मुक्तिनाथ मन्दिरको भ्रमणमा आएका आन्तरिक पर्यटकहरूका लागि सशस्त्र प्रहरी बल, नेपालले स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको छ ।
बुधबार बिहानदेखि त्यस क्षेत्रमा पर्यटकहरूको अक्सिजन लेभल र रक्तचाप परीक्षण गर्नुका साथै आवश्यक औषधि वितरण गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३३ गुल्म मुस्ताङले बुधबार बिहान ९० महिला र ६० पुरुष गरी १५० जनाको अक्सिजन लेभल चेक गरेको थियो । यस्तै ६० महिला र ४० पुरुष गरी सयजनाको रक्तचाप परिक्षण गरिएको डिएसपी थापाले बताए।
त्यस क्षेत्रमा हिमपात भएको र चिसो एक्कासि बढेका कारण धैरै पर्यटकहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ । उनीहरूको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचारसमेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै, मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिरपरिसरको हिउँ पन्छाउन बुधबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङबाट सुरक्षाकर्मी परिचालन गरिएको छ ।