बागमती प्रदेश सरकारले निर्माण गरेको दाेलखास्थित शैलुङ गोलघर र कम्युनिटी लज औपचारिक रूपमा शैलुङ गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका संरचनालाई संरक्षण, सञ्चालन र व्यवस्थापनका लागि स्थानीय सरकारलाई जिम्मेवारीसहित हस्तान्तरण गरिएको हो।
प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले निर्माण गरेको शैलुङ गाउँपालिका– १ मा अवस्थित ‘शैलुङ गोलघर’ र वडा– ८ को ‘शैलुङ कम्युनिटी लज’ पर्यटन पूर्वाधार हस्तान्तरण कार्यविधि, २०८१ अनुसार गाउँपालिकालाई बुझाइएको हो । हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले संरचना गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठलाई हस्तान्तरण गरे ।
पर्यटन विकास आयोजना, हेटौँडाले अघिल्ला आर्थिक वर्षहरूमा निर्माण गरेका यी संरचनाको आम्दानी साझेदारीसमेत मन्त्रालय र गाउँपालिकाबिच सहमति भएको छ। सम्झौताअनुसार यी पूर्वाधारबाट हुने कुल आम्दानीमध्ये ७० प्रतिशत स्थानीय तहले पाउनेछ भने ३० प्रतिशत प्रदेश सरकारले राजस्वका रूपमा प्राप्त गर्नेछ। सम्झौतापत्रमा आयोजनाका निमित्त प्रमुख रोशन श्रीवास्तव र गाउँपालिकाका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका छन्।
हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्रदेशका विभिन्न ठाउँमा निर्माण गरिएका पर्यटकीय संरचना प्रयोगविहीन रहँदा नष्ट हुने जोखिम बढेको बताउँदै, स्थानीय तहलाई जिम्मेवारीसहित उपयोगमा ल्याउन आफूले प्राथमिकता दिएको बताए। ‘भौतिक संरचनामा गरिएको लगानीको प्रतिफल सुनिश्चित गर्न र यसको प्रभावकारी सदुपयोगका लागि स्थानीय तह नै उपयुक्त जिम्मेवार हो,’ मन्त्री श्रेष्ठले भने, ‘यो हस्तान्तरण प्रक्रियाको पहिलो चरण मात्र हो। आगामी मंसिर ७ गते नुवाकोटको ककनीमा बनेको भ्युटावर तथा बहुउद्देश्यीय हल पनि स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।’ उनका अनुसार नुवाकोटकै चिम्टेश्वरमा निर्मित भ्युटावर पनि हस्तान्तरण प्रक्रियामा छ।
मन्त्रालयका सचिव सुवेदीका अनुसार ०७६ देखि बहुवर्षीय योजनाका रूपमा विकास भएका यी परियोजनाहरू लामो समय सञ्चालनमा नआएपछि प्रतिफलहीन बन्दै गएका थिए । संरचनाको अवस्था मूल्यांकन गरी आवश्यक मर्मत–सम्भारपछि स्थानीय तहलाई जिम्मेवारीसहित हस्तान्तरण गरिएको उनले बताए। शैलुङ क्षेत्र प्राकृतिक सुन्दरताका कारण पहिलेदेखि आकर्षक गन्तव्यका रूपमा चिनिन्छ। संरचनाहरू सञ्चालनमा आएपछि यहाँको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा स्थानीयवासीले गरेका छन्।