नियमित अधिवेशन माग गर्दै केसीले भने– ४० दिनको तयारीमा ११औँ महाधिवेशन भएको थियाे

बिहिबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नियमित महाधिवेशनको माग गरेका छन्। ११औँ  महाधिवेशन मात्र ४० दिनको तयारीमा सम्पन्न भएको उल्लेख गर्दै नेता केसीले असाधारण परिस्थितिमा महाधिवेशन सम्भव छैन भन्ने बहाना निरर्थक रहेको बताए।

बिहीबार केन्द्रीय समिति बैठकमा बोल्दै नेता केसीले भने, ‘एकातिर राजाको प्रत्यक्ष शासनको दबदबा, अर्कातिर माओवादी सशस्त्र द्वन्द्वको चरम उत्कर्षको अवस्थामा समेत ४० दिनको तयारीमा हामीले महाधिवेशन सम्पन्न गरेका थियौँ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुक गरिए पनि तत्कालीन शाही सत्ताले उक्त स्थल उपलब्ध नगराएपछि ११औँ महाधिवेशनको उद्घाटन समारोह जावलाखेलस्थित चिडियाखाना अगाडिको मैदानमा र बन्द सत्रहरू केन्द्रीय कार्यालय (सानेपा)को प्रांगणमा सम्पन्न गरेको सम्झौं।’

आजको वस्तुगत परिस्थितिलाई आग्रह–पूर्वाग्रहविहीन भएर सोच्न आग्रह गर्दै नेता केसीले यथास्थितिमा निर्वाचनको कुरा गर्नु घातक हुने बताए। 

साथै, केसीले जेन-जीका न्यायोचित मागलाई पूर्ण समर्थन र कार्यान्वयन गर्नुपर्ने भन्दै पार्टीका हरेक तहमा जेन-जीको २५ प्रतिशत सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन्।

‘जेन-जी कुनै वर्ग होइन, यो उदीयमान उमेर समूह हो। जेन-जी हरेक घरमा, हरेक पार्टीमा छन्। उनीहरू हाम्रा परिवारका सदस्य र भोलिको आशा, भरोसा हुन्। उनीहरूका न्यायोचित मागलाई पूर्ण समर्थन र कार्यान्वयन गर्ने नीतिको प्रतिबद्धता हाम्रो दायित्व हो। साथै, पार्टीका हरेक तहमा यो समूहलाई २५ प्रतिशत सहभागिता सुनिश्चित गर्नु आवश्यक छ।
 

सुझावित समाचार