बिपी राजमार्गमा आज राति सवारीसाधन सञ्चालनमा रोक

बिहिबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गमा सावरीसाधन सञ्चालनमा एक रातका लागि रोक लगाएको छ। वर्षा र बाढीपहिरोबाट यात्रुलाई हुन सक्ने जोखिमको मध्यनजर गर्दै बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो।

बिहीबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङ–भकुन्डेबेँसी–सिन्धुली सडकखण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सबै सवारीसाधन रातको समयमा सञ्चालनमा निषेध गरेको हो।

साथै रोशी खोला र अन्य खहरे खोलामा बाढी आएको समयमा जुनसुकै समयमा प्रहरीले सवारीसाधन सञ्चालनमा रोक लगाउन सक्ने सूचनामा उल्लेख गरिएको छ। जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि शुक्रबारसम्म बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेको छ। पहिरोको उच्च जोखिम रहेकाले राति सवारीसाधन सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बिपी र अरनिको राजमार्गमा सडक डिभिजन भक्तपुर र सूर्यविनायक–धुलिखेल सडक आयोजनाले तुरुन्त परिचालन हुने गरी डोजर, एक्स्काभेटर, लोडरलगायतका साधनहरू तयारी अवस्थामा राख्न पनि अनुरोध गरेकाे छ।

पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन तथा विशेष स्थानीय तहहरूले स्वीकृत मनसुन कार्ययोजनाअनुरूप आवश्यक पूर्वतयारी र प्रतिकार्य गर्न पनि अनुरोध गरिएको छ।
 

सुझावित समाचार