मनाङ र कास्कीमा लेक लागेर चारजनाको मृत्यु

सोमबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

मनाङ र कास्कीको उच्च हिमाली क्षेत्रमा लेक लागेर चारजनाको मृत्यु भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार मनाङमा तीन र कास्कीमा एकजनाको मृत्यु भएको हो । मनाङको नार्पाभूमि गाउँपालिकामा ४४ वर्षीय राम थापामगरको लेक लागेर मृत्यु भएको छ ।

उनी नार्पाभूमिकै फु गाउँबाट फर्किने क्रममा लेक लागेर बिरामी परेका थिए । होटेलमा बास बसेका वेला उनको मृत्यु भएको हो । त्यस्तै, पर्यटकको भारी बोेकेर फर्कने क्रममा नार्पाभूमि– ४ मा डिलबहादुर गुरुङको ज्यान गएको छ । लेक लागेर बिरामी भएका उनलाई उपचारका लागि मणिपाल अस्पताल पोखरा लगिएको थियो । नार्पाभूमि– ४ मै याकखर्कमा पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर साम्बा घलेको पनि ज्यान गएको छ ।

कास्कीमा पनि अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ गएका युवाको लेक लागेर मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका– ११ मा सुरजमान श्रेष्ठको मृत्यु भएको हो । लेक लागेर बिरामी परेका उनको भ्यु प्वाइन्ट होटेलमा ज्यान गएको हो । कञ्चनजंघा आधार शिविरबाट फर्कने क्रममा लेक लागेर बिरामी भएका एक स्पेनी नागरिकलाई भने हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको छ ।

प्राधिकरणकी प्रवक्ता एवं उपसचिव शान्ति महतले विज्ञप्ति जारी गर्दै पर्वतारोहण, पदयात्रामा जाँदा सचेतना अपनाउन आग्रह गरेकी छिन् । साथै उच्च पहाडी तथा हिमाली जिल्लाका जिल्ला सुरक्षा समिति, स्थानीय तह, सम्बन्धित पर्यटन व्यवसायीलगायत सम्बद्ध सबै पक्षले मौसम पूर्वानुमान एवं प्राधिकरणबाट जारी हुने पूर्वसूचना (अलर्ट)अनुसार नागरिकको जीवन रक्षामा योगदान पुर्याउन अनुरोध गरेकी छिन् । 

आमादब्लम आरोहणमा गएका दुई विदेशी आरोहीको मृत्यु 
खुम्बु हिमशृंखलाको आमादब्लम हिमाल आरोहणमा गएका दुई विदेशी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागले आइतबार विज्ञप्ति जारी गर्दै फ्रान्सेली नागरिक हुगो लुसियो लाजारो र कोरियाली नागरिक होङखाई पार्कको मृत्यु भएको जानकारी दिएका हो ।

हिमाल आरोहण गरेर फर्कने क्रममा बिरामी परेपछि हेलिकोप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएका हुगोको ७ कात्तिकमा तथा होङखाईको क्याम्प १ र क्याम्प २ बिचमा आइतबार मृत्यु भएको हो । पर्यटन विभागका अनुसार फ्रान्सेली नागरिक हिमालयन भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत र कोरियन नागरिक ८के एक्सपिडिसनमार्फत आरोहणमा गएका थिए । शव सम्बन्धित मुलुकमा पठाउन समन्वय र सहजीकरण भइरहेको विभागले जनाएको छ ।

हिमाली क्षेत्रमा मंगलबारदेखि शुक्रबारसम्म मौसम प्रतिकूल हुने प्रक्षेपण
जल तथा मौसम विज्ञान विभागले १० र ११ कात्तिकमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ । बंगालको खाडी र अरब सागरमा विकसित दुई न्यूनचापीय प्रणालीका कारण मंगलबारदेखि शुक्रबारसम्म थप प्रतिकूल मौसम रहन सक्ने चेतावनीसमेत जारी गरिएको छ ।

पर्यटन सिजन चलिरहेको अवस्थामा दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका लागि निस्किरहेको सन्दर्भमा प्राधिकरणले सावधानी अपनाउन आग्रह गरेको छ । यात्रामा निस्कनुअघि अद्यावधिक मौसम पूर्वानुमान हेर्न, लेक लाग्ने समस्या देखिएमा तल्लो भूभागतर्फ फर्कन र एक्लै यात्रा नगर्न सचेतसमेत गराएको छ । 

सुझावित समाचार