जेन–जी आन्दोलनमा भएको क्षतिबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एआइजीसँग सोधपुछ गरेको छ। नेपाल प्रहरीका एआइजी सिद्धिबिक्रम शाह तथा सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेलसँग आयोगले सोमबार सोधपुछ गरेको हो।
नेपाल प्रहरीका एआइजी शाह जेन-जी आन्दोलनको समयमा प्रहरीको कार्य विभागको प्रमुख थिए। हाल उनी प्रहरी एकेडेमीका कार्यकारी निर्देशक छन्। ‘आन्दोलनका दुई दिनमा प्रहरीले कसरी काम गरेको थियो, के–के भएको थियो भनेर बुझ्न बोलाएका हौँ,’ आयोगका एक अधिकारीले भने।
त्यस्तै, सशस्त्र प्रहरीको कार्य विभागका एआइजी पौडेलसँग पनि सशस्त्र प्रहरीको परिचालनबारे सोधपुछ गरेको छ।
आयोगले आन्दोलनको समयमा फिल्डमा खटिएका प्रहरी र उनीहरूको कमाण्डरसँग सोधपुछ गरिसकेको छ। तत्कालीन प्रहरी प्रमुखहरूसँग पनि सोधपुछ गर्ने लागिएको स्रोत बताउँछ। त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखक तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको दायरामा ल्याउने तयारी आयोगको छ।