संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी स्वामित्वको वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति प्रक्रिया छिटो थाल्न निर्देशन दिएकी छिन् ।
निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया अघि बढाउन १४ कात्तिकमा समिति गठन भएयता कुनै प्रक्रिया अघि नबढेको पाएपछि प्रधानमन्त्री कार्कीले चासो दिएकी थिइन् । उनले पर्यटन सचिव हरि मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बोलाएर कार्यप्रगति माग्दा केही पनि प्रक्रिया अघि नबढेको पाएपछि छिटो थाल्न निर्देशन दिएकी हुन् ।
निगममा महाप्रबन्धक नियुक्तिका लागि सचिव मैनालीकै संयोजकत्वमा तीन सदस्यीय पदपूर्ति समिति गठन भएको छ । विज्ञ सदस्यमा क्याप्टेन केबी लिम्बू र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुखलाई सदस्य सचिव तोक्ने व्यवस्था गरिएको छ । सचिव मैनालीले पदपूर्तिका लागि कार्यविधि बनाइसकेको, तर केही समय विदेशमा रहेकाले थप प्रगति हुन नसकेको प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए । त्यसपछि ढिला नगरी खुला प्रतिस्पर्धाबाट छिटो महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाउन निर्देश गरेकी थिइन् । यसअघिका कार्यकारी अध्यक्ष युवराज अधिकारी कात्तिक पहिलो साता कार्यकाल सकिएर बिदा भएका थिए ।
यसअघि प्रधानमन्त्री कार्कीकै अग्रसरतामा भएको बैठकमा निगमभित्र पहुँचका आधारमा एक हजार ५८ भन्दा बढी कर्मचारीले अस्थायी, करार र ज्यालादरीमा जागिर खाइरहेको विषय बाहिरिएको थियो । त्यसपछि, पहुँचका भरमा नियुक्ति लिएका कर्मचारीलाई हटाउन दिएको निर्देशनसमेत निगमले पालना गरेको छैन ।
५२ अर्ब ऋणमा डुबेको वायुसेवा निगमको सञ्चित नोक्सानी २० अर्ब नाघ्ने अनुमान छ । तर, संस्थान सुधारका लागि व्यवस्थापनले चासो नदिएपछि प्रधानमन्त्री कार्कीले बैठक राखेर सुधारको निर्देशन दिइरहेकी छिन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवा यात्रुमैत्री बनाउन र संस्थागत सुशासनलाई प्राथमिकता दिएर नाफा आर्जन गर्ने गरी काम गर्न निर्देशन दिएकी छिन् ।