आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनको चहलपहल बढेपछि उदयपुरका जेन-जी युवा पुस्ता गाउँ-गाउँबाट सामूहिक रूपमा मतदाता नामावलीमा दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय आउन थालेका छन् ।
गाउँ-गाउँमा रहेका जेन-जी युवा पुस्ता सामूहिक रूपमा गाडी नै रिजर्भ गरेर मतदाता नामावली दर्ता गर्न आउन थालेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दीपक दाहालका अनुसार हिजो सोमबार मात्र कटारी नगरपालिकाबाट एकैपटक ५३ जनाको जेन-जी समूह मतदाता नामावली बनाउन आएका थिए। उनले भने, ‘कार्यालयले सबैको नाममा मतदाता नामावली बनाएर पठाएको छ। भोलि (बुधबार) बेलका नगरपालिकाबाट पनि आउने भनेका छन् । कटारीबाट पुन थपिने जानकारी आएको छ । तर, एकैपटक ठुलो समूह आउने भएकाले थोरथोरै गरेर नियमित छिटो छिटो आउन भनेका छौँ।’
उनका अनुसार गएको असोज १० गते यता उदयपुरमा जम्मा ९९४ पुरुष र ६५३ महिला गरी जम्मा १६४७ मतदाता थपिएका छन् । कार्यालय प्रमुख दाहालले भने, ‘हामीले केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा पठाएको विवरणअनुसार गएको कात्तिक १६ गतेसम्म उदयपुरको कुल मतदाता संख्या दुई लाख ३० हजार ८८७ पुगेको छ । कात्तिक १६ देखि २५ गतेसम्मको विवरण थपिन बाँकी छ । त्यसपछि पुनः बढ्नेछ ।’
उदयपुरमा निर्वाचन कार्यालय उदयपुरले मतदान केन्द्र र मतदान स्थलको संख्यामा छलफल चलाएको छ । कार्यालय प्रमुख दाहालका अनुसार उदयपुरका हालसम्म १०१ वटा मतदान स्थलमा पाँचवटा मतदान स्थल थप्न केन्द्रीय निर्वाचन आयोगलाई सिफारिस गरिएको छ । उनले भने, ‘थपिनेमा त्रियुगा नगरपालिकामा तीनवटा र कटारी नगरपालिकामा दुईवटा रहेका छन् ।’ जिल्लामा २६४ वटा मतदान केन्द्रलाई यथावत् राखिएको दाहालको भनाइ छ।