स्रोतमा संकुचन भई खर्च कटौतीको नीति लिएको सरकारले आफ्नो लगानीबापतको साँवा–ब्याज असुलीमा भने ध्यान पुर्याउन सकेको छैन । सरकारले सार्वजनिक संस्थान र निकायमा गरेको लगानीको साँवा–ब्याज समयमै उठाउन नसक्दा भाका नाघेको साँवा–ब्याज दोब्बरले बढेको देखिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष ०८१/८२ सम्ममा भाका नाघेको साँवा–ब्याज चार खर्ब आठ करोड २० लाख ९९ हजार दुई सय ९५ रुपैयाँ पुगेको छ । यो गत आव ०८०/८१ को तुलनामा दोब्बरले बढी हो । आव ०८०/८१ सम्म भाका नाघेको साँवा–ब्याज एक खर्ब ८१ अर्ब १५ करोड सात लाख रुपैयाँ रहेको थियो । कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले भाका नाघेको साँवा–ब्याज असुलीमा निरन्तर ताकेता गरिरहेको बताए ।
संस्थान तथा निकायले तोकिएको समयमा साँवा–ब्याज भुक्तानी नगर्दा यस्तो बक्यौता अझ बढिरहेको छ । उक्त समयसम्म भाका नाघेको साँवा दुई खर्ब ५९ अर्ब १९ करोड ९७ लाख तीन हजार एक सय २६ रुपैयाँ पुगेको छ । त्यस्तै, भाका नाघेको ब्याज एक खर्ब ४० अर्ब ८८ करोड २३ लाख ९६ हजार एक सय ६९ रुपैया पुगेको छ । जबकि, आव ०८०/८१ मा भाका नाघेको साँवा ७१ अर्ब ४३ करोड ८० लाख र ब्याज एक खर्ब नौ अर्ब ७२ करोड २६ लाख रुपैयाँ रहेको थियो । भाका नाघेको साँवा–ब्याज बढी भएका सार्वजनिक संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत रहेका छन् ।
‘लामो समयदेखिको भाका नाघेको साँवा–ब्याज रहेको छ, अझ बढिरहेको पनि छ । साँवा–ब्याज भुक्तानीमा विलम्ब गर्दा यो रकम बढिरहेको छ,’ उनले भने, ‘कतिपय संस्थान तथा निकायले ऋण तथा ब्याजको पुनर्संरचनाका लागि आग्रह गरिरहेका छन्, तर हामीले भुक्तानीका लागि ताकेता गरिरहेका छौँ ।’
साँवा–ब्याज असुली ४५ प्रतिशतले घट्यो
आव ०८०/८१ को तुलनामा आव ०८१/८२ मा साँवा र ब्याज असुली ४५ प्रतिशतले घटेको छ । आव ०८१/८२ मा सात अर्ब ९१ करोड साँवा ब्याज प्राप्ति भएको छ । जबकि, त्यसअघिको आव ०८०/८१ साँवा तथा ब्याज असुली १४ अर्ब ६२ करोड रहेको थियो ।
त्यस्तै, सरकारले गरेको लगानीबाट प्राप्त हुने लाभांशसमेत घटेको छ । आव ०८०/८१ मा ३९ अर्ब ८८ करोड रुपैयाँ लाभांश प्राप्त भएको छ । जुन अघिल्लो आवको तुलनामा १६.९ प्रतिशत अर्थात् ६ अर्ब ७२ करोड ८५ लाखले न्यून हो । आव ०८०/८१ मा ४६ अर्ब ६० करोड ८५ लाख लाभांश प्राप्त भएको कार्यालयको तथ्यांक छ ।
समीक्षा आव ०८१/८२ मा नौवटा संस्थानबाट साँवातर्फ दुई अर्ब ६२ करोड, १३ वटा संस्थानबाट ब्याजतर्फ पाँच अर्ब २९ करोड र १४ वटा संस्थानबाट नगद लाभांशबाट ३९ अर्ब ८८ करोड गरी जम्मा ४७ अर्ब ७९ करोड प्राप्त भएको छ । अघिल्लो आवमा भने कुल ६१ अर्ब ३२ करोड प्राप्त भएको थियो ।
संस्थान तथा निकायमा सरकारको लगानी सवा नौ खर्ब पुग्यो
सार्वजनिक संस्थान तथा निकायमा सरकारको सेयर तथा ऋण लगानी सेवा नौ खर्ब पुगेको छ । आर्थिक वर्ष ०८१/८२ मा सरकारले एक सय ५९ वटा सार्वजनिक संस्थान तथा निकायमा ४६ अर्ब १० करोड रुपैयाँ लगानी थपेको छ । यससँगै सरकारको कुल लगानी नौ खर्ब ३० अर्ब आठ करोड चार लाख ६८ हजार रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष ०८१/८२ सम्ममा सरकारको संस्थान तथा निकायमा पाँच अर्ब ५२ करोड रुपैयाँबराबरको सेयर लगानी तथा ४० अर्ब ५८ करोडबराबरको ऋण लगानी थपेको हो ।
सरकारको कुल सेयर लगानी एक सय १६ संस्थानमा चार खर्ब चार अर्ब ८१ करोड ४१ लाख ५८ हजार रहेको छ । सबैभन्दा बढी सेयर लगानी रहेका संस्थाहरूमा नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक रहेका छन् । आर्थिक वर्ष ०८१/८२ सम्ममा नेपाल सरकारको कुल ऋण लगानी पाँच खर्ब २६ अर्ब ६ करोड ६३ लाख १० हजार रहेको छ । जसमध्ये आन्तरिक स्रोतबाट एक खर्ब ५८ अर्ब १८ करोड २१ लाख ८४ हजार र वैदेशिक स्रोतबाट तीन खर्ब ६७ अर्ब ८८ करोड ४१ लाख २६ हजार रहेको छ । आर्थिक वर्ष ०८०/८१ सम्ममा बढी ऋण लगानी भएका संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल खानेपानी संस्थान रहेका छन् ।
साँवा–ब्याज उठाउन निरन्तर ताकेता गरिरहेका छौँ : गोपीकृष्ण कोइराला,कार्यालय प्रमुख, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
लामो समयदेखिको भाका नाघेको साँवा–ब्याज उठाउन बाँकी छ, अझ बढिरहेको पनि छ । संस्थान तथा निकायले नतिरेका कारण र कतिपय सन्दर्भमा हिसाब मिलान बाँकी भएका कारण पनि भाका नाघेको साँवा–ब्याज बढिरहेको छ । कतिपय निकायका पूर्वाधार परियोजनामा समयमा कार्यान्वयनमा नजाँदा आम्दानी हुन नसकेरसमेत साँवा–ब्याज तिर्न सकेका छैनन् । खानेपानीले तिर्न सक्ने अवस्थासमेत देखिँदैन । विद्युत् प्राधिकरणले पुनर्संरचनाका लागि आग्रह गरिरहेको छ । हामीले निरन्तर ताकेता गरिरहेका छौँ ।
