आयल निगमको अमलेखगन्ज डिपोबाट काठमाडौंस्थित थानकोट डिपो निस्केको ट्यांकर बिचबाटोमै रोकेर पेट्रोल चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझ करिब ४ः३० बजे निगमको अमलेखगन्ज डिपोबाट थानकोट डिपोका लागि निस्केको ना.४ख ९३७७ नम्बरको ट्यांकरबाट मनहरी गाउँपालिका– ८ स्थित जय शिव शरणम् फ्युल सेन्टरमा अवैध रूपमा पेट्रोल झिक्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
घटनास्थलमा प्रहरी पुग्दा ट्यांकरबाट पेट्रोल झिक्ने कार्य भइरहेको देखेपछि ट्यांकरका चालकसहित पेट्रोलपम्पमा काम गर्ने तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी पुष्कर बोगटीले जानकारी दिए ।
घटनाको विषयमा अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गर्न नमिलने प्रवक्ता बोगटीले बताए ।घटनामा दोषी ठहरिए आयल निगमले पनि ट्यांकर ढुवानीकर्ता, चालक र पेट्रोलपम्पलाई कारबाही गर्ने जनाएको छ । आयल निगमको विनियमावलीमा तेल चोरीमा संलग्नलाई तीनदेखि ६ महिनासम्म कारोबार रोक्का राख्नेदेखि लाइसेन्स रद्द गर्नेसम्मको कारबाहीको व्यवस्था छ ।