सशस्त्र प्रहरी बलको नयाँ संरचनामा दरबन्दी थप तथा २८५ अस्थायी कार्यालय अब स्थायी हुने

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

सशस्त्र प्रहरी बल नेपालका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २१५ वटा बिओपी स्थायी हुने भएका छन् ।संगठनले हालै गरेको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण पास भएसँगै यी कार्यालयहरू स्थायी हुने भएका हुन् । पहाडी जिल्लामा रहेका आश्रित गुल्महरू स्थायी भएसँगै कानुनी र प्रशासनिक रूपमा थप जिम्मेवार हुँदै जिल्लाको शान्तिसुरक्षा कायम गर्ने कार्य प्रभावकारी हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । यसैगरी कुरिनटारमा रहेको ट्रमा सेन्टर, सातैवटा प्रदेशमा रहेका फिल्ड अस्पतालसमेत स्थायी संरचनामा सञ्चालन हुने भएका छन् ।

यसअघि सशस्त्र प्रहरी बल नेपालका १११ वटा कार्यालय मात्र स्थायी रहेकोमा यो निर्णयसँगै स्थायी कार्यालयको संख्या ३९६ वटा पुगेको डिएसपी थापाले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपालको सांगठनिक सुधार तथा केही पदको समायोजन र विभिन्न कार्यालयहरूको स्तरवृद्धि गरी नयाँ संरचना तयार गरिएको छ। संरचनामा कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १८ नीलबाराही गणको स्तरवृद्धि गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको कमान्डमा रहने गरी सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको छ । यसबाट काठमाडौं उपत्यकामा शान्तिसुरक्षा कायम गर्न थप सहजता हुनेछ ।

आठ सयजनाभन्दा बढी जनशक्ति रहने उक्त गणबाट हुल तथा दंगा व्यवस्थापनका लागि विशेष तालिम प्राप्त सुरक्षा फौज ठुलो संख्यामा एकैपटक परिचालन गर्न सहजता हुनेछ । त्यसैगरी विशिष्ट व्यक्ति, महत्त्वपूर्ण प्रतिष्ठान तथा कूटनीतिक नियोगसमेतको सुरक्षा हेर्ने गरी काठमाडौं कान्तिपथस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्मलाई गणमा स्तरोन्नति गरिएको छ । यसबाट ती निकायहरूमा सुरक्षार्थ सोही प्रकृतिका तालिमप्राप्त सुरक्षा फौज परिचालन हुनेछन् ।

यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डाक्टरको कमान्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक डाक्टरले कमान्ड गर्नेछन् । स्थायी भएसँगै ती अस्पतालबाट आमसर्वसाधारणले समेत स्वास्थ्य सेवा पाउनेछन् । यसैगरी, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको कानुन महाशाखालाई निर्देशनालयमा स्तरोन्नति गरी सशस्त्र प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप गरिएको छ । विपत् व्यवस्थापनको म्यान्डेटलाई थप प्रभावकारी बनाउनको लागि विपत् व्यवस्थापन महाशाखालाई निर्देशनालयमा स्तरवृद्धि गरी सशस्त्र प्रहरी नायब महानिरीक्षकको दरबन्दी थपिएको छ ।

नेपाल सरकारलाई कुनै थप आर्थिक भार नपर्ने गरी आन्तरिक रूपमा समायोजन गरिएका यी पदहरूसँगै जवानदेखि माथि सबै दर्जामा तीन सयजनाभन्दा बढीको वृत्तिविकास हुने सहप्रवक्ता डिएसपी थापाले बताए । यसमा लामो समयसम्म एउटै दर्जामा रहेका प्राविधिक जनशक्तिसमेत बढुवा हुनेछ । यसैगरी इन्टेलिजेन्स ब्युरोको कामकारबाहीलाई थप प्रभावकारी बनाउन अधिकृतस्तरका ३८ जनासहित सशस्त्र प्रहरी नायब महानिरीक्षकको कमान्डमा रहने गरी दरबन्दी थप गरिएको छ । ब्युरोमा अब जुनियर अधिकृत तथा सोभन्दा माथिका जनशक्ति मात्र रहनेछन् ।

जसले इन्टेलिजेन्स बेस बोर्डर सुरक्षाको अवधारणालाई थप प्रभावकारी बनाउनेछ । योसँगै सशस्त्र प्रहरी बल नेपालमा तीनजना सशस्त्र प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप भएको छ भने नं. १८ नीलबाराही गण कीर्तिपुर रेजिमेन्टको स्तरोन्नतिसँगै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको समेत दरबन्दी थप भएको छ । सशस्त्र प्रहरी बल नेपालको सांस्कृतिक तथा बाध्यवादन गुल्मलाई समेत स्तरवृद्धि गरी सांगीतिक शिक्षालय बनाई सशस्त्र प्रहरी उपरीक्षकले कमान्ड गर्ने गरी दरबन्दी समायोजन गरिएको छ । यसैगरी, सशस्त्र प्रहरी बलका १० वटा तालिम शिक्षालयहरूको असमान दरबन्दी संरचनालाई समेत समान संरचना बनाइने भएको छ ।

अब सबै शिक्षालयमा दरबन्दी संख्या एउटै हुनेछ। यसका साथै प्राविधिक समूहतर्फका बिल्लादार जवानहरू १५–१६ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यतालाई सम्बोधन गरी समायोजनको कामसमेत अघि बढाइएको छ भने १६ र १८ वर्षमा पेन्सन हुने प्रस्तावलाई समेत उच्च प्राथमिकतामा राखी छलफल अगाडि बढाइएको छ। नियमावली संशोधन, विपतमा खटिँदा मृत्यु भएमा एक तह बढुवासहित पारिवारिक निवृत्तिभरण उपलब्ध गराइने सशस्त्र प्रहरी बल नेपालको चौथो संशोधन नियमावली, २०८२ मा विपतमा खटिँदा मृत्यु भएका कर्मचारीलाई एक तह बढुवासहित पारिवारिक निवृत्तिभरण उपलब्ध गराइने व्यवस्था भएको छ ।

यसअघि सो नियमावलीको नियम ७६ को उपनियम २ मा कुनै प्रकारको सशस्त्र मुठभेड वा आक्रमण वा विस्फाेटन वा हतियारधारी समूह वा त्यस्तै अन्य समूहको समूहविरुद्धको कारबाहीमा तत्काल वा सोही कारणले मृत्यु भएमा सो सुविधा व्यवस्था भएकोमा अबउप्रान्त विपत् उद्धार कार्यमा खटिएका बखत मृत्यु भएमा समेत सोही सुविधा उपलब्ध हुनेछ ।

सुझावित समाचार