माओवादी केन्द्र छाडेका नेता सुदन किराँतीले २४० वर्षको राजतन्त्र फालेका नेताहरू आफैँभित्रको सामन्तवाद र परिवारवादसँग पराजित भएको टिप्पणी गरेका छन्। आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणासभालाई सम्बोधन गर्दै नेता किराँतीले यस्तो बताएका हुन्।
‘हाम्रा ठुलाठुला नेताहरूले देशको मुक्तिको आन्दोलनमा ठुलाठुला योगदान गरे। २४० वर्षको राजतन्त्र पनि फालेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र पनि ल्याएकै हो। २४० वर्षको राजतन्त्रलाई ढाल्न सक्ने, जित्न सक्ने हाम्रा नेताहरू आफैँभित्रको परिवारतन्त्र र सामन्तवादबाट पराजय भएको यही आँखाले देख्नुपर्यो,’ उनले भने।
लोकतन्त्रलाई जनताको जीवनसम्म पुर्याउन नसकेको भन्दै किराँतीले थपे, ‘लोकतन्त्र त नेतातन्त्रमा परिणत भयो। नातातन्त्र, भ्रष्टतन्त्र र लुटतन्त्रमा परिणत भयो।’