मुलुकको संघीय राजधानी काठमाडौंमै वर्षाैँदेखि रुग्ण अवस्थामा रहेका सडक आयोजनाका २५ ठेक्का तोडिएका छन् । सडक विभागको काठमाडौं डिभिजन कार्यालयले सोमबार काम नगरी रुग्ण पारिएका विभिन्न २५ ठेक्का तोडेको भन्दै सार्वजनिक सूचना निकालेको हो।
कार्यालयले गत ११ कात्तिकमा ठेक्का किन नतोड्ने भन्दै १५ दिने सूचना निकालेको थियो । त्यस क्रममा निर्माण कम्पनीहरूले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि ठेक्का तोडिएको विभागले सूचनामार्फत बताएको छ।
निर्माण कम्पनीहरूले पेस गरेको जवाफ चित्तबुझ्दो नभएपछि २५ ठेक्का तोडिएको सडक विभागका प्रवक्ता श्याम खड्काले बताए । सडक विभागले रुग्ण अवस्थामा भएकामध्ये दुई सय ३५ भन्दा बढी ठेक्का तोड्ने गरी सूचना निकालेको छ । त्यसमध्ये सोमबार काठमाडौंअन्तर्गतका २५ ठेक्का तोडिएको हो । ‘प्रक्रियामा भएका अन्य ठेक्का पनि तोड्ने तयारी छ । निर्माण कम्पनीहरूले पेस गरेको स्पष्टीकरण मूल्यांकन गर्ने काम भइरहेको छ । त्यसमा चित्तबुझ्दो नभएका ठेक्का तोडिन्छ,’ उनले भने, ‘कतिपयले भने काम सुरु गरेका छन्।’
कुलमान घिसिङ मन्त्री बनेपछि उनले विभिन्न रुग्ण ठेक्का तोड्न खोजेका छन् । उनले अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय पाएपछि त्यसअन्तर्गतका ठेक्का तोड्न खोजेका छन् । यसअघि बबई सिँचाइ आयोजनाका ६ ठेक्का तोडिएका छन् । यसैगरी धनुषाको सिँचाइ तथा जलस्रोत व्यवस्थापनका आयोजनाअन्तर्गतका १२ ठेक्काको सम्झौता पनि तोडिएको छ।
यी हुन् ठेक्का तोडिएका सडक आयोजना
विभागका अनुसार मैत्री अस्पतालदेखि बालाजु औद्योगिक क्षेत्रसम्मको सडक निर्माण तथा मर्मत गर्न ०६७/६८ मा त्रिवेणी कन्स्ट्रक्सनसँग गरिएको ठेक्का सम्झौता तोडिएको छ । सोही कम्पनीसँग सामाखुसी–गोंगबु सडक निर्माण तथा मर्मत गर्न ०६७/६८ मै गरेको ठेक्का सम्झौता पनि तोडिएको छ।
यस्तै, सीतापाइला रामकोट सडक निर्माण तथा मर्मत गर्न ०६७/६८ मा जागृत निर्माण सेवासँग गरिएको ठेक्का सम्झौता पनि तोडिएको छ । काठमाडौंका विभिन्न सडक (एसआरएन/एसयुआरएन)लाई आवश्यक मर्मत–सम्भार गर्न ०७०/७१ मा सूर्यजीवन कन्स्ट्रक्सन (प्याकेज ८), काठमाडौं विभिन्न सडकलाई विशेष मर्मत (प्याकेज २) गर्न ०७०/७१ मा जयमाता दुर्गा, टेकु–सोह्रखुट्टे (विष्णुमती लिंक) सडक नियमित मर्मत गर्न ०७०/७१ मा गौरी पार्वती–देशप्रेम जेभी र काठमाडौंकै विभिन्न सडकलाई विशेष मर्मत गर्न ०७१/७२ मा उग्रवज निर्माण सेवासँग गरिएको ठेक्का सम्झौता तोडिएको छ।
यस्तै, सम्झना निर्माण सेवासँग गरिएको दुई ठेक्का पनि तोडिएको छ । नयाँ बस्ती–गोठाटार एयरपोर्ट हाइट सडक आवश्यक मर्मत–सम्भार गर्न र जोरपाटी–साँखु सडकलाई विशेष मर्मत–सम्भार गर्न ०७१/७२ गरिएका दुई छुट्टाछुट्टै ठेक्का सम्झौता तोडिएका छन्।
काठमाडौंका विभिन्न सडकलाई आवश्यक मर्मत गर्न राजधानी कन्स्ट्रक्सनसँग ०७१/७२ मा गरिएको प्याकेज १८ र १९ का दुई ठेक्का पनि तोडिएका छन् । भण्डारखाल–कालोपुल सडकको नियमित मर्मत गर्न ०७१/७२ मा लोकवीर–ओमनीलकण्ठेश्वर–शान्ति जेभी, काठमाडौंका विभिन्न सडकलाई पेन्टिङ गर्न ०७१/७२ मा युविना कन्स्ट्रक्सन एन्ड सप्लायर्स, काठमाडौंका विभिन्न सडकका ट्राफिक सिग्नल मर्मत गर्न ०७१/७२ मा शिशिर निर्माण सेवा र काठमाडौंभित्रका विभिन्न क्षेत्रमा निर्माण सामग्री आपूर्ति गर्न ०७२/७३ मा ओम महासरस्वती कन्स्ट्रक्सन गरिएका ठेक्कासमेत तोडिएको हो।
कार्यालयका अनुसार नारायणहिटी प्यालेस म्युजियमको पूर्वी क्षेत्रको सडकलाई नियमित मर्मत–सम्भार गर्न ०७२/७३ मा गोरखा एप्रोप्रिएट टेक्नोलोजी फर रि–कन्स्ट्रक्सन प्रालि, तीनकुने–सिनामंगल–गौशाला सडकको नियमित मर्मत गर्न ०७३/७४ मा के एन्ड जे कन्स्ट्रक्सन, जमल–पानीपोखरी–नारायणगोपाल चोक–बुढानीलकण्ठ सडक आवश्यक मर्मत गर्न ०७३/७४ मा आरबी–रोबी–स्लेट जेभी र अनामनगर–बानेश्वर (बिआइसिसी भवन) सडकको नियमित मर्मत–सम्भार गर्न ०७३/७४ मा कागेश्वरी निर्माण सेवासँग गरिएको ठेक्का सम्झौता तोडिएको छ।
यस्तै, काठमाडौंका विभिन्न सडकलाई नियमित मर्मत गर्न ०७३/७४ मा महाकाली भीमसेन निर्माण सेवा, कलंकी–नागढुंगा सडक विशेष मर्मत गर्न ०७४/७५ मा ओमकार बिल्डर्स, सिंहदरबार–माइतीघर सडकको फुटपाथ मर्मत गर्न पन्थ कन्स्ट्रक्सन, काठमाडौंका विभिन्न सडकको आवश्यक मर्मत गर्न ०७४/७५ मा बिएन्डडी र जालपा निर्माण सेवा एन्ड स्प्लायर्ससँग गरिएको छट्टाछुट्टै ठेक्का सम्झौता तोडिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयसँग जोडिने सडक मर्मत गर्न ०७९/८० मा बेबो इन्जिनियरिङ ग्रुपसँग गरिएको ठेक्का सम्झौता पनि तोडिएको छ।