेसम्म, पूर्वमा राप्ती रोडसम्मका संरचना जेसिबी प्रयोग गरेर भत्काइएको छ । सडक विस्तार कार्यलाई निर्वाध रूपमा अघि बढाउन प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । बजार क्षेत्र भएर चल्ने सवारीसाधनलाई वैकल्पिक मार्गबाट डाइभर्सन गर्दै सडक सीमा खाली गराइएको हो । सडक विस्तारका लागि प्रशासनले पाँच सयभन्दा बढी जनपथ प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । सडक डिभिजन कार्यालयले ६ एक्स्काभेटर, दुईवटा जेसिबी र दुईवटा लोडर परिचालन गरेको छ । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सडक कार्यालयले राजमार्ग क्षेत्रको सडक सीमामा निर्माण भएका संरचनामा ‘टेक्निकल’ रूपमा भत्काउने काम गरेको छ । हाललाई व्यवसाय सञ्चालन भएका घरमा बोर्ड, घरको टप, झ्यालढोका तथा सटर निकालिएको उनले बताए । सडक विस्तारमा स्थानीय नै जिम्मेवार बन्नुपर्ने भएकाले केही दिन उनीहरूलाई व्यवस्थापनको काम गर्न दिने गरी योजना बनाइएको उनको भनाइ छ ।

घर संरचना र भित्र रहेका सामानमा कम क्षति हुने गरी काम गरिएको र सोहीअनुसार स्थानीयले व्यवस्थापनको काम गरेको उनले बताए । आगामी एक सातामा सबै संरचना हटाउने गरी योजना तयार गरेको र स्थानीयबाट पनि सोहीअनुसारको सहयोग प्राप्त भएको अधिकारीको भनाइ छ । घर संरचना भत्काउन समस्या हुने व्यक्तिहरूलाई सडक कार्यालयले आवश्यक सहयोग गर्ने गरी व्यवस्थापनमा सहयोग गरिने उनले बताए । घर आवास तथा सम्पत्तिसम्बन्धी अधिकारसमेत नरहने व्यक्तिहरू तथा व्यवसायीहरूको व्यवस्थापनको हकमा स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको अधिकारीले बताए । आगामी दिनमा एसियन हाइवेको राइट अफ वेको मापदण्डअनुसार बाँकी रहेको क्षेत्रको मुआब्जा वितरणको काममा प्रशासनले काम गर्नुपर्ने उनको भनाइ छ । २६/२५ गज क्षेत्रको जग्गा स्वामित्व ग्रहण गरिसकेपछि २५ मिटर क्षेत्रका लागि बाँकी रहेको सात फिट जग्गा अधिग्रहण गर्ने गरी सार्वजनिक सूचना जारी गरिने उनले बताए । त्यसपछि भत्किएका संरचना व्यवस्थापन सकेर पुनर्निर्माणका लागि हेटौँडा बजार क्षेत्रको ९.५ किलोमिटरको मात्र छुट्टै प्याकेजमा काम गर्ने गरी भौतिक पूर्वाधार विकास मन्त्रालयमा समन्वय गरिने अधिकारीको भनाइ छ ।

सडक विस्तारसँगै ढले अशोकका रुख
बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानैदेखि सुरु भएको सडक विस्तार अभियानसँगै सहरको मुख्य पहिचान मानिँदै आएका अशोकका रुख ढलेका छन् । सडक डिभिजन कार्यालय हेटौँडाले २५ गज (२२.५ मिटर) सडक फराकिलो गर्ने कामलाई तीव्रता दिएसँगै राप्ती रोड, मेन रोड र अन्य प्रमुख स्थानका अशोकका रुखहरू भारी मेसिनरीको प्रयोग गरी ढालिएको हो । लामो समयदेखि हेटौँडाको सौन्दर्य, पहिचान र वातावरणीय समृद्धिको प्रतीक मानिने अशोकका रुखले मुख्य सहर क्षेत्रमा हरियालीको अनुभूति दिँदै आएका थिए । सहरलाई ‘ग्रिन सिटी’को उपमा दिलाउने यी वयस्क रुखहरू हटाइँदा स्थानीयवासीले वातावरणीय सन्तुलनमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म ९.५ किलोमिटर क्षेत्रमा सडकको केन्द्रविन्दुबाट दायाँ–बायाँ २५/२५ गजभित्र पर्ने संरचना हटाउने क्रममा शनिबार २५/३० वटा रुख ढलेका छन् । सडक विस्तारसँगै बाँकी रुख मासिने निश्चित छ । सडक विस्तार गर्ने अभियानअन्तर्गत ५३१ निजी तथा सरकारी संरचना हटाइँदै छ । यसअघि ५ मंसिरमा जारी गरिएको १५ दिने सूचनाअनुसार १९ मंसिरभित्र संरचना हटाउन भनिएको थियो । हेटौँडा बजारक्षेत्रको हरियालीसँगै इतिहास बोक्ने अशोकका रुख ढलेकामा वातावरणविद्ले चिन्ता व्यक्त गरेका छन् ।

विस्तारको विरोधमा टायर बालेर सडक अवरुद्ध
हेटौँडा उपमहानगरपालिकाको मुख्य बजारक्षेत्रमा सडक विस्तारलाई लिएर रास्वपाकी पूर्वसांसद विन्दवासिनी कंसाकारको परिवारले शनिबार साँझ सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत बलपूर्वक सडक विस्तार गरिएको आरोप लगाउँदै कंसाकार परिवारले त्रिभुवन राजपथअन्तर्गत हेटौंडा–२ पीपलबोटस्थित आफ्नो घर अगाडि सडकमा टायर तथा काठ जलाएर आवागमन रोक्ने प्रयास गरेको हो । कंसाकार परिवारले सडक सिमानाभित्र पर्ने संरचना हटाउन नपाउने भन्दै सर्वोच्च अदालतले जारी गरेको ‘स्टे अर्डर’ को अवहेलनामा प्रशासनले डोजर परिचालन गरेको दाबी गरेको छ । प्रशासनको व्यवहारप्रति आपत्ति जनाउँदै प्रदर्शनमा सहभागीहरूले सडकमा टायर बाल्दै नाराजुलुस गरेका थिए । जसकारण केही समय सो क्षेत्रको यातायात व्यवस्थामा अवरोध देखिएको थियो । प्रशासनले भने हेटौँडा बजारक्षेत्रमा सडक क्षेत्राधिकारभित्र पर्ने अवैध संरचना हटाउने अभियान जारी रहेको जनाएको छ । सडक विस्तारसँगै स्थानीयवासी र व्यापारीमा थप असन्तोष बढ्दै गएको छ । 

सुझावित समाचार