मकवानपुरका तीन गाउँपालिकामा ३० बिघाभन्दा बढी जग्गाकाे गाँजा फँडानी

शुक्रबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

मकवानपुर जिल्लामा प्रहरीले अवैध रूपमा खेती गरिएको ठुलो परिमाणको गाँजा फँडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौँडाबाट खटिएको संयुक्त टोलीले चार दिनसम्मको विशेष अभियान सञ्चालन गरी करिब ३० बिघा १० कट्ठा क्षेत्रफलमा लगाइएका गाँजाका बोट र बेर्ना फँडानी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असोज १७ गतेदेखि २० गतेसम्म चलेको उक्त अभियानमा १०२ जनाको संयुक्त प्रहरी टोली खटिएको थियो । प्रहरीका अनुसार अवैध रूपमा गाँजाखेती गरिएको मकवानपुरको उत्तरी भेगका राक्सीराङ गाउँपालिकाको चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाको सातकन्या, खैरेनी, जोइटी र भीमफेदी गाउँपालिकाको भदौरे र ज्यार्बुलगायतका क्षेत्रमा गाँजा फँडानी गरिएको हो ।

प्रहरीले ती क्षेत्रहरूमा स्थानीय बासिन्दाले चोरी–छिपी गरी खेती गरेको गाँजाका बोटहरू भेट्टाएर फँडानी गरी नष्ट गरेको जनाएको छ। फँडानी अभियानका क्रममा गाँजाका स–साना बेर्नादेखि ठुला उत्पादनका बोटसम्म सम्पूर्ण नष्ट गरिएको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार