कोशी पर्यटन वर्षका योजना अलपत्र

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण
  • पर्यटन वर्ष उद्घाटन भएको पाँच महिना बितिसक्दा पनि अघि बढेन कुनै ठोस कार्यक्रम

कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षलाई ‘कोशीको गौरव, हिमालको सान : पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारासहित पर्यटन वर्षका रूपमा अघि सारेको थियो । तर, पर्यटन वर्ष उद्घाटन भएको लगभग पाँच महिना बितिसक्दा पनि ठोस कार्यक्रम अघि बढ्न नसक्दा अभियान नै अलपत्र परेको छ । 

चैत महिनामा औपचारिक रूपमा पर्यटन वर्ष उद्घाटन गरिए पनि त्यसपछि सम्बन्धित कुनै महत्वपूर्ण गतिविधि सञ्चालन हुन सकेको छैन । मन्त्रालयको व्यवस्थापन, कोठा सर्नेजस्ता आन्तरिक झन्झट र ‘जेन–जी आन्दोलन’ले पैदा गरेको वातावरणका कारण मन्त्रालयले पर्यटनसम्बन्धी काम थाल्न नसकेको पर्यटन शाखाका अधिकृत पेशलकुमार पौडेलले जानकारी दिए । उनले अहिलेसम्म बजेट कटौतीबारे हल्ला चलेका कारण पनि काम गर्न नसकिएको बताए । भर्खरै मात्र कार्यविधि बनाएर मन्त्रिपरिषदमा पठाएको समेत उनको भनाइ छ ।  पर्यटन व्यवसायी भने प्रशासनिक ढिलासुस्ती र सुरक्षासम्बन्धी अनिश्चितताले पर्यटक आगमनमा नकारात्मक असर परेको बताउँछन् । ‘जेन–जी आन्दोलन’पछि भारतीय पर्यटकमा नेपालप्रति त्रासपूर्ण वातावरण भएको र भारतबाट पर्यटक नआएको उनीहरूको गुनासो छ । 

अधिकृत पौडेलले पर्यटन वर्षका लागि पाँच करोड ४६ लाख रकम विनियोजन भएको र सो रकम बाँडफाँट गरेर पर्यटन गतिविधि सुरु गरिने बताए ।

भारतीय पर्यटकलाई सवारी चेकिङ, जरिवाना तथा अनावश्यक झन्झटले पनि निरुत्साहित बनाइरहेको छ । पहाड–हिमाल घुम्न वा शक्तिपीठ दर्शनका लागि आउने पर्यटक बाटोमा पटक–पटक रोकिएर हैरान हुने गरेको गुनासो छ । प्रचार–प्रसारमा सरकारले चासो नदिँदा भारतमा नेपालका आकर्षक गन्तव्यबारे पर्याप्त जानकारी पुर्याउन नसकिएको बताइन्छ । 

कोशी प्रदेशमा ८० पर्यटकीय गन्तव्य पहिला पहिचान गरिए पनि अहिले ८० भन्दा धेरै गन्तव्य भएकाले हटाइएको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार