फिलिपिन्सका राष्ट्रपतिलाई दिदीले नै लगाइन ड्रग्सको लती भएको आरोप

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई आफ्नै दिदीले ड्रग्स (लागुऔषध)को लती भएको आरोप लगाएकी छिन् । दिदी सिनेटर इमी मार्कोसले राष्ट्रपति भाइ मार्कोस कोकेनको लती भएको बताउँदै यस लतले मार्कोसको निर्णय क्षमता र शासन क्षमतासमेत नराम्ररी प्रभावित भएको बताएकी छिन् । तथापि, राष्ट्रपतिका प्रवक्ता सञ्चार उपसचिव क्लेयर क्यास्ट्रोले भने इमीले लगाएको आरोप निराधार भन्दै खारेज गरेकी छिन् । 

एक धार्मिक समूहद्वारा मनिला पार्कमा आयोजित सभामा ठुलो भिडलाई सम्बोधन गर्दै सिनेटर इमीले ‘आफ्नो भाइले पिता फर्डिनान्ड मार्कोस सिनियरकै पालादेखि लागुपदार्थको प्रयोग गर्ने गरेको’ बताउँदै आजसम्म यो लत जारी रहेको बताएकी छिन् । मार्कोस सिनियरले सन् १९६५ देखि १९८६ सम्म शासन गरेका थिए । सम्बोधनमा इमीले राष्ट्रपतिकी श्रीमती र छोराछोरीले समेत लागुपदार्थ प्रयोग गर्ने गरेकोसमेत आरोप लगाएकी थिइन् ।

फिलिपिन्स अहिले बाढी नियन्त्रण परियोजनामा अर्बौं अपचलन भएको विषयले तरंगित छ । एक अनुमानअनुसार बाढी नियन्त्रण परियोजनामा सन् २०२३ देखि २०२५ बिचमा फिलिपिन्सको अर्थतन्त्रले ११८.५ अर्ब पेसो (दुई अर्ब डलर) गुमाएको देखाएको छ । 

यस्तो खुलासापछि फिलिपिन्समा ठुलो प्रदर्शन भएको छ । हालै, आँधीमा प्रतिरक्षा पूर्वाधारले काम नगरेको कुराबाट रुष्ट नागरिक सडकमा उत्रिएका छन् । आइतबार मनिलामा दसौँ हजार प्रदर्शनकारी भेला भएर मार्कोस र उनका अधिकारीबाट जवाफदेहिताको माग गरेका थिए । 

सुझावित समाचार