हिउँदमा पनि रासायनिक मलको अभाव

शुक्रबार, २२ कार्तिक, २०८२
डिजिटल संस्करण

धान बाली भित्र्याएर हिउँदे बाली लगाउने तयारीमा रहेका कैलालीका किसान रासायनिक मलको खोजीमा भौँतारिरहेका छन् । गहुँ, मुसुरो, तोरीलगायत खाद्य, दलहन तथा तेलहन बाली, आलुलगायत तरकारी लगाउने यो सिजनमा रासायनिक मल पाउन नसकेको गुनासो किसानले गरेका छन् । भजनी नगरपालिका– २, खैलाडका किसान हरिराम चौधरीले युरिया मल नपाएर आफूले हैरानी खेप्नुपरिरहेको बताए । ‘तोरी हुर्कदै छ । युरिया हाल्ने वेला हुन लाग्यो, तर पाइएको छैन,’ उनले भने, ‘गाउँका सहकारीमा मल सकिएको छ ।’ उनले गहुँ छर्नका लागि पनि आवश्यकताअनुसार मल नपाएको गुनासो गरे ।

तीन बिघा जमिनमा गहुँ छर्ने तयारीमा रहेका जानकी गाउँपालिका– ७, तिलमचौराका किसान वीरेन्द्र रोकायाले मल नहुँदा आफूजस्तै गाउँका अन्य किसान पनि समस्यामा रहेको बताए । ‘युरिया पाइएकै छैन, डिएपी अलि–अलि पाइयो, त्यो पनि आवश्यकताअनुसार छैन,’ उनले भने, ‘मल नहालेरै खेती लगाउनुपर्नेजस्तो छ ।’
तिलमचौरा गाउँमा रहेको देउथान कृषि सहकारीका कोषाध्यक्षसमेत रहेका उनले सहकारीमै आवश्यकताअनुसार मल नआएको बताए । 

सरकारी अनुदानको मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडको प्रदेश कार्यालय धनगढीले पालिकाको समन्वयमा सहकारीलाई कोटा तोकेर मल उपलब्ध गराउँदै आएको छ । कार्यालयले यहाँ तीन सय ८६ वटा कृषि सहकारीलाई मल बिक्री गर्छ । 

कृषि सामग्री कम्पनीको प्रदेश कार्यालय धनगढीले कात्तिकमा नौ सय ५२ मेट्रिकटन युरिया र आठ सय ६९ मेट्रिकटन डिएपी मल बिक्री गरेको जनाएको छ । मौज्दात रहेको दुई हजार एक सय ५४ मेट्रिकटन डिएपी र एक सय ६६ मेट्रिकटन युरिया वितरण भइरहेको कृषि सामग्रीका प्रदेश प्रबन्धक नबलसिंह बोगटीले बताए । सरकारी अनुदानको मल बिक्री गर्ने अर्को निकाय साल्ट टे«डिङको प्रदेश कार्यालय धनगढीले साउनयता युरिया नआएको जनाएको छ ।

सुझावित समाचार