हाल सरकारले भिजिट भिसालाई खुकुलो बनाउन लागेको छ, यो कत्तिको सही हो ?
राज्यले कसैलाई पासपोर्ट दिनु भनेको तिमी देश छाडेर विदेश जान सक्छौ भनेर अनुमति दिएको हो । कुनै देशले भिसा दिनु भनेको तिमी मेरो देशमा आउन सक्छौ भनेर स्वीकृति दिएको हो । जब कसैसँग राज्यले दिएको ‘भ्यालिड’ र सक्कली पासपोर्ट र अर्को देशले दिएको सक्कली भिसा छ भने बिचमा कसैले रोक्न मिल्दैन । उसले कुनै अपराध गरेको छ र राज्यको कुनै निकायले कालोसूचीमा राखेको छ भने फरक कुरा हो । नत्र, कसैले लगाएको जुत्ता, लुगा, उसको दारी, कपाल आदि हेरेर कसैलाई रोक्ने र कसैलाई जान दिने गरिन्छ भने त्यहाँ मान्छेलाई अप्ठ्यारोमा पारेर पैसा झार्ने नियतबाहेक केही लुकेको हुँदैन । त्यसैले, सरकारले भिजिट भिसामा विदेश जान सहज बनाउन गरेको प्रयास ठिक छ ।
जे गर्दा पनि भिजिट भिसासम्बन्धी समस्याको समाधान किन नभएको होला ?
सामान्यत: विदेश जाने क्रममा लिइने भिसा अनेक प्रकारका हुन्छन् । कसैले वर्किङ भिसा लिएका हुन्छन् भने कसैले स्टुडेन्ट भिसा । कसैले अफिसियल भिसा लिएका हुन्छन् भने कसैले भिजिट भिसा । कतिपय देशमा भिजिट भिसामा बोलाएर काम गर्न दिने चलन पनि हुन्छ । कसैलाई विदेश जानबाट रोक्नु छ भने उसको ‘ब्याकग्राउन्ड’ हेरेर पासपोर्ट दिँदा नै रोक्नुपर्छ । विदेशतिर पनि यस्तो अभ्यास पाइन्छ । तर, सबैलाई पासपोर्ट दिने हो भने यो समस्या यस्तै रहन्छ ।
हाम्रो अध्यागमन नीति र प्रणालीमा सुधार्नुपर्ने विषय के छन् जस्तो लाग्छ ?
यो समस्या अध्यागमनसित मात्र जोडिएको हुँदैन, श्रमसँग पनि जोडिएको हुन्छ । त्यसैले, अध्यागमन एक्लैले गरेर हुँदैन । स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न सक्ने हो भने यो समस्यामा कमी आउन सक्छ । जबसम्म सरकारको नीति नै विदेश जाऊ भन्ने हुन्छ, तबसम्म यो समस्याको समाधान निस्किन कठिन छ ।