सामाजिक सुरक्षा कोषमा साढे २६ लाख व्यक्ति आबद्ध, ७८ अर्ब मौज्दात

शुक्रबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण

स्थापनाको आठ वर्षमा सामाजिक सुरक्षा कोषमा साढे २६ लाख व्यक्ति आबद्ध भएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षामा औपचारिक, अनौपचारिक, वैदेशिक रोजगारमा रहेका र स्वरोजगारसमेत गरी हालसम्म २६ लाख ४७ हजार चार सय ७१ जना आबद्ध भएका हुन् ।

११ मंसिर ०७५ मा सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा भए पनि योगदान रकम भने १ साउन ०७६ देखि संकलन सुरु भएको हो । कोषमा १० मंसिरसम्म औपचारिकतर्फबाट २२ हजार तीन सय ३२ रोजगारदाता र ६ लाख ४९ हजार पाँच सय ११ जना योगदानकर्ता आबद्ध भएका छन् । 

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका १९ लाख ९६ हजार पाँच सय ७९ जना, अनौपचारिक रोजगारीबाट सात सय ९९ जना, स्वरोजगारबाट पाँच सय ८२ जना कोषमा आबद्ध भएको कार्यालयको तथ्यांक छ । 

कोषले हालसम्म ९५ अर्ब ८६ करोड रुपैयाँ रकम संकलन गरेको छ । त्यस्तै, हालसम्म १७ अर्ब ७२ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । यसरी हेर्दा, कोषमा करिब ७७ अर्ब ९६ करोड रुपैयाँ मौज्दात रहेको देखिन्छ । औपचारिकतर्फबाट कोषमा आबद्ध हुनेमध्ये सबैभन्दा बढी प्रतिनिधित्व बागमती प्रदेशको छ । बागमतीबाट १४ हजार आठ सय ७१ रोजगारदाता र चार लाख ८४ हजार सात सय ९८ जना आबद्ध छन् । त्यस्तै, सबैभन्दा कम प्रतिनिधित्व कर्णालीबाट दुई सय ९६ जना रोजगारदाता र दुई हजार सात सय १३ जना योगदानकर्ता आबद्ध भएको कार्यालयको तथ्यांक छ । 

साथै, कोशीबाट दुई हजार चार सय ८२ रोजगारदाता र ७२ हजार आठ सय २६ जना योगदानकर्ता, मधेशबाट एक हजार दुई सय २२ रोजगारदाता र ३१ हजार सात सय ७५ योगदानकर्ता र गण्डकीबाट एक हजार दुई सय १५ रोजगारदाता तथा २७ हजार नौ सय पाँच योगदानकर्ता कोषमा आबद्ध भएका छन् । त्यस्तै, लुम्बिनीबाट एक हजार आठ सय ८२ जना रोजगारदाता र २५ हजार तीन सय १० योगदानकर्ता र सुदूरपश्चिमबाट तीन सय ६४ जना रोजगारदाता तथा चार हजार एक सय ८४ जना योगदानकर्ता कोषमा जोडिएका छन् । 
 

सुझावित समाचार