उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक गरिएको छ । बुधबार प्रज्ञा प्रतिष्ठानमा आयोजित घोषणासभामा पार्टीको घोषणापत्र सार्वजनिक गरिएको हो ।
अध्यक्ष अनुप उपाध्यायका अनुसार नेपालको संविधानको मूलभूत व्यवस्थालाई मात्मसात् गर्दै लोककल्याणकारी राज्य र उदारवादी अर्थ–व्यवस्थाको अभ्यास गर्नु उज्यालो नेपाल पार्टीको मूलभूत राजनीतिक र आर्थिक मार्गदर्शन रहनेछ । नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धन गर्दै सुशासन र सामाजिक न्यायको आधारमा प्रत्येक नागरिकको जीवनलाई समृद्ध बनाउनु पार्टीको प्राथमिक लक्ष्य हुनेछ ।
पार्टीले नागरिकको गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको हकलाई राज्यको क्षमता बढाएर अनिवार्य दायित्वको रूपमा ग्रहण गर्नेछ । साथै, राज्य, निजी क्षेत्र, सहकारी र समुदायबिच गतिशील र सन्तुलित साझेदारीमा आधारित समाजवादमुखी आर्थिक प्रणालीको अभ्यास गर्नेछ । अधिकतम स्वदेशी पुँजीलाई परिचालन गर्दै आवश्यकताका क्षेत्रमा विदेशी लगानीलाई आकर्षित गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि पार्टीले राजनीतिक शक्ति र सामर्थ्यलाई समर्पित गर्नेछ ।
राज्यको लगानीलाई औचित्यपूर्ण र परिणाममुखी बनाउनु अपरिहार्य भएकाले नेपालको प्राकृतिक भूगोल र मानवीय भूगोल सुहाउँदो योजनाबद्ध एकीकृत पूर्वाधार निर्माण एवं सामाजिक विकासको प्रणाली स्थापना गरिनेछ । नेपालको प्राकृतिक तथा जैविक विविधता र साधन–स्राेतलाई नेपाली जनताको अधिकतम हितमा उपयोग गरिनेछ ।
प्रारम्भदेखि अविछिन्न सार्वभौमसम्पन्न स्वतन्त्र राष्ट्र नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको ऐतिहासिक विरासतलाई युगौँसम्म कायम राख्नु परराष्ट्र नीतिको निर्देशक पक्ष हुनेछ । नेपालको भौगोलिक अखण्डता, राजनीतिक स्वामित्व र सामरिक स्वायत्तता सुरक्षित राख्दै राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीतिको तर्जुमा र सञ्चालन गरिनेछ । नेपालको हितमा सम्बोधन गर्न दुवै छिमेकीहरूको सम्बन्धलाई आपसी संवेदनशीलतामा हेक्का राखेर विश्वास र सहयोग वृद्धि गर्दै समनिकटता कायम गरिनेछ । विश्वका सबै मित्रराष्ट्रहरूसँग साझा हितका मामलामा सहकार्य गर्दै हाल निर्माणाधीन रहेको नयाँ विश्व व्यवस्थालाई देशको सुरक्षा र आर्थिक विकासको सुनिश्चितता अनुकूल बनाइनेछ ।
यस्तो छ पार्टीको घोषणापत्रः