निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रका लागि दिएको बायोमेट्रिकबाटै मतदाता नामावली दर्ता सुरु गरेको छ । बिहीबार आयोगमा आयोजित समारोहमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता नामावली दर्ता प्रणाली (प्रि–रजिस्ट्रेसन सिस्टम) र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआइडी–एमआइएस)बिच अन्तरआबद्धता (इन्टिग्रेसन) गर्ने कार्यक्रमको उद्घाटन गरेसँगै सेवा शुभारम्भ भएको हो ।
आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार अबदेखि मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने सेवाग्राहीले निर्वाचन आयोगको वेबसाइटमा रहेको एपलाइभिआरमा प्रवेश गरी राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र नम्बर र आफ्नो जन्ममिति प्रविष्टि गरेर राष्ट्रिय परिचयपत्र प्रणालीसम्म पहुँच पुर्याई आफ्नो व्यक्तिगत र जैविक विवरण प्राप्त गर्न सक्नेछन् ।
राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले आफ्नो मोबाइल नम्बर प्रविष्टि गरी माग भएका विवरण भर्न सक्ने भट्टराईले बताए । उनका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले जैविक विवरण (फोटो र औँठाछाप दिन) निर्वाचन कार्यालयमा जानु नपर्ने हुँदा घरबाटै सेवा लिन सक्ने सुविधा थप भएको छ भने राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले अनलाइन आवेदन गरी तोकिएको मितिमा निर्वाचन कार्यालयमा गएर जैविक विवरण (फोटो र औँठाछाप) दिई सेवा लिन सक्ने सुविधा यथावत् रूपमा उपलब्ध हुनेछ ।
‘उपर्युक्त व्यवस्थाबाट मतदाता नामावलीमा नाम दर्ताका लागि तोकिएको अवधि (३० कात्तिक)भित्र सबैले सेवा लिन सक्ने र निर्वाचन कार्यालयमा देखिने गरेको सेवाग्राहीको चाप अधिक मात्रामा घट्ने अपेक्षा गरिएको छ,’ भट्टराईले भने ।