पार्क बनाउने रहर

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

एक दशक पूरा भयो, सरकारले नन्दीकेशर बगैँचा, सामुदायिक सेवा केन्द्र नक्साललाई हस्तान्तरण गरेको । ‘कामपा वडा नम्बर १ नारायणचौर नक्सालस्थित खुलास्थललाई विपत् व्यवस्थापन तथा सर्वसाधारणको हितमा प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको यस नन्दीकेशर बगैँचालाई यथोचित सञ्चालन र संरक्षण गर्न आयोजित विशेष समारोहमा सामुदायिक सेवा केन्द्र, नारायणचौर नक्साललाई विधिवत् बगैँचा व्यवस्थापन हस्तान्तरणपत्र प्रदान गरियो,’ केन्द्रलाई प्रदान गरिएको हस्तान्तरणपत्रमा उल्लेख छ । सरकारले केन्द्रलाई बगैँचा हस्तान्तरण गरेसँगै सर्वसाधारणको लागि यो २४सै घन्टा खुल्ला भएको छ । अचेल बगैँचा आफ्नो बह पोख्ने, छलफल गर्ने, भेटघाट गर्ने, शारीरिक व्यायाम गर्ने र विभिन्न कार्यक्रम गर्ने थलोको रूपमा स्थापित भएको छ । हाललाई बगैँचामा कुनै कार्यक्रम गर्नुपरे केन्द्रको स्वीकृति लिनुपर्छ । 

करिब १९ रोपनी क्षेत्रफलमा फैलिएको यो बगैँचालाई आजको अवस्थामा पुर्याउने श्रेय जान्छ, समाजसेवी नरेन्द्रबहादुर श्रेष्ठ र उनको टिमलाई । केन्द्रका अध्यक्ष समाजसेवी श्रेष्ठ कवि, कलाकार र समाजसेवी हुन् । उनले यो पार्कलाई कसरी जनताको पार्क बनाए ? कसरी पार्क निर्माणमा लागे ? काठमाडौंमा यस्ता पार्क किन आवश्यक छ ? ७० को दशकमा हिँडिरहेका उनले जीवनका ती दिनलाई कसरी सम्झन्छन् ? ‘हामीले गर्दा त्यो बगैँचा बचेको हो । समाजका लागि केही गर्न सकेकोमा खुसी लाग्छ,’ श्रेष्ठले भने ।

जनताको बगैँचा

घरनजिकै खाली ठाउँ, तर फोहोरको डगुंर । चौरवरपरका घरले दिउँसै झ्यालढोका बन्द गर्नुपर्ने । चौरसँगैको नन्दीरात्रि विद्यालयमा झ्यालढोका बन्द नगरी बस्नै नसकिने । चौर हुँदै हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था । यी सबै देखेर श्रेष्ठलगायत केही युवालाई खुवै छट्पटाहट भयो । त्यसपछि चौरबाट आउने दुर्गन्धलाई रोक्ने उपाय बुन्न थाले । गुठी संस्थानअन्तर्गत रहेको उक्त चौरबाट फोहोर हटाउनका लागि श्रेष्ठलगायतको टोली संस्थान पुग्यो । संस्थानले पनि त्यहाँबाट फोहोर हटाउनका लागि काम गर्ने प्रतिबद्धता जनायो । मनोबल उच्च पार्दै टोली फर्कियो । तर, फर्किएको केही दिनमै आएको खबरले श्रेष्ठको टोली खङगं्रग भयो । ‘मेरै नेतृत्वमा संस्थानमा पुग्यौं । ध्यानाकर्षण गरायौँ । तर, केही दिनमै राजगुठीअन्तर्गत भएकाले चौरलाई केही नगर्नु भन्यो । त्यसपछि त्यो चौरको फोहोर त्यहीँ सीमित भयो,’ ०६३ सालतिरको घटना सम्झँदै श्रेष्ठले भने ।

संस्थानको व्यवहारले फोहोरको डंगुर बढ्दै गयो । टोल दुर्गन्धित हुँदै गयो । तर, चौरको फोहोर हटाउने काममा कसैले चासो देखाएनन् । निस्सासिदै गएका स्थानीयले चौरलाई हराभरा बनाउने र नन्दीकेशर बहालको जीर्णोद्धार गर्ने प्रयास पूरा भएन । चौरमा फोहोरको डंगुर बढ्दै गएपछि भने असह्य नै भयो । त्यसपछि उनीहरूले विनाअनुमति चौरमा काम गर्ने अठोट गरे । संस्थानले काम गर्न अस्वीकार गरेको ६ वर्षपछि उनीहरूले ०६९ भदौ ८ गते काठमाडौं उपत्यका विकास प्राधिकरण तत्कालीन आयुक्त केशव स्थापितको उपस्थितिमा चौरमा आठ फिट अग्ला रुख रोपे । ‘त्यो चौरमा फोहोर फाल्न अनुमति लिनु नपर्ने, तर हराभरा बनाउन र संरक्षण गर्न अनुमति लिनुपर्ने अवस्था आयो,’ उनले भने, ‘त्यसपछि हामीले पनि अनुमति नै नलिई अग्ला–अग्ला बिरुवा रोपेर चौर संरक्षणतर्फ लाग्यौँ ।’

अख्तियारमा उजुरी, भौतिक आक्रमणको धम्की

त्यसपछि श्रेष्ठलगायतको टोलीले आफ्नै तरिकाले काम गर्यो । फोहोरको डगुंर हटायो । चौरलाई प्राकृतिक प्रकोप व्यवस्थापनको केन्द्रको रूपमा विकास गर्ने र विस्तृत योजना तथा डिजाइन तयार पार्ने निर्णयसमेत भयो । त्यसअनुरूपको प्रस्ताव ०७० भदौ २३ गते प्राधिकरणमा पेस गर्यो । प्राधिकरणले प्रस्ताव स्वीकार गरी निर्माण कार्यको लागत व्यहोर्यो । हराभरा हुनथाल्यो । चौर स्थानीय टहलिने ठाउँ बन्न थाल्यो । सुरुकै गाँसमा ढुंगा लागे पनि करिव दुई वर्षमा यो बगैँचा हेर्नलायक अवस्थामा पुग्यो । तर, श्रेष्ठको टिमलाई चैन भने भएन । अपारदर्शी ढंगले काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौं र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा श्रेठको नाममा उजुरी पर्यो । भौतिक आक्रमणको धम्की आयो ।

‘काम गरौँ भनेर लाग्यौँ । तर, बगैँचालाई स्वरूप दिने क्रममा तिता अनुभव सामना गर्नुपर्यो । केही स्थानीयले नै विभिन्न ठाउँमा उजुरी दिए । मेरो नामको घरमै चिठी आयो । तर, हामीले हिम्मत हारेनौँ,’ उनले भने, ‘यस्ता गतिविधिले हामी पारदर्शी छौँ भनेर देखाउने मौका मिल्यो । पछि सफाइ पायौँ ।’ 

सो बगैँचा रणबहादुर शाहकी माइली महारानी सुवर्णप्रभाले १८९६ सालमा नन्दीकेशर महादेवलाई नियमित रूपमा फूल चढाउने उद्देश्यले निर्माण भएको थियो । तर, प्रजातन्त्र बहालीसँगै लामो समय स्थानीय र काठमाडौं महानगरपालिकाले नै फोहोर फाल्ने ठाउँमा रूपान्तरण गरेको थियो । केन्द्रले काम गरेपछि चौर हरियाली भएको छ । रुखबिरुवा, फूलबारी बनेको छ । शारीरिक व्यायामका लागि मेसिनको व्यवस्था गरिएको छ । चौरको सुधारमा वास्ता नगर्नेहरूले समेत ०७२ को भूकम्पमा यसको महत्व बुझेर संरक्षणमा चासो देखाउन थालेका छन् ।

शंखमूल र मीनभवनमा पार्क

उनकै संयोजकत्वमा शंखमूल र मीनभवनमा पनि पार्क निर्माण भयो । उनले दुवै ठाउँमा पार्क निर्माणका लागि पहल गरे । हराभरा बनाए । साँझ–बिहान टहलिने ठाउँ बनाए । तर, ती पार्क अहिले भग्नावशेषमा रूपान्तरण भएका छन् । शंखमूलमा बनाएको सत्यसाई राष्ट्रिय उद्यान महानगरपालिकाले भत्कायो । मीनभवनमा बनाएको बाग्मती वातावरणीय सामुदायिक पार्क बागमती नदीले भत्कायो । उनको टोलीले शंखमूलमा पुलदेखि पश्चिमतर्फको पुलसम्म करिब पाँच सय मिटर किनारामा अवस्थित जग्गालाई हरियाली बनाएको थियो । मीनभवनको पार्कमा पनि वातावरणमैत्री पार्क बनाउन बाँसको बार लगाएर हरियाली बनाएको थियो । ‘पार्क बनाउने मेरो रहरको काम हो । सोहीअनुसार खुरुखुरु काम गरेँ । तर, सफा मनले काम मात्र गरेर नहुने रहेछ,’ उनले भने,‘आफुले गरेको काम कतै भग्नावशेषमा रूपान्तरण हुँदा दुख लाग्छ । त्यहाँको अवस्था देखेर आँसु आउँछ । दु:ख गरेर, दश नंग्रा खियाएर बनाएको ठाउँमा गएर झार समेत उखेल्न मन लाग्दैन ।’ 

मीनभवनको पार्क निर्माण बाढीले भग्नावशेषमा रूपान्तरण गरे पनि शंखमूलको पार्क महानगरले भत्काउँदा चित्त दुखाइ भएको छ । ‘बागमती किनारमा जथाभावी फोहोर फाल्ने काम भयो । पार्क बन्यो भने राम्रो पनि हुन्छ । मान्छेलाई टहलिने ठाउँ पनि हुन्छ भनेर पार्क बनायौँ । तर, महानगरपालिकाले भत्काइदियो,’ श्रेष्ठले भने, ‘युरोपियन कम्युनिटीबाट पैसा ल्याएर पार्क बनाएको भन्दै बालेनले आफ्नो सेना लिएर गई विनाजानकारी पार्क भत्काए । भत्काउनेबाहेक उनले जानेकै के छ र !’ उनका अनुसार हामीले कसका लागि गर्ने ? किन गर्ने ? कति टाउको दुखाउने ? भनेर त्यहाँ झारैझार आउँदासमेत नदेखेझैँ गरेर हिँडेको छु । महानगरले पार्कको योग गर्ने भवन, बारलगायत भत्काएको छ । उनले अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग स्वीकृति लिएर त्यहाँ काम गरेका थिए ।

यसकारण पार्क निर्माण 

७० को दशक पार गर्नै लागेका उनले रानीपोखरीदेखि दशरथ रंगशालासम्मकै टुडिखेल देखे । त्यहाँ साइकल कुदाए । फुटबल खेले । बिस्तारै टुडिखेल टुक्रिँदै गयो । विभिन्न संस्थाको भागबन्डामा पर्यो । यसले काठमाडौं उपत्यकामा खाली ठाउँको अभाव हुँदै गयो । जुन ०७२ को भूकम्पमा टड्कारो रूपमा देखियो । मान्छेलाई खाली ठाउँ खोज्न गाह्रो भयो । त्यसले उनलाई पनि खुला ठाउँको अभाव भएको लाग्न थाल्यो । त्यसपछि उनीलगायतको टोली पार्क निर्माणमा जुट्यो । ‘९० सालको भूकम्पमै खुला ठाउँको महत्व थाहा भइसकेको थियो । खेलमैदान, टहलिने ठाउँ, बगैँचा चाहिन्छ भन्ने पनि त्यतिवेलै लागेको थियो । तर, हामीले त्यतिवेलाको अवधारणा अबलम्वन गर्न सकेनौँ । ०७२ को भूकम्पले झनै खुला ठाउँको अभाव भएको देखायो,’ उनले भने । पार्कले खुला ठाउँसमेत हुने भएकाले नन्दीकेशर बगैँचामा ६ वटा इनारसमेत बनाइएको छ । पार्कको मात्र अवधारणा होइन, प्राकृतिक प्रकोपको वेला आश्रय लिन सकियोस् भन्ने हेतुले इनार निर्माण गरिएको श्रेष्ठले बताए । ‘फेरि भूकम्प आएमा कहाँको पानी खाने ?, त्यसैले खानेपानीका लागि इनार बनाइएको छ । बालबालिकाको लागि खेल्ने ठाउँ बनाइएको छ । शारीरिक अभ्यासका लागि उपयुक्त थलोको रूपमा विकास गरिएको छ,’ उनले भने । शंखधर पार्क, बालाजु पार्कलगायतमा प्रवेश शुल्क लिन नहुने भन्दै आफूले त्यस्ता विषयको सधैँ विरोध गर्ने र आफूले बनाएको पार्कमा विनाशुल्क प्रवेश गर्न पाउने अवस्था सिर्जना गरे । ‘नेपाली जनताले श्वास फेर्न पनि पैसा तिर्नुपर्ने ? सरकारको कर्तव्य के हो ?’ काठमाडौंको तीनवटा पार्क निर्माणमा नेतृत्व गरेका श्रेष्ठले भने । 

See More On

सुझावित समाचार